ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर–इटहरी मोनोरेल : विराट मोनोरेल कम्पनीले जुटायो लगानी

Jan 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । विराट मोनोरेल इन्टरनेशनल प्रा.लि.ले विराटनगर–इटहरी रूटमा मोनोरेल निर्माण गर्न लगानी जुटाएको छ । ३० किलोमिटर लामो उक्त मोनोरेल परियोजना निर्माणका लागि कम्पनीले भारत र जापान कम्पनीसँगको जोइन्ट भेन्चरमा ७० प्रतिशत ‘सफ्ट लोन’ लिने गरी लगानीको स्रोत जुटाएको हो । बाँकी ३० प्रतिशत लगानी भने कम्पनीले स्थानीय/प्रदेश सरकारसँगको सहकार्यमा जुटाउने भएको हो । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयले प्रदेश/स्थानीय तहले मोनोरेल निर्माणमा चासो देखाएकोले १०/१० प्रतिशत लगानी स्थानीय सरकारको हुने आकलन गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय र प्रदेश सरकारले त्यत्ति लगानी गरे परियोजनामा कम्पनीले १० प्रतिशत लगानी गर्ने छ । ‘स्थानीय र प्रदेशले लगानी नगरे कम्पनी स्वयम्ले ३० प्रतिशत लगानी गर्ने तयारी छ,’ उनले भने । आत्रेयले मोनोरेल परियोजनामा विदेशी लगानी भित्र्याउने रणनीतिअनुसार भारतीय र जापानी कम्पनीसँग समझदारी पत्र (एमओयु)मा समेत हस्ताक्षर गरिसकिएको बताए । तर, कम्पनीले लगानी गर्न तत्पर विदेशी कम्पनीको नाम भने खुलाउन चाहेन । ‘बुट (निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तण) अवधारणा’मा मोनो रेल सञ्चालन गर्ने तयारी गरेको उक्त कम्पनीले ६ महीनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने समेत बताएको छ । आत्रेयले प्रारम्भिक अध्ययनबाट विराटनगर–इटहरी रूटमा मोनोरेल बनाउन सम्भव देखिएको बताए । उनका अनुसार प्रारम्भिक अध्ययनले परियोजनामा रू. ३० अर्ब लगानी हुने देखिएको छ । विराटनगर देशको दोस्रो ठूलो शहर भएकोले पनि मोनोरेल सञ्चालन गर्न आवश्यक भएको उनले अभियानलाई बताए । उनले केही हप्तापछि नै डीपीआर बनाउने प्रक्रिया शुरू गरिने जानकारी दिए । कम्पनीका अनुसार प्रदेश नं. १ सरकारले मोनोरेल सञ्चालनका लागि केन्द्र सरकारमा सिफारिश पठाइसकेको छ । जापानी प्रविधिमा रेल निर्माण गरिने छ । प्रदेश नं. १ ले मोनोरेल सञ्चालनका लागि अध्ययन गर्न गत जेठमा अनुमति दिएको थियो । कम्पनीका अनुसार मोनोरेल निर्माण गर्न विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, बूढीगंगा गाउँपालिका र दुहबी नगरपालिकाले पनि सहमति दिइसकेको छ । विराटनगरदेखि तरहरासम्मका ४ ओटै स्थानीय सरकारले कम्पनीलाई अनुमति दिइसकेका छन् । उक्त रेलमार्गको रूट विराटनगरदेखि इटहरीको तरहरासम्म हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)