ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घट्यो वैदेशिक रोजगार जानेको संख्या

Jan 9, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
  • त्रुटि नसच्याए अझै घट्छ : व्यवसायी
  • मन्त्रीसँग छलफल गरी उचित निर्णय हुन्छ : श्रम समिति
काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्यामा निकै कमी आएको छ । सरकारले लिएका कतिपय गलत नीतिका कारण विदेशिने नेपालीको संख्यामा कमी आएको हो । वैदेशिक रोजगार व्यवसायी संस्थाका अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा इजाजत प्राप्त म्यानपावर कम्पनीबाट वार्षिक ५ लाख १२ हजार कामदार वैदेशिक रोजगारमा गएका थिए । तर, आव २०७४/७५ मा त्यस्तो संख्या घटेर ३ लाख २३ हजारमा सीमित भएको छ । २०७२ जेठ ६ गते तत्कालीन मन्त्री टेकबहादुर गुरुङ ‘फ्री भिसा फ्री टिकट’को नीति लिएपछि वैदेशिक रोजगारमा नेपाली कामदार पठाउन व्यवसायीलाई सकस परेको संघका अध्यक्ष रोहन गुरुङले बताए । संसद्को श्रम समितिको बैठकमा उनले भने, ‘सरकारले लिएको ‘फ्री भिसा फ्री नीति’ कारण म्यानपावर कम्पनीहरू धराशयी हुने स्थिति आएको छ । कामदार पठाउने अवस्था नै छैन ।’ सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न नसक्दा कामदार लिने विदेशी कम्पनी पनि नेपाली कामदार लैजान अनिच्छुक देखिएको व्यवसायीको भनाइ छ । सरकारले वैदेशिक रोजगारको क्षेत्रमा सही नीति नलिँदा चालू आवमा समेत वैदेशिक रोजगारमा जाने कामदारको संख्या घट्दो क्रममा रहेको संघका पूर्वअध्यक्ष हंसराज बाग्ले बताउँछन् । उनका अनुसार सरकारले सम्बद्ध पक्षहरूसँग छलफल नै नगरी वैदेशिक रोजगारको क्षेत्रमा एकपछि अर्को निर्णय गर्दा थप समस्या निम्तने गरेको छ । अर्का व्यवसायी किरणकिशोर घिमिरेका अनुसार हाल म्यानपावर कम्पनीको धरौटी बढाउने विषयमा सरकारले अन्य सम्बद्ध पक्ष र व्यवसायीसँग एकपटक पनि छलफल गरेको छैन । सरोकारवाला पक्षसँग छलफलै नगरी ल्याउन लागिएको उक्त नीति अव्यावहारिक रहेको उनले बताए । २०७५ जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेशियाको रोजगार बन्द गरेपछि हालसम्म त्यहाँ कामदार जान पाएका छैनन् । मासिक ८ देखि १० हजार कामदार मलेशियामा जाने गरे पनि उक्त नीतिका कारण ७ महीनादेखि नेपाली कामदार त्यहाँ जान नपाएको वैदेशिक रोजागर व्यवसायी संघको भनाइ छ । यसबाट ६० हजारको रोजगारी गुमेको छ । सरकारले मलेशियासँग श्रम सम्झौता गरे पनि हालसम्म कामदार पठाउन खुला गरेको छैन । समितिको मंगलवारको बैठकमा सांसद भीमसेनदास प्रधान, प्रकाश रसाइली लगायतले निजीक्षेत्रसँग छलफल गरेर मात्रै सरकारले वैदेशिक रोजगारको क्षेत्रमा नीतिगत निर्णय लिनुपर्ने बताए । ‘वैदेशिक रोजगारमा हुने ठगीलाई रोक्न धरौटी बढाएर मात्रै हुँदैन, सही संयन्त्रको विकास पनि गर्नुपर्छ,’ उनीहरूले भने । यसैबीच, श्रमसमितिले पछिल्लो समय वैदेशिक रोजगारमा देखिएको समस्याका बारेमा श्रममन्त्री गोकर्ण विष्टसँग छलफल गर्ने निर्णय गरेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए । उनका अनुसार सरकारसँगको छलफलपछि समितिले उचित निर्णय लिनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)