एउटा कुशल उद्यमी हुन व्यवसाय सञ्चालन, मार्केटिङ रणनीतिलगायतका व्यापारिक कौशलको ज्ञान हुनुपर्ने हामी सबैलाई थाहै छ । तर, अष्ट्रेलियाका अनुसन्धानकर्ताले भने सफल उद्यमीको चरित्र मनोरोगी (साइकोपाथ)को जस्तै हुने नयाँ तथ्य फेला पारेका छन् । अष्ट्रेलियाको युनिभर्सिटी अफ साउथ वेल्सको अष्ट्रेलियन स्कूल अफ बिजनेशका अनुसन्धानकर्ता बेन्जामिन वाकरले गरेको अध्ययनमा सफल उद्यमीहरु मनोरोगी प्रवृत्तिको हुने गरेको पाइएको छ । ‘मनोरोगीहरु अपराध गरेर जेल जान्छन् र जेलबाट निस्किएपछि पुनः अपराधको दुनियाँमा फर्किन्छन्, उनीहरु आप्mनो जेलको अनुभवबाट पाठ सिक्न सक्दैनन्,’ वाकरले भने । पछिल्लो अध्ययनमा सहभागी भएका सफल उद्यमीहरुको चरित्र पनि करीब करीब मनोरोगीको जस्तै पाइएको वाकरले बताएका छन् ।
६ सय सहभागीको चारित्रिक मूल्याङ्कन गरेपछि वाकर र बिजनेश साइकोलोजीका प्राध्यापक क्रिस ज्याक्सनले मनोरोगी र उद्यमी दुवैमा जोखीमयुक्त कार्य गर्न मन पराउने तथ्य फेला पारेका हुन् । पुरस्कारको सट्टा सजाय दिँदासमेत मनोरोगी प्रवृत्ति होस् वा उद्यमीहरुको अभिप्रायमा कुनै परिवर्तन नभेटिएको उनीहरुको भनाइ छ । साइकोपाथहरु जन्मदेखि नै मनलाग्दी व्यवहार गर्ने खालका हुने र यस्तो प्रवृत्तिले उनीहरुलाई जोखीम बहन गर्ने, स्वच्छन्दवादी र निडर बन्न उक्साउने बताइएको छ । यस्ता प्रवृत्तिहरु सफल उद्यमीहरुमा समेत हुने वाकर र ज्याक्सनको भनाइ छ । उद्यमीहरु जोखीमयुक्त कार्य गर्न उत्साहित हुने र त्यस्तो व्यवहारले व्यवसायमा सफलता हासिल गर्न सहयोग पुग्ने वाकर बताउँछन् । उद्यमीमा पाइने निडर र असंवेदनशील व्यवहारका कारण उनीहरुले एकैसाथ एकभन्दा बढी व्यवसायमा हात हाल्ने भए पनि कहिलेकाहीं यस्तै व्यवहारले उनीहरु टाट पल्टिने गरेको र यसले बढी जोखीम मोल्नेले फाइदामात्र नभएर नोक्सानी पनि बेहोर्ने स्पष्ट पारेको छ ।