ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात प्रतिस्थापनका लागि विदेशी लगानी

Dec 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनका लागि सरकारले लगानी खोज्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यसका निम्ति सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी दिए । उनका अनुसार चैत १५ र १६ मा काठमाडौंमा हुने सम्मेलनमा सरकारले त्यस्ता लगानीकर्तालाई प्रमुख प्राथमिकतामा राखेको छ । कृषि व्यवसायीकरण, ऊर्जा, भौतिक पूर्वाधार, औद्योगिक क्षेत्र र सूचना प्रविधिमा विदेशी लगानी भित्र्याउन समेत सरकारले सम्मेलन गर्न लागेको उनले जानकारी दिए । व्यापार घाटाको स्थितिमा सुधार गर्न पनि सरकारले त्यस्ता क्षेत्रमा लगानी आकर्षण गर्न लागिएको हो । डा. खतिवडाका अनुसार लगानीकर्तालाई आकर्षित गर्न सरकारले १२ ओटा ऐन र नियममा सुधार गर्ने काम गरेको र हिउँदे अधिवेशनमा सबै विधेयक संसद्मा पेश हुनेछ । लगानी आकर्षणका लागि लगानी बोर्डलाई शक्तिशाली बनाउने, सार्वजनिक खरीद ऐन, कम्पनी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायत लगानीसँग सम्बन्धित कानूनलाई निजीक्षेत्रसँग बसेर सुधार गर्ने तयारीमा सरकार छ । खतिवडाले भने, ‘श्रम समस्यामा हामीले निकै ठूलो सुधार गरेका छौं, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको छ, लगानीका लागि अनुकूल वातावरण बन्दै गएको जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको हो ।’ अर्थमन्त्रीका अनुसार लगानी सम्मेलनले लगानीकर्तामा देखिएको द्विविधा हटाउने र लगानीका सम्भावनालाई खोतल्नेछ । विश्व बैंकसँग डुइङ बिजनेश रिपोर्ट सुधार गर्ने काम भएको जानकारी दिए । विश्व बैंकले सार्वजनिक गरेको यो वर्षको रिपोर्टमा नेपालको स्थान खस्केको थियो । नेपालले २ वर्ष अगाडि लगानी सम्मेलन गरेको थियो । त्यो बेला १४ खर्ब रुपैयाँको लगानी गर्ने इच्छा लगानीकर्ताले व्यक्त गरेका थिए । त्यसमध्ये २ खर्ब ७५ अर्ब रुपैयाँबराबरको लगानी नेपालमा आउन प्रक्रिया शुरू भएको डा. खतिवडाले जानकारी दिए । उनले भने, ‘हामीले चुनावमा प्रतिबद्धता व्यक्त गरे अनुसारको उपलब्धि प्राप्त गर्न सम्मेलन आवश्यक भएको हो, २ वर्षअघि गरिएको सम्मेलनले लगानीकर्तासँगको सम्बन्ध नवीकरण हुनेछ ।’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलन लगानी आकर्षण गर्न महत्त्वपूर्ण हुने बताए । दुई दिनसम्म हुने सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका बहुपक्षीय दातृ निकाय, नेपाललाई सहयोग गर्दै आएका राष्ट्र र विदेशी लगानीका लागि आउने कम्पनी तथा नेपालका निजीक्षेत्र सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उद्योग सचिव यामकुमारी खतिवडाले पछिल्लो समय उद्योगमैत्री वातावरण सृजना गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै लगानी सम्मेलनबाट ठूलो लगानी भित्रनेमा आफूहरू विश्वस्त रहेको बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)