जिन परिवर्तन : बोटबिरुवाको वृद्धि विकास बढाउने उपाय
Jan 14, 2019
 
र यो पनि
काठमाडौं । केही दिनअघि पत्र–पत्रिकामा प्युठानको स्वर्गद्वारीमा नाङ्लो जस्तो देखिने ठूल्ठूला पात भएको रायोको सागका तस्वीर छापिएका थिए । हामीले तरकारीको रूपमा प्रयोग गर्ने तोरी, चम्सुर, मेथीलगायत साग पनि अहिले हामीले देखिरहेको भन्दा दोब्बर तेब्बर अग्ला हुन सक्लान् त ? पछिल्लो समय वैज्ञानिहरूले बोटबिरुवामा जिन परिवर्तन गरेर कसरी यसको वृद्धि विकास तीव्र बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहेका छन् ।
सामान्य जग्गामा सामान्य तरीका अपनाएर उत्पादन गरिने सागपात पनि अपवादबाहेक सामान्य नै हुन्छन् । तर, अमेरिकी अनुसन्धाताहरूले सुर्तीमा एउटा प्रयोग गरेका छन् । यस क्रममा बोटबिरुवामा हुने फोटोसिन्थेसिस प्रक्रियाको प्रभावकारिता बढाउन उनीहरूले सुर्तीको बिरुवाको जिन नै परिवर्तन गरेका थिए । यसो गर्दा बिरुवाले सूर्यको किरणबाट फोटोसिन्थेसिस प्रक्रियाका लागि बढी ऊर्जा सोसेको, कम ऊर्जा खेर भएको र बिरुवा पनि सामान्य बिरुवाको तुलनामा ४० प्रतिशत ठूलो भएको पाइयो । यो प्रक्रिया अपनाएर सुर्ती मात्रै होइन, धान र गहुँ लगायत अन्य प्रमुख खाद्य बालीको उत्पादकत्व समेत उल्लेख्य बढाउन सकिने अनुसन्धाताहरूले बताएका छन् ।
पछिल्लो समय विश्वको जनसंख्या दिनानुदिन बढिरहेको छ । जग्गा जमीन सीमित छ । भएका उब्जाउ जमीन पनि शहरीकरण र बस्ती बसाल्ने कार्यमा प्रयोग हुने क्रम बढेपछि बढ्दो जनसंख्यालाई पुग्ने गरी खाद्यान्न उत्पादन कसरी गर्ने भन्ने चिन्ता बढेको छ । विश्वव्यापी जलवायु परिवर्तनका अन्य असरले यो चिन्ता थप बल्झाएको छ । सन् २००५ को तुलनामा यो शताब्दीको मध्यतिर विश्वभर कृषिजन्य उत्पादनको माग ६० देखि १ सय २० प्रतिशत बढ्ने अनुमान छ । वार्षिक रूपमा अहिले कृषि उपज भने २ प्रतिशतभन्दा पनि कम बढिरहेको छ । यस्तोमा सन् २०५० सम्ममा विश्वमा चरम खाद्यान्न संकट नआउला भन्न सकिदैंन ।
पछिल्ला केही दशकमा मलखाद, कीटनाशक औषधि तथा यान्त्रिकीकरणको प्रयोगले कृषि क्षेत्रको उत्पादन त बढेको छ । तर, भविष्यमा पनि यो उपाय अपनाएर उत्पादन अहिलेकै दरमा बढाइराख्न भने सकिंदैन । त्यसैले वैज्ञानिकहरूले खाद्यान्नको उत्पादन बढाउन फोटोसिन्थेसिसको प्रक्रिया नै सुधार्न खोजेका हुन् । बोटबिरुवाले आनो वृद्धि विकासका लागि सूर्यको किरणबाट प्राप्त हुने ऊर्जालाई कार्बन डाइअक्साइड र पानीलाई ग्लुकोज/चिनीमा बदल्छ । यो रासायनिक प्रक्रियाका क्रममा बालीको सम्भावित विकासलाई रोक्ने खालका विषाक्त तŒवहरू पनि उत्पन्न हुन्छन् ।
यसरी उत्पन्न भएका विषाक्त तŒवलाई बिरुवाले ‘रिसाइकल’ त गर्छ । तर, यस प्रक्रियामा बालीको उत्पादकत्व बढाउने ऊर्जा यसैमा खेर जान्छ । पछिल्लो अध्ययनमा भने अनुसन्धाताहरूले फोटोसिन्थेसिसको प्रक्रियालाई नै परिवर्तन गरेका छन् । ऊर्जा खेर जाने प्रक्रिया छोट्याउन आफूहरूले तीन फरकफरक बायोकेमिकल (जैविक रासायनिक) उपाय निकालेको अमेरिकाको कृषि अनुसन्धान सेवाका एक विज्ञ डा. पल साउथले बताएका छन् ।
