ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहयोग लिँदै थन्काउँदै सरकार : स्क्यान मेशिन प्रयोगमा सरकार नै उदासीन

Jan 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । भन्सार चेकजाँच प्रणाली जटिल बन्दै गइरहेको बेला सहयोगमा आएका चेकजाँचमा प्रयोग हुने अत्याधुनिक मेशिन सरकारले नै प्रयोगमा नल्याएको पाइएको छ । २०६२ सालमा चीन सरकारले नेपालको भन्सार प्रविधिलाई सुधार्न भनी दिएको करोडौं पर्ने अत्याधुनिक मेशिन प्रयोग नभई थन्किएको छ । त्यस्ता दुई मेशिनमध्ये एउटा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा र अर्को वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले अनुदानमा प्राप्त उक्त स्क्यान मेशिन प्रयोगमा आउन नसकेको अभियानलाई बताए । उनले अभियानलाई भने, ‘मेशिन छ भन्ने थाहा छ, तर प्रयोगमा ल्याउन सकिएको छैन ।’ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले पनि मेशिन प्रयोगमा आउन नसकेको जानकारी दिए । किन प्रयोगमा नल्याइएको भन्नेबारे दुवै अधिकारीले आफूहरूले भर्खरै कार्यालयको जिम्मेवारी सम्हालेका कारण थाहा नभएको बताए । भन्सार विभागका निर्देशक मुक्तिराम आचार्यले मेशिन प्रयोगमा नआउनुको प्रमुख कारण जनशक्तिको अभाव भएको बताए । उनले भने, ‘अत्याधुनिक मेशिन सञ्चालन गर्ने हामीसँग जनशक्ति नै छैन, मेशिन भएर के गर्नु ?’ अनुदानमा प्राप्त ती मेशिन सहयोगस्वरूप प्राप्त हुँदा कृष्णहरि बास्कोटा भन्सार विभागका महानिर्देशक थिए । अहिले ती मेशिन थन्क्याएर भन्सार चेक जाँच पुरानै ढंगले भइरहेको छ । भन्सारमा अत्याधुनिक मेशिनको प्रयोग हुन नसक्दा व्यापारीहरूले भन्सार जाँचपासमा झन्झट खेप्नुका साथै कर्मचारीहरू समेत समस्यामा पर्ने गरेका छन् । प्रयोगमा नल्याइएको उक्त मेशिन प्रयोगबाट ठूला मालवाहक गाडी नै स्क्यान गर्न सकिन्छ । भन्सार छली रोक्न र कर्मचारीलाई नियमसम्मत ढंगले मात्र काम गर्न उक्त मेशिनबाट सहयोग पुग्ने विश्वास लिइएको थियो । भेहिकल स्क्यानर मेशिनले भन्सार चेक जाँचलाई आधुनिक बनाउने अपेक्षा गरिएको भए पनि प्रयोगमा नल्याइनुले सरकारको भन्सार आधुनिकीकरणको नारा नाममा मात्रै सीमित हुन पुगेको उद्योगीहरू बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले भन्सार चेकजाँच प्रणालीलाई तत्कालै सुधार्न जरुरी रहेको बताए । उनका अनुसार सहयोगमा प्राप्त स्क्यान मेशिन वर्षाैंसम्म सञ्चालन नहुनु सरकारको ठूलो लापरबाही हो । जनशक्ति नभए सरकारले लगानी गरेर मेशिन चलाउनका निम्ति दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । जनशक्तिलाई कारण देखाउँदौं करोडौंका मेशिन बिगार्ने छूट राज्यलाई नभएको उनको भनाइ छ ।
सरकारको ठूलो लापरबाही शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ भन्सारमा चेकजाँचमा एकदमै ठूलो समस्या छ । १५–२० किमीको अव्यवस्थित लाइनले गर्दा व्यापारीले निकै हैरानी खेप्नुपरेको छ । चेकजाँचमा हुने ढिलासुस्तीका कारण उद्योगी/व्यापारीलाई आर्थिक भारसमेत थपिने गरेको छ । त्यसको प्रभाव सामानको मूल्यमा पर्ने गरेको छ । एक्सरे मेशिन सरकारले चलाएको भए शायद यस्तो समस्या आउने थिएन । सबै ट्रक नै खोलेर हेर्नुपर्ने अवस्थाको हल हुने थियो । सरकारले भन्सारलाई आधुनिकीकरण बनाउने भनिरहँदा सहयोगमा पाएको मेशिन पनि प्रयोग नहुनु भनेको सरकारको ठूलो लापरबाही हो । के कारणले सञ्चालन मा ल्याउन सकिएको छैन ? समस्या सल्टाएर अघि बढ्नुपर्छ । अहिलेको भन्सार चेकजाँच प्रणालीबाट खेप्नुपरेको सास्ती हल हुनुपर्छ । प्रयोगमा ल्याउन नसकिएकै हो मुक्तिराम आचार्य, निर्देशक, भन्सार विभाग भन्सार सुधारका निम्ति भन्सार विभाग निरन्तर कार्ययोजना बनाएर लागिरहेको छ । पहिलेभन्दा सुधार गर्ने कोसिससमेत भैरहेको छ । चीनको सहयोगमा प्राप्त स्क्यान मेशिन प्रयोगमा समस्या भएकै हो । मेशिन प्राप्त भयो तर हामीसँग दक्ष जनशक्ति भएनन् । जनशक्तिकै अभावमा मेशिन प्रयोगमा ल्याउन नसकिएको हो । जसले त्यो मेशिन दिएको हो, उसले कम्तीमा ६ महीना त्यो मेशिन कसरी चलाउने हो, सिकाइ दिनुपथ्र्यो । त्यतिबेला त्यो भएन । पछि पनि त्यस्तो खालको जनशक्ति पाएनौं । भन्सार जाँचपासदेखि अन्य प्रणाली सुधारमा अन्य तवरले लागिरहेका छौं । यसलाई प्रयोगमा ल्याउन सकिने नै भएन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)