ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसदीय उपसमितिको निष्कर्ष : नागीडाँडा विमानस्थल अनावश्यक

Jan 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण आवश्यक नभएको निष्कर्ष निकालेको छ । भैरहवा, निजगढ र पोखरामा विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलको नजीकै अर्को विमानस्थल आवश्यक नरहेको उपसमितिको निष्कर्ष छ । समितिले करीब ४ महीनाअघि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । चार महीनाको अध्ययनपछि उपसमितिले तयार पारेको प्रतिवेदन माघ ९ गते समितिको पूर्ण बैठकमा पेश हुने समितिका सभापति पवित्रा निरौला (खरेल) ले आर्थिक अभियानलाई जानकारी दिइन् । उनले भनिन्, ‘समितिमा पहिले भएका छलफलमा पनि नागीडाँडामा विमानस्थल आवश्यक छैन भन्नेमै सदस्यहरूको जोड थियो । तैपनि विस्तृत अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्न उपयुक्त हुने भएकाले उपसमिति गठन गरिएको हो । उपसमितिले ९ गते प्रतिवेदन पेश गर्दैछ । त्यसपछि यसबारे थप विवरण बाहिर आउनेछ ।’ रवीन्द्र अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै गत वैशाखमा काभ्रेका नागीडाँडा, ठूली चौर, चिसापानी लगायत स्थानको स्थलगत अध्ययन गरी वैकल्पिक विमानस्थलको ठाउँ र लागत पेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर कमलकुमार केसीको संयोजकत्वमा अध्ययन टोली गठन गरिएको थियो । टोलीमा ध्रुवदास भोछिभया, बाबुराम पौडेल, सुवर्णराज उपाध्याय, सीताराम भण्डारी र नलविक्रम थापा सदस्य थिए । टोलीले स्थलगत अध्ययनपछि आन्तरिक उडानका लागि वैकल्पिक विमानस्थलको रूपमा काभ्रेको नागीडाँडालाई सिफारिस गरेको थियो । सोहीअनुसार चालू आर्थिक वर्षको बजेटमा जग्गा अधिग्रहणका लागि रू. २५ करोड छुट्ट्याइएको छ । प्राविधिक टोलीले ६ सयदेखि १२ सय मिटर लामो धावनमार्गसहितको विमानस्थल बनाउन सकिने प्रतिवेदन मन्त्रालयलाई दिएको थियो । प्रतिवेदनमा करीब रू. ७ अर्बको लागतमा ५ वर्षमा विमानस्थल बनाउन सकिने उल्लेख छ । संसदीय उपसमितिले त्रिभुवन विमानस्थललाई सामान्य सुधार गरे हवाई चापको समस्या कम हुने भन्दै सही व्यवस्थापन गर्न जोड दिएको छ । उपसमितिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति छिटोभन्दा छिटो गर्न पनि सुझाव दिएको छ । मन्त्री अधिकारीले भने नागीडाँडाबाट लुक्ला, फाप्लु, तुम्लिङटार, भोजपुर र जोमसोममा हुने उडानको २० प्रतिशत अंश व्यवस्थापन गर्न सकेमात्रै पनि त्रिभुवन विमानस्थलको चाप कम हुने भएकाले जसरी पनि नागीडाँडामा विमानस्थल बनाउने बताउँदै आएका छन् । उनका अनुसार १५ देखि २० प्रतिशत हेलिकोप्टर उडान पनि नागीडाँडाबाटै गर्न सकिने हुँदा विमानस्थल घाटामा जाँदैन । साथै राजधानीदेखि नजीक पनि भएकाले यसको दीर्घकालीन महŒव पनि रहेको उनको भनाइ छ । नागिडाँडा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ८ दशमलव ५ नटिकल माइल दूरीमा रहेको छ । वैकल्पिक विमानस्थल : मन्त्रीपिच्छेका अनुसन्धान र चर्चा काभ्रेमा विमानस्थल निर्माणको चर्चा चल्न थालेको डेढ दशकभन्दा बढी भयो । तर, विमानस्थल बनाउने विषयले न त मूर्तरूप लिन सक्यो न त पर्यटन मन्त्री परिर्वतन हुनासाथ अध्ययन गराउने काम नै बन्द भयो । सरकार परिवर्तन भएर नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ त्रिभुवन विमानस्थलको हवाई ट्राफिक चाप हटाउन काभ्रेमा विमानस्थल निर्माणको चर्चा हुने गरेको पाइन्छ । तर, मन्त्रीको कार्यकाल सकिँदासम्म कार्यप्रगति भने जहाँको तहीँ । नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको पहिले नै प्रारम्भिक अध्ययन गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)