मालिक र कर्मचारीबीचको सुमधुर सम्बन्धले नै कम्पनीलाई सफलताको बाटोतर्फ डोर्याउँछ । कम्पनीलाई उचाइमा पुर्याउन यी दुई पक्षबीच अत्यन्त गाढा सम्बन्ध हुनुपर्ने विभिन्न सर्वेक्षणले देखाएका छन् । यसमा पारदर्शिताको पनि उत्तिकै महत्व रहन्छ । तर, हालै गरिएको एक अध्ययनले कम्पनी मालिकहरुले कर्मचारीसँग उनीहरुका सुविधा र कम्पनीको लाभबारे खुलेर नबोल्ने देखाएको छ । अमेरिकास्थित विश्वव्यापी सेवाप्रदायक ‘टावर्स वाट्शन’ले गरेको सर्वेक्षणअनुसार करीब १ तिहाइ मालिकले कम्पनीको लाभबारे आफ्ना कर्मचारीसँग चर्चा गर्दैनन् । यद्यपि, लाभको मूल्य र प्रभावकारी सञ्चारबीच भने गहिरो र सकारात्मक सम्बन्ध रहने गरेको सर्वेक्षणमा पाइएको छ ।
कर्मचारीलाई दिइने सुविधा बढाउनु प्रमुख प्राथमिकता भए पनि ३१ प्रतिशत मालिकले उनीहरुलाई दिइरहेको सेवासुविधाबारे बोल्दै नबोल्ने भेटिएको छ । सन् २००९ मा यस्तो धारणा राख्नेको सङ्ख्या ५५ प्रतिशत रहेको अनुसन्धाता संस्थाले बताएको छ । ‘कर्मचारीलाई दिइने सेवासुविधासम्बन्धी रणनीतिको कुरा आउँदा त्यस्तो संवादलाई बेवास्ता गर्ने गरेको हामीले पाएका छौं, तर मालिकहरुले मरिहत्ते गर्ने आरओआई (रिटर्न अन इन्भेष्टमेण्ट) सुधारमा यसको महत्वपूर्ण भूमिका रहन्छ,’ टावर्स वाट्शन एशिया–प्रशान्त क्षेत्रका बेनिफिट अप्टिमाइसेन प्रमुख म्याथ्यु ज्याक्शनले भने ।
सन् २०१३ को फेब्रुअरी र मार्च महीनाबीच गरिएको उक्त सर्वेक्षणमा १ हजार ६६ कम्पनी मालिकलाई सहभागी गराइएको थियो, जसमा सेवासुविधाबारे खुलेर कर्मचारीसँग कुरा गर्ने अभिव्यक्ति दिने मालिकमध्ये ९१ प्रतिशतले कम्पनीले कर्मचारीलाई उपलब्ध गराइरहेको सुविधा पर्याप्त भएको र उनीहरु त्यतिमै खुशी भएको बताएका थिए । उता, २२ प्रतिशत कम्पनीले भने यस्तो सञ्चार बोलेरभन्दा लेखेर गर्ने पाइएको छ । यसबाहेक केही मालिकले संवादका लागि नयाँ प्रविधिको प्रयोग गर्न थालेको पाइएको र १ चौथाइले भने अनलाइन पोर्टललाई प्राथमिकता दिँदै आएको सर्वेक्षणले देखाएको छ । प्रभावकारी सञ्चार रणनीति बहुआयामिक हुनुपर्नेमा उनले जोड दिएका छन् ।