अमेरिकी पप गायिका म्याडोना सबैभन्दा बढी आम्दानी गर्ने सेलिब्रिटी बन्न सफल भएकी छन् । अमेरिकी पत्रिका फोब्र्सद्वारा सोमवार सार्वजनिक सूचीअनुसार यो वर्षको जुनसम्मको अवधिमा साढे १२ करोड डलर कमाएर उनी विश्वकै सर्वाधिक आम्दानी गर्ने सेलिब्रिटी बनेकी हुन् । सो अवधिमा उनले नवौं संस्करणको ‘एमडीएनए कन्सर्ट टूर’, कपडा, फरफ्युमको विक्री तथा विभिन्न लगानीमार्फत उक्त आम्दानी गरेको बताइएको छ ।
म्याडोनाले गतवर्ष उक्त टूरबाट मात्र साढे ३० करोड डलर कमाएकी थिइन् । ‘५५ वर्षको उमेरमा समेत उत्तिकै सफल हुनुले म्याडोनाको एक सफल सङ्गीत करियरलाई उजागर गरेको छ,’ फोर्ब्सकि संवाददाता डोरोथी पोमर्यान्जले भनिन् । गतवर्ष ५औं स्थानमा रहेकी म्याडोना सर्वाधिक कमाउने सेलिब्रिटी ओपरा विन्फ्रीलाई पछाडि पार्दै उक्त स्थानमा पुगेकी हुन् । उनको आम्दानी सन् २००९ को ११ करोड डलरको कीर्तिमानी उचाइभन्दा बढी भए पनि गतवर्षको सोही अवधिमा विन्फ्रीले कमाएको साढे १६ करोड डलरभन्दा निकै कम हो ।
यसैबीच, गतवर्षको सर्वोत्कृष्ट चलचित्र ‘लिङ्कन’का निर्देशक स्टेभेन स्पीलबर्ग १० करोड डलरका साथ सबैभन्दा बढी कमाउने सेलिब्रिटीको दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी, कुल साढे ९ करोड आम्दानीका साथ बेलायती लेखक ई एल जेम्स, रेडियो जकी होवार्ड स्टर्न र टेलिभिजन कार्यक्रम निर्माता सिमन कोवेल तेस्रो स्थानमा रहेका छन् । धेरै कमाउने सेलिब्रिटीको शीर्ष १० स्थानमा टेलिभिजन कार्यक्रम प्रस्तोता ग्लेन बेक, निर्देशक माइकल बे, थ्रिलर उपन्यासकार जेम्स प्याटर्सन छन् । स्पीलबर्ग र बे गतवर्ष पनि उत्कृष्ट १० को सूचीमा रहन सफल भएका थिए ।
उता, गतवर्षको सूचीमा दोस्रो स्थानमा रहेकी ‘बर्न दिश वे’ गायिका लेडी गागा भने १०औं स्थान र पहिलो स्थानकी ओपरा विन्फ्रे १३औं स्थानमा झरेकी छिन् । उनीहरूले सो अवधिमा क्रमशः ८ करोड र ७ करोड ७० लाख डलर कमाएका छन् । फोर्ब्सले सेलिब्रिटीको आम्दानीको यो सूची तयार गर्ने क्रममा सेलिब्रिटीका एजेण्ट, व्यवस्थापक, निर्माता र अन्य सम्बन्धित व्यक्तिबाट जानकारी हासिल गर्ने गर्दछ । आम्दानीको यस तथ्याङ्कमा कर कटौती, एजेण्टको फीलगायतका अन्य खर्चलाई समावेश नगर्ने बताइएको छ ।