ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजनाबारे सरकारलाई संसद्को निर्देशन : बाँकी काम नेपाली कम्पनीबाटै गराऊ

Jan 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली कम्पनीबाटै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकले सरकारलाई सो निर्देशन दिएको हो । निर्णयबारे जानकारी दिँदै समितिकी सभापति दिलकुमारी रावलले तत्काल काम थाल्ने गरी नेपाली निर्माण व्यवसायी मार्फत सो आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् । सभापति रावलका अनुसार ग्लोबल टेन्डर आह्वान गरेर जाँदा ढिलाइ हुने भएकाले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीमार्पmत नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको हो । २०७० सालमा इटालीको सीएमसी कम्पनीलाई ३ वर्षमा आयोजना सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । उक्त कम्पनी काम सम्पन्न नगरी अन्तिम समयमा आएर भागेपछि अहिले निर्माण कार्य ठप्प छ । आयोजना अन्तर्गत करीब ९ सय मिटर सुरुङको फिनिसिङ सहित सुरुङभित्र क्यामेरा जडान गर्ने, सुरक्षाका उपकरण जोड्ने, वितरण प्रणालीका पाइप बिछ्याउने लगायत काम बाँकी छ । समितिले आयोजनाभित्र देखिएका अन्य समस्या समाधानका लागि सम्बद्ध निकायसँग ढिलाइ नगरी आवश्यक छलफल गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरूले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्न जिम्मेवार देखिएको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । समितिका सदस्य सुरेन्द्रराज पाण्डेले सीएमसी कम्पनी सरकारले कमिशन मागेपछि भागेको गम्भीर आरोप पनि लगाए । अर्का सदस्य कोमल वलीले सीएमसी कम्पनी भाग्दा पनि बेखबर भएको भन्दै सरकारको आलोचना गरिन् । उनले सो खानेपानी आयोजनाको काम समयमै सम्पन्न गराउन कर्मचारी संयन्त्र लागि नपरेको आरोप पनि लगाइन् । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले सो आयोजनाको बाँकी काम एशियाली विकास बैंकलाई सहमतिमा ल्याएर नेपाली निर्माण कम्पनीबाटै गराउन लागिएको जानकारी दिएका छन् ।
सुरेन्द्रराज पाण्डे सांसद मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्ने काममा सरकार मुख्य जिम्मेवार छ । ठेक्का पाएको सीएमसी कम्पनीसँग सरकारले कमिशन मागेको हो । कमिशनमा कुरा नमिल्ने भएपछि सरकारले कम्पनीलाई भगाएर ठेक्का तोडेको स्पष्टै भएको छ । मन्त्रीबाटै कमिशनको दबाब आउनु हुँदैनथ्यो । गजेन्द्र ठाकुर सचिव खानेपानी तथा सरसफाइ मन्त्रालय मेलम्ची खानेपानीमा देखिएको समस्याप्रति हामी गम्भीर छौं । ठेक्का लिएको कम्पनीले छाडेपछि अब बाँकी काम एशियाली विकास बैंकलाई सहमतिमा ल्याएर नेपाली निर्माण कम्पनीबाटै गराउने हाम्रो योजना छ । बाँकी काम चारओटा टुक्रामा विभाजन गरेर छिट्टै सम्पन्न गराउने प्रतिबद्धता गर्दछु । दिलकुमारी रावल सभापति राष्ट्रिय सरोकार तथा समन्वय समिति मेलम्ची खानेपानी आयोजना अहिले अन्योलमा छ । साबिकको ठेकेदार कम्पनी ठेक्का तोडेर गइसक्यो । अब ग्लोबल टेन्डर आह्वान गरेर अर्को कम्पनीलाई ठेक्का दिन समय लाग्ने देखियो । त्यसैले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनी मार्फत नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)