काठमाडौं । सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणाली ल्याइने भएको छ । मुद्रा तथा पूँजीबजारको समस्या मूल्यांकन गर्न बनेको सुझाव समितिकोे सुझाव अनुसार यस्तो व्यवस्था ल्याइने भएको हो । समितिले सुझाव प्रतिवेदन सार्वजनिक गर्दै धितोपत्रको थप सार्वजनिक निष्कासन (एफपीओ) लाई अनुमति दिनेसम्बन्धी व्यवस्थामा पुनरवलोकन गर्ने र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुक बिल्डिङ प्रणाली ल्याउन सुझाएको हो ।
बुक बिल्डिङ प्रणाली कार्यान्वयनमा नआउँदासम्म संस्थाहरूले एफपीओ जारी गर्दा नेटवर्थभन्दा बढी नहुनेगरी र प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्दा नेटवर्थको बढीमा २ गुणासम्म मात्र हुने व्यवस्था गर्न समितिले सुझाव दिएको छ । यो व्यवस्था तत्काल लागू गर्न नेपाल धितोपत्र बोर्डलाई सुझाव दिइएको हो ।
हुन त हाल भइरहेको व्यवस्थाअनुसार पनि प्रिमियममा आईपीओ र एफपीओ जारी गर्न पाइन्छ । तर, बुक बिल्डिङ प्रणाली भने हालको प्रणालीभन्दा धेरै फरक हुन्छ ।
हाल आईपीओका लागि प्रिमियम निर्धारण गर्दा पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र अन्तरराष्ट्रिय प्रचलनको आधारमा अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने अलग अलग मूल्यको कुल निकालेर त्यसको औसत मूल्य निकाल्नुपर्छ । यसरी कायम भएको औसत मूल्य र कम्पनीको पछिल्लो लेखा परीक्षण अनुसारको प्रतिशेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ, सोही रकमलाई प्रिमियम मूल्य भनेर कायम गर्नुपर्ने छ ।
त्यसैगरी एफपीओमा पछिल्लो ३ वर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र बोर्डमा निवेदन दिनुभन्दा ७ दिन अघिसम्मको १८० दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने मूल्यसमेत जोडेर त्यसरी आउने कुल मूल्यको औसत मूल्य गणना गर्नुपर्ने छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण अनुसारको प्रतिशेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ, सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने छ ।
आईपीओमा गतवर्षदेखि लागू गरिएको सबै आवेदकलाई १० कित्ता अनिवार्य दिनुपर्ने नीतिको धेरै लगानीकर्ता र विज्ञहरूले आलोचना गरेका छन् । अहिले यही कारण प्राथमिक बजारमा निष्कासित हुने शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिए पनि ठूला लगानीकर्ताको भने आकर्षण कम भएको उनीहरूको बुझाइ छ ।
नयाँ प्रक्रियाको थालनीपछि साना लगानीकर्ताको आगमन भएको र ठूला लगानीकर्ता बाहिरिएको उनीहरूको तर्क छ । बुक बिल्डिङ प्रणाली लागू भएमा त्यो बढी वैज्ञानिक हुने विश्वास लगानीकर्ताको छ ।
के हो बुक बिल्डिङ प्रणाली ?
बुक बिल्डिङ एक किसिमको लीलामी प्रक्रिया हो । यसमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लीलामी गरिन्छ । यस्तो लीलामबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ । यसरी लीलामी गर्दा ‘डच अक्शन’ भनिने प्रणाली अपनाइन्छ । यसमा मूल्य बढाबढ नभएर घटाघटको विधि अपनाइन्छ ।
मानौं, कुनै कम्पनीले ५ लाख कित्ता शेयर आईपीओ जारी गर्न लागेको छ भने त्यसमध्ये उसले १ लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियाअनुसार विक्री गर्न आह्वान गर्न सक्छ । यस्तो संख्या नियमन निकायले तोक्न सक्छ । यसबारे प्रस्ताव बनाएर संस्थागत तथा ठूला केही लगानीकर्तालाई छानेर उनीहरूलाई यसमा बोली लगाउन आह्वान गरिन्छ ।
मानौं, यसमा कुल १ लाख कित्ताका लागि निम्नानुसार आवेदन आयो :
यसरी परेको आवेदनमा कम्पनीले सबैभन्दा पहिले बढी रकम दिने व्यक्तिको आवेदनलाई मुख्य प्राथमिकता दिन्छ । यस उदाहरणमा सबैभन्दा बढी रकम रू. ५०० छ । तर, उसले उच्चतम मूल्य तिर्न चाहे पनि उसले किन्न चाहेको कित्ता भने अफर गरेको १ लाख कित्ताभन्दा कम छ । यसपछिको उच्च मूल्य ‘ख’ को रू. ३०० हो । तर उसले किन्न चाहेको ३५ हजार कित्ता उसलाई बेच्दा पनि अफर भएको सबै विक्री हुँदैन । ‘क’ र ‘ख’ दुवैलाई उनीहरूले चाहे अनुसारको कित्ता दिँदा पनि पूर कित्ता बिक्दैन । त्यसपछिको उच्च मूल्य ‘ख’ले दिन चाहेको रू. २०० छ । यो मूल्यमा भने सबै अफर गरिएको शेयर कित्ता बिक्छ । माथिको उदाहरणमा रू. २०० अन्तिम मूल्य हुन आउँछ । र, यही मूल्यमा सबै तीन जनालाई बाँडेर १ लाख कित्ता शेयर दिइन्छ र सर्वसाधारणलाई पनि उही मूल्यमा सार्वजनिक आह्वान गरिन्छ ।