यो प्रयोग अहिले पात मात्रै हुने सुर्ती लगायतको बोटबिरुवामा गरिएको छ । फिल्ड परीक्षणका क्रममा भने यस प्रक्रियाबाट सुर्तीको बिरुवाको वृद्धि विकास सामान्य अवस्थामा भन्दा ४० प्रतिशत बढेको पाइएको छ । यसलाई भटमास, धान, फलफूल र तरकारी लगायत बालीमा पनि प्रयोग गर्न सकिने साउथको भनाइ छ । यो प्रक्रियाले यी बालीको उत्पादकत्व ३६ प्रतिशतसम्म बढाउन सकिने उनले उल्लेख गरेका छन् । अत्यधिक गर्मी भएको र सुख्खा बढेको अवस्थामा फोटोसिन्थेसिसले बिरुवाको वृद्धि विकासमा उत्पन्न गर्ने अवरोध थप बढ्ने अध्ययनले देखाएको छ ।
‘हाम्रो लक्ष्य भनेको अहिले विश्वमा बढिरहेको तापमान वृद्धिलाई सहन सक्ने बिरुवाको विकास गर्नु हो र भविष्यमा कृषकहरूलाई विश्वलाई खान पुग्ने अन्न उत्पादनमा सहयोग गर्नु पनि हो,’ युनिभर्सिटी अफ इलिनोइसका विद्यावारिधि सकाएर बसेकी अनुसन्धाता एमन्डा काभानोले बताइन् । सुर्तीको बोटमा जिन सजिलै र शीघ्र परिवर्तन गर्न मिल्ने भएकाले अनुसन्धानमा अनुसन्धाताहरूले सुर्तीको बिरुवाको प्रयोग गरेका थिए । उनीहरूले भटमास, चामल, आलु र गोलभेडा लगायत बालीमा पनि यस्तै खालको प्रयोग गर्ने प्रयास गरिरहेका छन् । सुर्तीमा झैं यी बालीमा पनि जिन परिवर्तनले बालीको वृद्धि विकास र उत्पादकत्व बढाउने आशा व्यक्त गरिएको छ ।
बालीको वृद्धि विकास बढाउने बाहेक खाद्यान्नमा पोषक तत्त्व बढाउने वा सामान्य रोग प्रतिरोधी बनाउने खालका प्रयोग पनि भएका छन् । तर, विश्वभर जेनेटिकल्ली मोडिफाइड खानेकुराहरूको प्रयोग विवादास्पद रहँदै आएको छ । यसले वातावरणमा पार्ने असरबारे पनि थरीथरीका आलोचना सुनिँदै आएका छन् । यो प्रविधि प्रयोग गरेर तयार पारिएको खानेकुरा कृषक र उपभोक्ताहरूले स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने पनि अनिश्चित छ ।
के हो जेनेटिकल्ली मोडिफाइड फूड ?
जेनेटिकल्ली मोडिफाइड फूड भनेको प्रतिफल बढाउन बोटबिरुवाको जिनमा नै परिवर्तन गरिने प्रक्रिया हो । यसमा जेनेटिक इञ्जिनीयरिङको माध्यमबाट बोटबिरुवाको डीएन परिवर्तन गरिन्छ । जेनेटिकल्ली मोडिफाइड खानेकुराको व्यावसायिक विक्री सन् १९९४ मा शुरू भएको थियो । प्रायः कृषक तथा उपभोक्तामा माग उच्च रहेका भटमास, मकै, क्यानोला र कपास लगायत नगदे बालीमा जिन परिवर्तन गर्ने प्रवृत्ति धेरै छ । जिन परिवर्तन गरिएका वस्तुभाउ पनि अहिले बजारमा विक्रीमा छन् । यस प्रक्रियामा जैविक रसायन मात्रै प्रयोग गरिने भएकाले जिन परिवर्तन गरेर तयार पारिएको खानेकुरा स्वास्थ्यको दृष्टिले सुरक्षित हुन्छ भनेर पनि वैज्ञानिकहरूले बताउँदै आएका छन् । तर, यस क्रममा बोटबिरुवाको प्राकृतिक प्रक्रियामा गडबडी आउने भएकाले यसको केही न केही असर हुन्छ र यस्तो वस्तुको उपभोग गर्दा मानव स्वास्थ्य र वातावरणमा नै क्षति पुग्छ भन्दै यस प्रक्रियाको विरोध पनि हुँदै आएको छ ।
एजेन्सी