ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोजगारीको नयाँ क्षेत्र : उद्यम विकास सहजकर्ता

Jan 10, 2019  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । नेपालमा रोजगारीको अवसर कम भएको भन्दै दिनहुँ हजारौं युवा विदेशिन्छन् । तर स्वदेशमै सम्भावना खोज्ने हो भने अवसर नभएका होइनन् । पछिल्लो समय शीप तथा प्राविधिक शिक्षा लिएका युवा यहीँ रोजगार हुन थालेका छन् । शीप विकास तालीम लिएर स्थानीय स्तरमै उद्यम गर्नेहरू पनि बढेका छन् । युवा पलायन रोक्न नेपाल सरकारले समेत शीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

रोजगार बजारमा पछिल्लो समय उद्यम विकास सहजकर्ताको सम्भावना बढ्दै गएको छ । यो विषय पढेकाहरूले व्यवसाय गर्न चाहनेलाई उपयुक्त मार्गनिर्देश गर्छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)बाट मान्यता प्राप्त यो कोर्स एसएलसी (अहिलेको एसईसी) उत्तीर्ण विद्यार्थीले पढ्न सक्छन् । यसमा रोजगारका आधारभूत सिद्धान्त, साामाजिक परिचालनका लागि उद्यमशीलता विकास, उद्यम विकास तालीम, प्राविधिक शीप विकास तालीम, लघुवित्तमा पहँुच, उपयुक्त प्रविधिको छनोट, वस्तुको बजारीकरण लगायत विषयमा तालीम तथा शिक्षा प्रदान गरिन्छ ।

उद्यम विकास सहजकर्ता पढेका विद्यार्थीको अहिले सरकारी तथा गैरसरकारी संघसंस्थामा माग बढ्न थालेको छ । विभिन्न तालीम प्रदायक संस्थाले यस्तो जनशक्तिको खोजी गर्न थालेका छन् । सीटीईभीटीले यो विषयमा तह २ र ३ को शीप परीक्षण गर्दै आएको ।

नेपाल सरकारको उद्योग मन्त्रालयद्वारा सञ्चालित गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्न उद्यम विकास सहजकर्ता जनशक्ति आवश्यक पर्छ । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनमा आधारिक रोजगारी सृजना गरी बेरोजगारी घटाउन उद्योग मन्त्रालय र यूएनडीपीको सहयोगमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमीले उद्यम विकास सहजकर्ताको पाठ्यक्रम तयार पारेको हो ।

नेपालको गरीबी न्यूनीकरणका लागि प्रभावकारी भएकाले सरकारले २०६६ सालदेखि यो कार्यक्रम शुरू गरेको हो । यो विषय अध्ययन गरेपछि उद्योग मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालयका साथै विभिन्न सरकारी तथा गैर सरकारी संस्थामा रोजगारी पाउन सजिलो हुन्छ । साथै स्वरोजगार उद्यमी बन्ने सकिने भएकाले यसको अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

उद्यम विकास सहजकर्ता उद्यम तथा व्यवसायको क्षेत्रका लागि आवश्यक जनशक्ति मानिन्छ । देशमा व्याप्त गरीबी तथा बेरोजगारी समस्या समाधानका लागि समेत यस्ता जनशक्तिको महŒवपूर्ण भूमिका हुने गर्छ । उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरीब तथा पिछडिएका वर्गलाई परामर्श, ज्ञान, शीप प्रदान गरी उद्यम व्यवसायमा प्रोत्साहित गर्न यस्ता जनशक्ति सक्षम हुन्छन् । साथै उत्पादनको बजारीकरण, उपयुक्त प्रविधिको प्रयोग र संस्थागत विकासमा समेत तिनले सहयोग गर्छन् ।

स्थानीय स्रोतसाधनको उपयोगबाटै रोजगारी सृजना हुँदा बरोजगारी समस्या कम हुन्छ । स्थानीय कच्चापदार्थको प्रयोगबाट आयआर्जन बढाउन सके सम्बन्धित क्षेत्रका बासिन्दाको जीवनस्तर उकासिन्छ । यस कार्यमा समेत उद्यम विकास सहजकर्ताले विशेष भूमिका निर्वाह गर्न सक्छन् ।

उद्यम विकास सहजकर्ता उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर, कञ्चनजंघा पोलिटेक्निकल इन्स्टिच्युट भैरहवा, मित्र उद्यमशीलता विकास केन्द्र धनगढी, मध्य नेपाल प्राविधिक शिक्षालय सुर्खेतका साथै देशका विभिन्न शिक्षालयमा अध्ययन सकिन्छ । सीटीईभीटीले चितवनमा छात्रवृत्तिमा तीनवर्षे प्रमाणपत्र तह अध्ययन गराउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)