ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकादेशका प्रधानमन्त्री

Jan 11, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
एकादेशका प्रधानमन्त्री एकपटक स्वर्ग पुगेछन् । जिउँदै छँदा स्वर्ग कस्तो रहेछ भनेर हेर्न मन लागेर स्वर्गको ढोका ढक्ढक्याएछन् । निकै बेरपछि बल्ल पालेले ढोका खोलेछ र सोधेछ– तिमी को हौ र यहाँ किन आयौ ? एकादेशका प्रमले भनेछन्– मैले देशमा धेरै राम्रो काम गरिरहेकाले भोलि पर्सि यतै आउन पाउँछु होला । आउनुअघि ठाम हेरेर जाम भनेर आको । यो सुनेर स्वर्गको पालेले भनेछ– तिमी कहाँबाट आएका हौ ? प्रमले भनेछन्– म त पृथ्वीबाट आएको हुँ ।
त्यसपछि स्वर्गको पालेले भनेछ– यसो गर मनुवा, तिमी मलाई तिमीले मानव हितका लागि, तिमीले शासन गरेका जनताका लागि गरेका एकदमै राम्रा १० ओटा कामको विवरण बताऊ, ताकि तिमीलाई स्वर्गको द्वारभित्र पस्ने अनुमतिका लागि म चित्रगुप्तलाई सिफारिश गर्न सकूँ ।
पालेले सोधेछ– ब्रह्माण्डमा अनन्त ग्रहहरू छन्, अनि तिमी कुन चैं पृथ्वीबाट आएका हौ ? प्रमले भनेछन्– म त्यै पृथ्वीबाट आएको हुँ, जहाँ अहिले ट्रम्प, सी चिन फिङ र मोदी जस्ता शासकहरूले उनीहरूका देश सम्हालिरहेका छन् र विश्व नै हाँकिरहेका छन् । ‘तिमी चाहिँ कुन देश हाँकिरहेका छौ त ?’ पालेले सोधेछ । प्रमले भनेछन्– म पृथ्वीकै एक अग्लो ढिस्को भएको देश हाँकिरहेको छु । पालेले भनेछ– यहाँबाट तिम्रो पृथ्वी नै यति सानो थोप्लो मात्र देखिन्छ कि, दुरबिन लगाएर हेर्दा पनि तिमीले भनेको पृथ्वीको अग्लो ठाउँ देखिँदैन । यहाँबाट त सबै समान देखिन्छन् । प्रमले फेरि भनेछन्– म त्यो देशबाट आएको हुँ, जहाँ ठूला ठूला ऋषिमुनिले जप, तप र ध्यान गर्थे । यस्तो देश, जुन पृथ्वीभरिमै स्वर्गजस्तो भूमि हो । त्यहाँ हिमाल छन् । पहाड छन् । हजारौं नदीनाला छन् । अनि विश्वभरिमै राम्रो हावापानी, वातावरण, खनिज, जडीबुटी आदिले भरिएको छ त्यो ठाउँ । त्यसपछि स्वर्गको पालेले भनेछ– यसो गर मनुवा, तिमी मलाई तिमीले मानव हितका लागि, तिमीले शासन गरेका जनताका लागि गरेका एकदमै राम्रा १० ओटा कामको विवरण बताऊ, ताकि तिमीलाई स्वर्गको द्वारभित्र पस्ने अनुमतिका लागि म चित्रगुप्तलाई सिफारिश गर्न सकूँ । प्रम एक छिन वाल्ल परेछन् । आफूले जनताका लागि गरेका राम्रा काम सम्झन खोजेछन् । तर नसकेपछि अक्क न बक्क भएछन् । दुई–चार कुराहरू, जस्तै– रेल, पानीजहाज, ग्यास आदि भनौं कि जस्तो पनि लागेछ । तर सोचेछन्– एक त पाँचओटा पनि भन्न मिल्ने काम गरेको छैन । फेरि ती पनि राजनीतिमा जनतालाई भुल्याउन, प्रतिपक्षलाई छक्याउन पो भनिएका थिए । तर स्वर्गमा त वास्तविक हिसाब–किताब हुन्छ होला । अदालत, पत्रकार, जनतालाई गफ दिएजस्तो त स्वर्गमा पक्कै चल्दैन । के भन्ने, के नभन्ने भएछन् । घण्टौं बितेछ । स्वर्गको पालेलाई पनि दिक्क लागेछ र ढोका भित्रबाट ड्याम्म लगाइदिएछ । प्रम हताश र निराश भएर त्यहाँबाट फर्किएछन् । स्वर्गको ढोका बन्द हुँदा ठूलो आवाज आएछ । यता प्रमको निद्रा खुलेछ । उनले बल्ल थाहा पाएछन् कि आफू त सपनामा पो रहेछु भनेर । दिउँसो बोल्ने कार्यक्रम थियो उनको । प्रम उठेर त्यतै लागेछन् । संसदमा उनले जोडदार भाषण गरे । भाषणमा उनले बोलेका धेरै कुरा सत्य तथ्य भन्दा धेरै नै फरक थिए । किनकि उनी ब्यूँझै देखिए पनि उनको सपना पूरै टुटिसकेको थिएन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)