ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एप्समा लोकेशन ट्र्याक कसरी रोक्ने ?

Jan 7, 2019  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । स्मार्टफोनमा हामी दिनहुँ दर्जनौं एप चलाउँछौं । तर यीमध्ये कतिपयले प्रयोगकर्ताका हरेक गतिविधिलाई पछ्याएर उनीहरूको निजी विवरण अन्य कम्पनीलाई बेच्ने गरेको खुलासा भएको छ । यसबारे अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले केही समयअघि समाचार नै छापेको थियो । उक्त समाचार अनुसार मौसमको जानकारी, यात्रा, शपिङ अफर जस्ता सेवा लिनकै लागि लोकेशन ट्र्याक गर्ने अनुमति पाएका एपले अघिल्लो रात वा दिन उक्त प्रयोगकर्ता कहाँ थिए, कुन स्थानमा कति समय बिताए जस्ता निजी जानकारी स्टोर गरेर राख्ने गरेका छन् । अनि यी सूचना आफ्नो निजी प्रयोजनका लागि मात्रै प्रयोग नगरेर विज्ञापनदाता, खुद्रा विक्रेता र हेज फण्ड लगायत कयौं कम्पनीलाई बेच्ने पनि गरेका छन् । लोकेशन डाटा कम्पनीहरूले फोनको लोकेशन ट्र्याक गरिरहेका छन् कि छैनन् भन्ने थाहा पाउन कठिन छ । तर उनीहरूको नीतिगत भाषा यति सघन, नबुझिने र भ्रामक हुन्छ कि ‘बजार विश्लेषण’ वा ‘व्यावसायिक प्रयोजन’का लागि भन्ने उल्लेख गरे पनि कस्तो खालको विश्लेषण वा प्रयोजन हो भन्नेबारे चाहिँ नीतिमा खुलाइएको हुँदैन । यस्ता गतिविधिमा संलग्न एपहरूको ठ्याक्कै सूची पाइन्न । तर मोबाइलको सेटिङमा केही परिवर्तन गरेर दैनिक गतिविधि ट्र्याकिङलाई धेरै हदसम्म रोक्न सकिन्छ । सबैभन्दा पहिला फोनमा भएका कुन कुन एपलाई लोकेशन सम्बन्धी जानकारी लिने अनुमति दिइएको छ भनेर हेर्नु पर्दछ । आईफोनमा जस्तो एन्ड्रोइड फोनमा एप प्रयोग गरिरहेकै बेला एपको पहुँचमा रोक लगाउन मिल्दैन । एन्ड्रोइड फोनमा प्रयोगकर्ताको लोकेशन ट्र्याक गर्ने अनुमति पाएका हरेक एपले प्रयोगकर्ताले एप प्रयोग नगर्दा पनि लोकेशन सम्बन्धी जानकारी पाइरहेका हुन्छ । नयाँ संस्करणको एन्ड्रोइडमा भने गूगलले यस्ता तथ्यांक संकलन सीमित बनाएर १ घण्टामा केही समय कायम गरेको छ । लोकेशन सेवाहरूलाई एकमुष्टमा ‘डिजेबल’ गर्न माथि लोकेशन सेटिङमा बताइएको जस्तै गरेर ‘यूज लोकेशन’ भन्ने विकल्पलाई नै बन्द गर्नुपर्छ । तर यसो गर्दा गूगलको नक्सामा आफू कहाँ छु भन्ने लगायत निश्चित सेवा प्रयोग गर्नबाट वञ्चित भइन्छ । लोकेशन सेवा कहिले प्रयोग गर्ने, कहिले नगर्ने हो भने पनि ‘क्विक सेटिङ’ बनाउन सकिन्छ । यी एपहरूले लिएका लोकेशन डाटा मेट्न सकिन्छ ? प्रयोगकर्ताको डाटा सुरक्षासम्बन्धी नियमनको अभाव छ । यसबारे कम्पनीहरू पनि त्यति धेरै पारदर्शी छैनन्, जसले गर्दा यसरी संकलन भएका तथ्यांकहरूमा पहुँच पाउन र मेट्न अति नै गाह्रो छ । कम्पनीहरूले पनि लोकेशन सम्बन्धी तथ्यांक व्यक्तिको नाम वा फोन नम्बरसँग जोडेर जम्मा गरेर राख्दैनन् । बरु छुट्टै आईडी नम्बर दिएर राख्छन् । त्यसैले पनि आफ्ना निजी विवरण यही नै हो भनेर चिनेर मेट्न झनै गाह्रो छ । आईओएस फोनमा लोकेशन ट्र्याक रोक्ने तरीका

