ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमा क्षेत्रमा भारु प्रतिबन्धको चौतर्फी असर : ‘ठूलो नोट चल्दैन, सयको पेटी लिएर आउने कुरो भएन’

Dec 29, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
पुस १४, विराटनगर । नेपाल सरकारले २ सयदेखि २ हजारसम्मका ठूला भारतीय नोट चलाउन प्रतिबन्ध लगाएसँगै यसको असर बजारमा देखिन थालेको छ । भारतीय नोट प्रतिबन्धका कारण सीमा क्षेत्र विराटनगर हुंदै इलाम, धनकुटाको भेडेटार पुग्ने तथा विराटनगर र धरानसम्म किनमेल गर्न आउने भारतीय पर्यटक घटेका छन् । बजारमा देखिएको असर गत वर्ष भारतीय ग्राहकलाई यतिवेलासम्ममा झण्डै ९० हजारको जाडोयाममा लगाउने कपडा विक्री गरेका विराटनगरका फेन्सी पसल संचालक विनोद गुप्ताले यसपाली २० हजारभन्दा बढीको ब्यापार गर्न सकेनन् । उनले भने, ‘२० हजारपनि दैनिक ज्यालादारीमा काम गर्न नेपाल आएकाहरुले खरीद गरेका हुन् ।’ भारतको जोगवनी फार्बेसगन्जको भन्दा नेपाली बजारमा फरक र नयाँ स्टाइलका कपडा पाइन्छ भनेर भारतीय ग्राहकहरु न्ेपाली बजारमा आउने गरेको उनको भनाई छ । तर, नेपालमा भारुका ठूला नोट नचल्दा ग्राहक आउनै छाडेको गुप्ताले बताए । ‘ठूलो नोट चल्दैन, सयको पेटी लिएर आउने कुरो भएन, कम समयमा एटीएम मेशिन खोज्न र पैसा निकाल्न झन्झट बढी हुने भन्दै भारतीय ग्राहक तर्किन्छन,’ गुप्ताले भने । पर्यटन क्षेत्रमा देखिएको असर सरकारको नोट प्रतिबन्धले पछिल्लो समय यहाँका पर्यटन व्यवसायीहरु पनि तर्सिएका छन् । ठूला नोट नेपालमा चल्न छाडेपछि नेपाल आउने पर्यटक घट्न थालेको उद्योग संगठन मोरङका पर्यटन विभाग प्रमुख भविसकुमार श्रेष्ठले बताए । भारतीय रुपैयाँमा लगाइएको प्रतिबन्धका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर देखिन थालेको छ । ‘तत्काल किन भारतीय नोटमा प्रतिबन्ध लगाइयो त्यो हामीलाई थाहा छैन र हामीले यहाँ आएका पर्यटकलाई बुझाउन पनि सकिरहेका छैनौं,’ उनले भने, ‘हाम्रो क्षेत्र भनेको पहिले सेवा अनि शुल्क लिने क्षेत्र हो । जब बिलिङको समयमा उनीहरुले ठूला नोट दिन्छन, त्यतिबेला यो नोट नेपालमा प्रतिबन्ध छ भन्दा पर्यटक तर्सिन्छन । अनि कहाँ पुग्छ हाम्रो पर्यटन ?’ नोट प्रतिबन्दपछि दर्जनौं पर्यटक विमानस्थलबाट फर्किएर जानुपरेको तथा थप समस्यामा परेको पनि श्रेष्ठले बताए । ‘उताबाट ठूलो नोट लिएर आउँछन, विमानस्थलमा चेकिङका क्रममा प्रहरीले रोकिदिन्छ । यसले पर्यटन क्षेत्रमा निकै ठूलो जोखिम आउने देखिन्छ,’ उनले भने । मुख्य कुरा त भारतीय पर्यटकलाई नोटमाथिको प्रतिबन्धको बारेमा थाहा नै नभएकाले उनीहरुले बोकेर आउने पैसाका कारण समस्यामा परेका छन् । ‘हामीकहाँ धेरै पर्यटक भारतकै आउने भएकाले अहिलेकै अवस्थामा रह्यौं भने २०२० को भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य कठिन हुनेछ,’ श्रेष्ठले भने, ‘हामीले अब यसको बारेमा भारतका मुख्य शहरमा गर्न सूचना बोर्ड राख्न जरुरी भएको छ ।’ ब्यापारमा असर उद्योगी व्यवसायीहरुले पनि ठूला भारतीय नोट माथिको प्रतिबन्धको निर्णयले अर्थतन्त्र र व्यापार व्यवसायमा नकारात्मक असर पर्ने बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले नोट माथिको प्रतिबन्धले दुई देशको व्यापारलाई असर गर्ने बताए । भारतबाट आउने मान्छेले सयको मात्र नोट बोकेर आउँदा समस्या हुन थालेको उनको भनाइ छ । नेपालले पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा भारु नोटमाथिको प्रतिबन्धले नकारात्मक असर गरेको सारडा बताउँछन् । उनले प्रदेश १ मा आउने पर्यटकहरुमध्ये ७५ प्रतिशत भारतीय नै भएको बताए । यस कारण पनि उनीहरुका लागि एक सयको गड्डी बोकेर नेपाल आउनु व्यवहारिक नदेखिएकोउनको भनाई छ । नेपाली उत्पादन खरीद गर्न भारतबाट व्यापारीहरु आउने गरेको बताउँदै सारडाले भने, ‘उताबाट आएका व्यापारीले सयको नोट कतिसम्म बोकेर आउने यो व्यवहारीक हुंदैन । भारत जाने नेपालीहरुका लागि पनि नोटमाथिको प्रतिबन्धले उस्तै समस्या परेको छ । उपचारका लागि हामी दिल्लीसम्म पुग्छौ, अब सयका कति नोट हामीले बोकेर जाने ?’ सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने उनले सुझाव दिएका छन् । सरकारले किन प्रतिबन्धको निर्णय गर्याे हामीलाई थाहा छैन, तर यो खबरबाट भारतीय भने बेखबर छन् । सरकारको यो निर्णयलाई नकरात्मक भन्न नसकिने बताउदै सारडाले भने, ‘हामी स्वागत पनि गर्न सक्दैनौ । खुला सीमाका कारण सीमावर्ती बजारमा आवत–जावत गर्नेहरु र भारतबाट उपचारका लागि बिराटनगर आउनेहरुलाई पनि २ सय, ५ सय र २ हजारका नोटमाथिको प्रतिबन्धले असर गरेको छ ।’ सरकारको निर्णयले दुवै देशको व्यापारलाई असर गर्न थालेको अहिले महशुस हुन थालेको छ । अहिले सुन्तलाको सिजनमा धनकुटा तेह्रथुमसम्म भारतीय ब्यापारीहरु सुन्तला किन्न पुग्ने गर्छन । तर, भारुमाथिको प्रतिबन्धले उनीहरु बारीमा पुगेर रित्तो हात फर्कन थालेका छन् । अदुवा, अलैँचीको खरीद गर्न आउने भारतीय ब्यापारीले सयका कति गड्डी लिएर आउने ? सारडाले प्रश्न गर्दै भने, ‘नोटमाथिको प्रतिबन्धले तनावको वातारण सृजना भएको छ ।’ सबै किसानको बैंकिङ कारोबारमा पहुँच छैन् । ठूला नोटमाथिको प्रतिबन्धले आफूजस्ता सीमावर्ती क्षेत्रको बजार बस्ने व्यापारी प्रभावित भएको बिराटनगरका स्थानीय व्यापारी सन्तोष महर्जनले बताए । खुद्रा सामानकै लागि फार्विसगन्ज तथा कटिहारसम्म पुग्ने गरेका व्यापारीले ठूला नोट नचल्ने थोरै सामानका लागि प्रतितपत्रै खोलेर जाने अवस्था नभएको उनले बताए । नोटमाथिको प्रतिबन्धले झमेला र हैरानी बढेको उनको दुःखेसो छ । प्रतिबन्धले भारतको जोगवनी हुंदै दिल्ली, कलकत्तासम्म जानेहरु पनि समस्यामा परेका छन् । दिल्लीमा छपाई उद्योगको सामान लिन गएका विराटनगरका अविनाश थापाले ठूला नोटमाथिको प्रतिबन्धले आफूहरुलाई समस्या भएको बताए । ‘सयका नोट कतिसम्म साथै लिएर जाने हिड्ने ? व्यवहारिक अवस्था नबुझी भारतीय नोटमाथि लगाएको प्रतिबन्ध मलाई त्यति तथ्यपरक लागेन,’ उनले भने, ‘एउटा सार्वभौम मुलुकका लागि अर्काको देशको मुद्रा चलाउन पाउनु पर्छ भन्नु त गलत नै हो, तर हाम्रो खुल्ला सीमा र ब्यवहारिकताले नोट माथिको प्रतिबन्धका कारण समस्या चाँही देखिएको छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)