ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजार सुधार्न राष्ट्र बैंक लचक

Dec 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । शेयर लगानीकर्ताले अब वित्तीय संस्थाबाट शेयर धितोमा अन्तिम बजार मूल्य वा पछिल्ला १ सय ८० दिनको औसत मूल्यमा जुन कम हुन्छ, त्यसैको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने भएका छन् । यसअघि यस्तो कर्जाको सीमा ५० प्रतिशत तोकिएको थियो । चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिले शेयर धितो कर्जामा कडाइ गरेपछि पूँजीबजार धराशयी भएको भन्दै लगानीकर्ता आन्दोलित भएपछि गठित मुद्रा तथा पूँजीबजार सुधार समितिको सुझाव अनुसार राष्ट्र बैंकले यसको सीमा बढाएको हो । मंगलवार संसद्को अर्थ समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपालले अध्ययन समितिले दिएको सुझाव तत्काल कार्यान्वयन गर्न लागेको जानकारी गराएका थिए । सोहीअनुरूप बुधवार राष्ट्र बैंकले नयाँ व्यवस्थाको परिपत्र गरेको हो । लगानीकर्ताको माग सम्बोधन गर्ने क्रममा राष्ट्र बैंकले शेयरसँग सम्बन्धित विभिन्न सातओटा व्यवस्था परिमार्जन गरेको छ । त्यसअन्तर्गत अब बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्दा बुकक्लोज र मूल्य समायोजन भइसकेका हकप्रद तथा बोनस शेयरलाई पनि गणना गर्न पाउने भएका छन् । यसअघि हकप्रद र बोनस शेयर नेप्सेमा सूचीकरण नभएसम्म गणना गरिँदैनथ्यो । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशतसम्म शेयर कर्जा प्रवाह गर्न सक्ने भएका छन् । यसअघि त्यस्तो कर्जाको सीमा प्राथमिक पूँजीको २५ प्रतिशत मात्र थियो । केन्द्रीय बैंकका अनुसार शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण धितोमा रहेको शेयरको कुल मूल्य सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने छ । यस्तै, बैंकको जोखिम व्यवस्थापन प्रयोजनका लागि शेयर कर्जाको जोखिम भार १ सय ५० प्रतिशतबाट घटाएर सय प्रतिशत बनाएको छ । यसै क्रममा बैंक तथा वित्तीय संस्थाको आधार दर गणनासम्बन्धी कार्यविधि २०६९ मा परिमार्जन भएको छ । अब आधार दर गणना गर्दा कोषको लागतमा निक्षेपको ब्याजदर बाहेक अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत मात्र समेट्नु पर्नेछ । परिपत्र अनुसार वाणिज्य बैंकको औसत ब्याजदर अन्तर २०७५ चैत मसान्तमा ४ दशमलव ७५ र २०७६ असारसम्म ४ दशमलव ५ प्रतिशतमा झारिसक्नु पर्नेछ । विकास बैंक र वित्त कम्पनीको हकमा ब्याजदर अन्तरको अधिकतम सीमा ५ प्रतिशतसम्म हुन सक्नेछ । यसरी ब्याजदर अन्तर घट्दा सर्वसाधारणले लिने ऋणको ब्याज पनि केही कम हुनसक्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैङ्कले वित्तीय संस्थाले राख्न पाउने संस्थागत निक्षेपको अंश ४५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याएको छ । लगानीकर्ताको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले पूँजीबजार सुधारका लागि विभिन्न क्षेत्रमा नयाँ व्यवस्था गरेको हो । लामो समयदेखि लगानीकर्ताले गर्दैआएको बैंकहरूले सहायक कम्पनी खोलेर शेयर ब्रोकरको काम गर्न पाउने मागसमेत सम्बोधन भएको छ । उक्त व्यवस्था अनुसार अब बैंकहरूले ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनी खोलेर ब्रोकर कम्पनीको काम गर्न पाउनेछन् । यसले लगानीकर्ता कारोबार गर्न सहज हुने बताउँछन् ।
कार्यान्वयन फितलो नहोस् छोटेलाल रौनियार, उपाध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम पहिला धेरैले शेयरबजार मौसमी भन्थे । नयाँ व्यवस्थाले यो बाह्रमासे हुने वातावरण बनेको छ । यसले दीर्घकालीन लगानी गर्नेको संख्या बढ्न सक्छ । पहिलोपटक शेयरबजारको विषय नीतिगत तहमा पुग्न सफल भयो । शेयर धितो मार्जिन बढ्नु, जोखिम भार घट्नु र बैंकलाई ब्रोकर लाइसेन्सको बाटो खोल्नुलगायत व्यवस्था स्वागतयोग्य छन् । अब यसको कार्यान्वयन फितलो नहोस् भन्ने हाम्रो माग हो । अन्यथा विगत ३ वर्षदेखिको हाम्रो प्रयासको प्रतिफल लगानीकर्ताले पाउन सक्दैनन् । आंशिक माग मात्र सम्बोधन भयो उत्तम अर्याल, अध्यक्ष, शेयर लगानीकर्ता संघ नेपाल हामीले शेयर धितो कर्जा ८० प्रतिशत पाउनु पर्ने माग राखेका थियौं । तर, ६५ प्रतिशत भयो । यसले हाम्रा माग केही सुनुवाइ भए पनि पूर्ण भएको छैन । यस्तै बैंकको कुल कर्जा प्रवाहको १० प्रतिशत अनिवार्य रूपमा शेयरमा लगानी गर्नुपर्ने हाम्रो माग थियो । तर, प्राथमिक पूँजीको ४० प्रतिशत भनिएको छ । समग्रमा हेर्दा हाम्रो माग आंशिक रूपमा सम्बोधन भएको छ । यद्यपि यो पनि धेरै हदसम्म सकारात्मक हो । कार्यान्वयन हुने अपेक्षामा छौं राधा पोखरेल, अध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता संघ आम लगानीकर्ताका १३ बुँदे साझा माग लिएर हामी अनशन समेत बस्यौं । त्यसमध्ये करीब आधा मात्र राष्ट्र बैंकले सम्बोधन गरेको छ । हुनत समितिको प्रतिवेदनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा मागको सम्बोधन गर्ने उल्लेख गरेको छ । यसै अनुसार बाँकी पनि बिस्तारै सम्बोधन हुने अपेक्षा गरेका छौं । यद्यपि केन्द्रीय बैंकको यो निर्देशन लगानीकर्ताको हितमा छ । यसमा अर्थमन्त्री पनि सकारात्मक देखिएका छन् । सफल कार्यान्वयनको अपेक्षामा छौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)