ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप हवाई रूटबारे भारतीय पक्षसँग छलफल हुँदै

Jan 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाललाई थप हवाई रूट दिनेबारे भारतीय पक्षले आनाकानी गरिरहेकोे सन्दर्भमा नेपालले यस विषयमा पुनः एकपटक भारतीय पक्षसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्री तहमा भएका उच्चस्तरीय वार्ताका क्रममा पटकपटक उठेको यो विषय भारतीय कर्मचारीतन्त्रले विभिन्न बहाना देखाउँदै पर सार्दै आएको छ ।

यसअघि भएका सहमति अनुरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भारतीय पक्षसँग बुधवार यस विषयमा छलफल गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र एअरपोर्ट अथोरिटी अफ इन्डियाबीच यसअघि हवाई रूट दिने विषयमा सहमति भए पनि विभिन्न कारण देखाउँदै भारतीय पक्षले नेपालले प्रस्ताव गरेका रूट दिन नसकिने बताउँदै आएको छ ।

पर्यटन मन्त्री अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा सहभागी हुन भारत गएको मौकामा यस विषयमा छलफल हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । माघ १ र २ गते १ दिनसम्म चल्ने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बरालसहित भारत गएका छन् ।

कर्मचारी तहबाट यो विषय टुंगो नलाग्ने भएपछि राजनीतिक तहबाटै कुरा उठाउन आवश्यक देखिएकाले यो भेटमा मन्त्रीले भारतीय पक्षसँग छलफल गर्ने मन्त्रालयले जानकारी दिएको छ । गत असार २ गते नेपालमा भएको सहमतिअनुसार भारतले नेपाललाई थप चारओटा हवाई रूट दिनुपर्ने थियो । तर, एअरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको भन्दै तत्काल थप हवाई रूट दिन नसक्ने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले नेपाललाई अहिले एउटा हवाई रूट (सिमरा) मात्र उपलब्ध गराउँदै आएको छ । विभिन्न मुलुकबाट नेपाल आउने विमानहरू सिमरानजीकै रहेको रोमियो बिन्दुबाट नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, थाइल्यान्ड लगायत ठाउँबाट आउने जहाजहरू यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् । नेपालले भारतसँग सिमरा बाहेक महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको छ । भारतीय पक्षले महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर रूट दिने प्राधिकरणका अधिकारीको अनुमान थियो ।

असारमा भएको सहमतिअनुसार भारतीय पक्षले सेप्टेम्बर २०१८ भित्र विस्तृत प्राविधिक मँल्याङ्कनको काम सम्पन्न गर्ने सहमति भएको थियो ।

सोहीअनुसार नेपाली र भारतीय प्राविधिक टोलीले प्राविधिक प्रतिवेदनतयार गरेका थिए । तर, पहिले भएका सहमति विपरीत भारतीय पक्ष रूट दिन नमिल्ने बताएपछि नेपालले नयाँ रूट पाउने विषयमा अन्योल देखिएको हो । सन् २०१९ भित्रै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी भइरहेको समयमा भारतीय पक्षले रूट नदिएमा हवाई उडान प्रभावित हुने प्राधिकरणका अधिकारी बताउँछन् । तर, भारतीय पक्ष ‘हवाई रूट’ प्रदान गर्न इच्छुक देखिएको छैन । हवाई रूटका विषयमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग बीच उच्चतहमा वार्ता भएको थियो । पर्यटन मन्त्रीले भारतीय राजनीतिक तहमा यो विषयलाई दह्रोसँग उठाएर सहमति गर्न सके नेपालको हवाई क्षेत्रका लागि नयाँ ब्रेक थ्रँ हुने प्राधिकरणका अधिकारी बताउँछन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान एवं त्यहाँ अवतरण गर्न भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)