१. केही एपको आन्तरिक सेटिङमै प्रयोगकर्ताको लेकेशन सम्बन्धी तथ्यांक विज्ञापन र अन्य उद्देश्यका लागि प्रयोग नहोस् भन्ने उल्लेख गर्न मिल्छ । तर एपको सेटिङमा यो उल्लेख गर्न ठाउँ छैन भने फोनको मुख्य प्राइभेसी मेनुबाट पनि यसलाई रोक्न सकिन्छ । २. सबैभन्दा पहिला फोनको सेटिङमा जानुहोस् र चित्रमा देखाए झैं नीलो आइकनभित्र सेतो हात अर्थात् प्राइभेसी मेनुमा क्लिक गर्नुहोस् । ३. (चित्रमा देखाएको जस्तै नीलो आइकनभित्र सानो तीर भएको लोकेशन सर्भिसेजमा क्लिक गर्नुहोस्) ४. त्यसपछि तपाईं लोकेशन सेटिङ सहित एपहरूको सूची देख्नु हुनेछ । आफूले सेटिङ परिवर्तन गर्न चाहेको एपमा क्लिक गरेर ट्र्याकिङ रोक्न ‘नेभर’ अप्शन छान्न सकिन्छ । ‘एप प्रयोग गर्दा मात्रै’ भन्ने विकल्पमा क्लिक गरियो भने चाँहि एप प्रयोग भइरहेको बेलाको मात्रै लेकेशन ट्र्याक हुन्छ । ‘सधैं’ भन्ने विकल्प रोजियो भने चाहिँ एप प्रयोग नहुँदाको लोकेशन सम्बन्धी जानकारी पनि एपले पाउँछ । फोनको प्राइभेसी सेटिङमा लोकेशन सम्बन्धी जानकारीको प्रयोग कसरी हुन्छ भन्नेबारे हरेक एपले संक्षिप्त रूपमा बताएका हुन्छन् । तर त्यहाँ जस्तो खालको भाषाको प्रयोग गरिए पनि तथ्यांक अरूलाई दिइन्न वा बेचिँदैन भनेर ढुक्क हुनु भने हुँदैन । त्यसैले लोकेशन ट्र्याकिङलाई पूर्णरूपमा असक्षम बनाउने हो भने ‘लेकेशन सर्भिसेज’ भन्ने विकल्प नै बन्द (अफ) गर्नुपर्दछ । लोकेशन ट्र्याकिङ रोक्ने आर्को उपाय प्रयोगमा नआएको एप फोनबाटै हटाउनु हो । एन्ड्रोइड फोनमा लोकेशन ट्याकिङ रोक्ने तरीका

१. सबैभन्दा पहिला फोनको सेटिङमा जानुहोस् । मुख्य सेटिङ पेजको ‘सेक्युरिटी एण्ड लोकेशन’ विकल्पमा क्लिक गर्नुहोस् । २. त्यसपछि प्राइभेसी अप्शनमा लोकेशन भन्ने विकल्पमा जानुहोस् ३. त्यसपछि ‘एप–लेभल पर्मिशन्स’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् । ४. त्यसपछि स्क्रिनमा एपको सूची आउनेछ । हरेक एपमा क्लिक गर्दै लोकेशन अफ गर्न सकिन्छ । यहाँ बताइएका निर्देशन भर्खरै सार्वजनिक भएका एन्ड्रोइड फोनका लागि विशेष काम लाग्छ । तर यी जानकारी पुराना फोनका लागि पनि उपयोगी छन् । यसबारे गूगलले https://support.google.com/android/answer/6179507  विस्तृतमा बताएको छ । (एजेन्सीको सहयोगमा)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)