ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अमिताको नाममा घरजग्गा र गाडी (अकुत सम्पत्तिको फेहरिस्त)

Jan 7, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

पुस २३, काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदको दुरुपयोग गरी १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले दिएको जानकारी अनुसार आरोपपत्रको साथमा खड्काले अवैध रुपमा कमाएको भनिएको ८९ लाख ८९ हजार रुपैयाँ नगदै अदालतमा पेश गरिएको छ । सो रकम विभिन्न ठाउँबाट बरामद गरिएको हो । खड्काले नाता नपर्ने अन्य व्यक्तिको नाममा समेत अवैध रुपमा कमाएको भनिएको सम्पत्ति लुकाएर राखेको अख्तियारले उल्लेख गरेको छ ।

खड्काले काठमाडौंस्थित बुढानीलकण्ठ नगरपालिका बस्ने दीपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बाको नाममा जग्गा तथा गाडी खरीद गरिदिएको बताइएको छ । अमिताको नाममा हात्तीगौडामा ३ करोड २५ लाख रुपैयाँ मूल्यमा घर खरीद गरिएको देखिएको छ । बूढानीलकण्ठमा ४० लाख ११ हजार ८७५ रुपैयाँमा ८ आना जग्गा अमिताकै नाममा खड्काले खरीद गरिदिएको देखिएको आरोपपत्रमा उल्लेख गरिएको छ । ८४ लाख ४९ हजार रुपैयाँमा खड्काले टक्सन गाडी पनि अमिताकै नाममा खरीद गरिएको अदालतलाई अख्तियारले बताएको छ ।

अमिताकै नाममा अड्काले ३ करोड ५० लाख रुपैयाँ खर्च गरी तत्कालीन महाङ्काल गाविसमा अर्को घर खरीद गरेको, एनएमबी र सिटिजन बैङ्कमा गोपाल खड्काले अमितालाई खाता खोलिदिएको पनि अख्तियारले उल्लेख गरेको छ । अमिताको नाममा ती खाताहरु भएपनि त्यसमा खड्काले नै कारोबार गर्ने गरेको पाइएको छ । अमिताको नाममा घर खरीद गर्दा गुड फर पेमेन्टको चेक प्रयोग गरिएको प्रमाण भेटिएको बताइएको छ ।

खड्काले पुख्र्यौली घरबाहेक अन्य तीन ओटा घर खरीद गरेको, २ ओटा घर खरीद गर्नको लागि आंशिक रुपमा भुक्तानी दिएको आरोपपत्रमा उल्लेख छ । अवैध रुपमा कमाएको सम्पत्तिबाट काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको ११ ठाउँमा जग्गा खरीद गरेको देखिएको अख्तियारले जानकारी दिएको छ । घर जग्गा खरीदको लागि खड्काले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ पैसा खर्च गरेको पाइएको छ ।

विभिन्न कम्पनीको शेयर खरीद गर्न खड्काले १ करोड ६ लाख ४० हजार रुपैयाँ खर्च गरेको अख्तियारले उल्लेख गरेको छ । उनले विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार रुपैयाँ चन्दा दिएको पनि देखिएको छ । उनले छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६ सय ९५ रुपैयाँ खर्च गरेको अनुसन्धानबाट देखिएको छ । उनले विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुमा २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा मौज्दात गरेको अख्तियारले भेट्टाएको छ ।

खड्काले वैध तथा अवैध रुपमा गरेको आम्दानी २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ ६४ पैसा रहेको छ । उनको वैध आम्दानी भने ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ ५३ पैसा रहेको छ । कुल आम्दानीबाट वैध आम्दानी घटाउँदा बाँकी रहेको १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा अवैध रुपमा खड्काले कमाएको उल्लेख गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । खड्का हाल फरार भएकाले अदालतमा उपस्थित गराउन नसकिएको आरोपपत्रमा अख्तियारले उल्लेख गरेको छ ।

खड्का लामो समय आयल निगमको कार्यकारी निर्देशक भई कार्य गरेका व्यक्ति हुन् । उनी त्यहाँ बस्दा विवादित भएका कारण उनलाई सरकारले सम्बन्धित मन्त्रालयमा लगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)