ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकको निर्देशन प्रभाव : घट्यो कल निक्षेप

Jan 13, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कल निक्षेप १ महीनामै ७ दशमलव ९७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले कात्तिकको तुलनामा मङ्सिरमा त्यस्तो कमी देखाएको हो । कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूमा कुल रू. ३ खर्ब ७७ अर्ब ९६ करोड कल निक्षेप रहेकोमा मङ्सिर मसान्तसम्ममा घटेर रू. ३ खर्ब ४७ अर्ब ८३ करोडमा सीमित हुन पुगेको थियो ।

बचतकर्ताले माग गरेको समय वा अल्प सूचनामा फिर्ता लिन सकिने निक्षेपलाई कल डिपोजिट (निक्षेप) भनिन्छ । नेपाल राष्ट्र बैंकले यस्तो निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरभन्दा बढी ब्याज प्रदान गर्न नपाइने निर्देशन दिएपछि यस्तो निक्षेप संकलन घटेको देखिन्छ । साथै पछिल्लो अवधिमा कर्जा पूँजी निक्षेपको अनुपात (सीसीडी रेसियो) मा चाप पर्नुका साथै कल निक्षेपको ब्याजदर बचतको ब्याजदरसँग आबद्ध गर्नु परेको कारणबाट कल निक्षेप संकलनमा प्रभाव परेको हुन सक्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव श्रेष्ठको भनाइ छ ।

तर, यसबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले अक्षयकोष वा ५ वर्षभन्दा बढी भुक्तानी अवधि भएको मुद्दती निक्षेपमा संस्था र ग्राहकबीचको आपसी सहमतिको आधारमा ब्याजदर कायम गर्न सकिने व्यवस्था भने कायमै छ । साथै, बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा १ प्रतिशत बिन्दुसम्म ब्याजदर थपघट गरी निक्षेप संकलन गर्न सक्नेछन् । तर, यसरी प्रकाशित गरिएको ब्याजदर ३ महीनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था छ । ब्याजदरको सीमाले गर्दा कल निक्षेप संकलनमा कमी आएको देखिन्छ ।

यसबाहेक साधारण बचतमा समेत ग्राहकको आकर्षण घटेको छ । गत कात्तिक र मङ्सिरको १ महीनाको अन्तरमा नै साधारण बचत निक्षेप संकलन १ दशमलव ३ प्रतिशतले घटेको छ । आव २०७५÷७६ को कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूमा साधारण बचत रू. ९ खर्ब ८५ अर्ब ९२ करोड संकलन भएकोमा मङ्सिर मसान्तसम्ममा घटेर रू. ९ खर्ब ७३ अर्ब १३ करोड भएको थियो ।

यसैगरी एकै महीनामा चल्ती निक्षेपमा १६ दशमलव ११ प्रतिशतले र मुद्दती निक्षेपमा ५ दशमलव शून्य ८ प्रतिशतले बढेको तथ्यांक देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार मङ्सिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप रू. ३० खर्ब १२ अर्ब ६६ करोड संकलन भएको छ । यो कात्तिक महीनाको तुलनामा २ दशमलव शून्य ४ प्रतिशतले बढी हो । कात्तिकमा कुल निक्षेप रू. २९ खर्ब ५२ अर्ब ५२ करोड संकलन भएको थियो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढीभन्दा बढी निक्षेप संकलन गरेर कर्जा लगानीको वातावरण बनाउन जोड दिँदै आएको छ । बैंकहरूमा निक्षेपको तुलनामा कर्जा प्रवाहमा चाप परेपछि राष्ट्र बैंकले लगानीयोग्य पूँजीमा मात्र केन्द्रित नभई निक्षेप संकलनमा जोड दिन सुझाव दिँदै आएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)