धेरै तलब कमाउने सपना देखेका हुन्छौं । आफ्नोभन्दा बढी तलब पाउने मानिसहरुप्रति कहिलेकाहीँ हामी इर्ष्यासमेत गर्ने गर्छौं । तर, हालै गरिएको एक अध्ययनमा भने सबैभन्दा बढी तलब लिने प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) दण्डित हुने तथ्य फेला परेको छ । अमेरिकाको बौद्धिक समूह ‘इन्ष्टिच्युट फर पोलिसी स्टडिज’द्वारा बुधवार सार्वजनिक प्रतिवेदनअनुसार विगत २० वर्षमा सबैभन्दा बढी पारिश्रमिक लिने ४० प्रतिशत सीईओहरु आफ्नो पदबाट चाँडै निकालिए वा धोखाधडीको आरोपमा दण्डित भएका छन् वा उनीहरुले सरकारी अनुदान लिनुपरेको छ । गतवर्ष ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले औसत अमेरिकी कामदारभन्दा ३ सय ५४ गुणा बढी तलब पाएको सो प्रतिवेदनमा उल्लेख छ ।
पारिश्रमिकको यो अन्तर सन् १९९३ यता निकै फराकिलो भएको प्रतिवेदनमा उल्लेख छ । सन् १९९३ मा यस्ता सीईओहरुले औसत कर्मचारीको तुलनामा १ सय ९५ गुणा बढी तलब पाउने गर्दथे । तर, सबै बढी तलब पाउने सीईओको कार्यसम्पादन उच्च भने नहुने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा सबैभन्दा बढी पारिश्रमिक पाउने २५ जना सीईओमध्ये अमेरिकाको न्यूयोर्कको हाउष्टन एनरोन कर्पोरेशनका केनिथ लेको उदाहरण दिँदै सन् २००१ मा कम्पनी पतन भएको ४ वर्षसम्म उनले सबैभन्दा बढी पारिश्रमिक प्राप्त गरेको उल्लेख गरिएको छ । यिनै लेलाई सन् २००६ को मे महीनामा त्यहाँको सङ्घीय अदालतले कम्पनीमा भएको धोकाधडी र षडयन्त्रको प्रमुख दोषी ठहर गरेको थियो ।
त्यस्तै, सो बौद्धिक समूहले सन् १९९३ यता हरेक वर्ष प्रकाशित गरेको सबैभन्दा बढी तलब पाउने २५ सीईओको सूचीमा धेरै जनाको नाम दोहोरिएको पाइएको छ । यसमध्ये करीब ४० प्रतिशत सीईओ एकपटकभन्दा बढी सूचीमा परेका छन् । सन् २००८ को वित्तीय सङ्कटको समयमा सबै ठूला वित्तीय संस्थाहरुलाई सरकारले रकम दिएर उद्धार गरेको थियो । लेहम्यान ब्रदर्शका डिक फल्डलगायत धेरै सीईओहरु त्यतिबेलासमेत सबैभन्दा बढी पारिश्रमिक लिनेमा परेका थिए । प्रतिवेदनअनुसार फल्डले सन् २००१ देखि सन् २००७ सम्म तलब तथा सुविधाबापत ४६ करोड ६३ लाख डलर प्राप्त गरेका थिए ।