स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको फोरमको वार्षिक बैठक सम्पन्न भयो । त्यसमा विश्वभरिका थुप्रै सरकार प्रमुख सामेल भए । तर ट्रम्प, सी चिन फिङ, टेरिजा मे, इमान्युएल म्याक्रोँ, नरेन्द्र मोदीलगायत विश्वका ठूला अर्थतन्त्रका ठूला नेता भने आएनन् । शायद उनीहरूलाई आआफ्ना देशमा आर्थिक समृद्धि ल्याउन डाभोस गएर लड्नु थिएन । उनीहरूलाई आफ्नै देशमा आइपरेका समस्यासँग लड्नु पर्ने त्यो बाध्यता आयो नि त । तर नेपालबाट प्रम ओली त्यो फोरममा भाग लिन जानुभयो । किनकि उहाँलाई देशमा प्रतिपक्षसँग लड्नु छ र देशमा विदेशी लगानी ल्याएर आर्थिक समृद्धि पनि ल्याउनु छ । तर, संसद्मा समस्या खडा गरिरहेको प्रतिपक्षसँग यहीँ बसेर लड्नुभन्दा डाभोसको १० डिग्री माइनसको तापक्रममा पूँजीवादी ठालूहरूसँग भिडेर देखाइदियो भने त देशभित्रका प्रतिपक्षी त्यसै थर्कमान भइहाल्छन् नि ।
उहाँ देशमा सुशासन छ भन्नुहुन्छ, पत्रकारहरू कुशासन भयो भनेर लेख्दिन्छन् । उहाँ भन्नुहुन्छ, देशमा कानूनी राज्यप्रणाली स्थापित भयो । तर, भन्नेहरू राज्य नै खुनी हुँदै गएको देख्छन् । उहाँ भन्नुहुन्छ, समृद्ध नेपाल सुखी नेपाली । तर भन्नेहरू भन्छन् वृद्धवृद्धाको नेपाल, दुःखी नेपाली ।
डाभोस जाने टोलीमा प्रमले निजीक्षेत्रका एकजना प्रतिनिधि पनि साथमा लैजानु भएन । निजीक्षेत्रविना सरकारी पाराले नै समृद्धि आइहाल्छ भन्ठानेर हो वा निजीक्षेत्रलाई विश्वास गर्न नसकेर हो, थाहा भएन । तर डाभोसमा प्रमले नेपालमा सृमिद्धि ल्याउन संविधान अनुसार धेरै काम हुँदै गएको, नेपाललाई प्रविधिमैत्री बनाउँदै लगिएको भन्नुभयो । हो त, डाभोस प्रस्थान गर्नुअघि टुटल र पठाओको काम नरोक्नु भनेर त्यत्रो क्रान्तिकारी आदेश दिनुभएको थियो नि त । यसले पनि प्रमको विकासे मन स्पष्ट देखाउँछ ।
डाभोसमा सार्कका पनि अध्यक्ष रहेका प्रमलाई यस्ता प्रश्न पनि गरियो । जस्तै– ‘सार्क क्षेत्रका देशले गर्ने कुल अन्तरराष्ट्रिय व्यापारमा सार्कभित्रको व्यापारको अंश भने ३ प्रतिशत मात्रै छ । विश्व बैंकले त्यो व्यापार ३ गुणा बढाउन सकिने प्रतिवेदन दिएको छ । तर कनेक्टिभिटी छैन । अब के र कसरी गर्नुहुन्छ ?’ प्रमले बडो चतुरतापूर्वक जवाफ दिनुभयो, ‘हामी (याने नेपाल) चीन र भारतसँग ‘कनेक्टेड’ हुँदै छौं, भारत र चीनबाट रेल र पानीजहाज ल्याउँदै छौं ।’ त्यसपछि त प्रश्नकर्ता र सहभागी सबै चुप ।
कसले हो सार्कको ‘इन्टिग्रेशन’ छैन नि त भनेर सोध्दा प्रमले हामी बिमस्टेकसँग सहकार्य गर्दै छौं भनेर त्यसको पनि ट्याक्क जवाफ दिनुभयो । प्रमलाई कम्ता गाह्रो थिएन, यी प्रश्नहरूको जवाफ दिन । सार्कको अध्यक्षको हैसियतले बोल्नु कि नेपालको प्रधानमन्त्रीको हैसियतमा भन्ने द्विविधा थियो । तर उहाँले सबैलाई ट्याक्क मिलाएर जवाफ दिनुभयो ।
उहाँले कुन कुन हो टीभीसीभीसँग पनि कुरा गर्नुभयो । त्यो पनि अंग्रेजीमै सर्रर । ओली जोक गर्न मात्र होइन, अंग्रेजीमा पनि बोल्न सक्नुहुन्छ भनेर विश्वमञ्चमा स्थापित गरिदिनु भयो । यसरी उता अर्थात् विदेशमा त ओलीले बोलेरै सबैलाई नाजवाफ बनाउनु भयो । तर, देशभित्र भने गाह्रो हुँदै गएको देखिन्छ । किनकि उहाँ देशमा सुशासन छ भन्नुहुन्छ, पत्रकारहरू कुशासन भयो भनेर लेख्दिन्छन् । उहाँ भन्नुहुन्छ, देशमा कानूनी राज्यप्रणाली स्थापित भयो । तर, भन्नेहरू राज्य नै खुनी हुँदै गएको देख्छन् । उहाँ भन्नुहुन्छ, समृद्ध नेपाल सुखी नेपाली । तर भन्नेहरू भन्छन् वृद्धवृद्धाको नेपाल, दुःखी नेपाली । उहाँले उता आफू शासक नभई जनताको सेवक हुँ भन्नुभयो । यता उहाँलाई शोसक र जनतालाई सेवक मात्र बनाएको देख्नेहरू धेरै भए ।
प्रमले आफ्नो सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नरहेको भन्नुभए पनि यहाँका सबैले उहाँलाई जनवादी केन्द्रीयता भन्दै सबै निकायहरू प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएको देखेर होला, प्रमले त्यहाँ पनि जोकै गरेको ठाने । त्यस्तै आफूले प्रेसलाई नियन्त्रण गर्न नखोजेको बरू पहेँलो पत्रकारिता गर्नेहरू जस्तो लागेजतिलाई ‘प्रेस’ मात्र गर्न खोजेको भन्ने किसिमको जवाफ दिनुभयो ।
ओलीले आफू लोकतन्त्रका लागि ५० वर्ष लडेको दाबी गर्नुभए पनि कहाँ कहाँ कतिपटक लड्नुभएको थियो भन्ने विवरण भने दिनै भ्याउनु भएन । समय पनि त थिएन त्यो सबै बेलिबिस्तार लाउन । सूत्रात्मक रूपमा बोल्नुपर्यो । विकास भनेको जादूजस्तो नभएकोले त्यो आउन समय लाग्छ भन्नुभयो । तर अहिले आर्थिक उन्नति र सुशासन चैं आइहाल्छ रे । म चैं कमसे कम यी दुई कुरा अर्थात् सुशासन र आर्थिक उन्नतिहरू चैं कहाँसम्म आइपुगेछन् भनेर अलि पर गएर हेर्न चाहन्छु । तर कुन बाटामा हेर्न जाऊँ ? त्रिभुवन राजपथ कि कान्ति राजपथ कि फास्ट ट्र्याक ? अथवा कोदारी राजमार्ग कि केरुङ राजमार्ग ? हावा मार्ग, जलमार्ग कि रेलमार्ग ?