ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्ण स्वचालित शेयर किनबेच प्रणाली : अनलाइनमा विश्वस्त भएनन् लगानीकर्ता

Jan 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले पूर्वघोषित मिति पुस १७ गते (मंगलवार) देखि अनलाइनबाट घरमै बसेर शेयर किनबेच गर्न मिल्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । तर, बुधवारसम्म अनलाइन कारोबारमार्फत एक जना लगानीकर्ताले पनि शेयर किनबेच गरेका छैनन् । अनलाइन कारोबारका लागि सबै सुविधा उपलब्ध गराउँदासमेत लगानीकर्ताले ब्रोकरमार्फत नै कारोबार गरिरहेको नेप्सेको भनाइ छ । पुस १७ गतेअघि नै ५ सय ५६ जना लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिए पनि त्यसअघिसम्म ९२ जनाले मात्र अनलाइनमार्फत कारोबार गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । पुस १७ पछि एउटै लगानीकर्ता पनि अनलाइन कारोबारमा सहभागी नभएको उनको भनाइ छ । लगानीकर्ता नयन बास्तोलाले भने एक हप्ताअघि नै ब्रोकरसँग अनलाइन कारोबारका लागि आवश्यक प्रक्रिया पूरा गरे पनि अहिलेसम्म युजर नेम र पासवर्ड प्राप्त नभएको गुनासो गरे । ‘ब्रोकरहरू नै अनलाइन कारोबारका विषयमा अन्योलमा रहेको देखिन्छ,’ उनले भने । अर्का लगानीकर्ता दुर्गा तिवारीले अनलाइन कारोबारमा विगतका भन्दा फरक प्रक्रियाले आफूलाई अप्ठ्यारो परेको बताइन् । अनलाइनका लागि ल्याइएका व्यवस्थाहरू प्रभावकारी भए पनि अहिले नै प्रयोग गर्न असहज भएको उनको भनाइ छ । स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले केही लगानीकर्ताहरूले युजर नेम र पासवर्ड लिइसक्दा पनि नयाँ प्रक्रियाले अन्योल परेको हुनसक्ने बताए । ब्रोकर र लगानीकर्ताबीच सम्झौता गरी तालिका पठाएपछि मात्र डिम्याट खाता एकीकरणको काम हुने भएकाले युजर नेम र पासवर्ड दिनमा ढिलाइ भएको उनले स्वीकार गरे । तर, यो मात्र ढिलाइको कारण नभएको उनको तर्क छ । पहिला रकम धितो नराखी कारोबार गर्दै आएका लगानीकर्तालाई अग्रिम रूपमा कारोबार रकमको २५ प्रतिशत रकम वा धितोपत्र राख्नुपर्नेलगायत अन्य नयाँ व्यवस्थाले लगानीकर्ताको आकर्षक कम भएको उनको अनुमान छ । लगानीकर्ताहरूको चर्को मागबीच मङ्सिर २३ गतेदेखि ब्रोकरमार्फत अनलाइन कारोबार शुरू गरेको नेप्सेले पुस १७ गतेदेखि लगानीकर्ता स्वयम्ले कारोबार गर्न सक्नेगरी प्रणाली लागू गरेको बताएको छ । नेप्सेले पहिलेदेखि नै शेयर राफसाफमा सहभागी चार बैंकलाई कारोबार प्रणालीमा एकीकरण गरिसकेको जानकारी पनि दिएको छ । नेप्सेले तोकेअनुसार राफसाफमा सहभागी चार बैंक ग्लोबल आईएमई, प्रभु, सिद्धार्थ र नेपाल इन्भेष्टमेण्ट बैंकमा मात्र खाता खोली कारोबारमा सहभागी हुन सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थालाई पनि राफसाफमा आबद्ध हुन नेप्सेले आग्रह गर्दै आएको छ । कारोबारमा जोखिम व्यवस्थापनका लागि राफसाफमा सहभागी बैंकको खातामात्र मान्य हुने व्यवस्था गरिएको नेप्सेको भनाइ छ । यीबाहेक नेप्सेले अनलाइन कारोबारमा सहभागी हुन आवश्यकताअनुसार रकम जम्मा गरी ब्रोकरबाट कारोबार सीमा लिनुपर्ने, एउटा हितग्राही खातासँग एउटा मात्र एउटा मात्र कारोबार खाता आबद्ध गर्ने लगायतका नयाँ व्यवस्था गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)