माघ १४, काठमाडौं (अस) । हामीले रक्तदान, बोनम्यारो दान र शरीरका अन्य अंग दानबारे त धेरै सुनेकै छौं । एक दाताले शरीरका अंग दान गरेर मात्रै आठ जनासम्म मानिसको ज्यान बचाउन सक्छन् । त्यस्तै, तन्तुहरु दान गरेर १ सय जनाभन्दा धेरैको ज्यान बचाउन सकिन्छ । तर मानव मल दान गर्दा हुन सक्ने लाभबारे तपाईलाई थाहा छ ?
झट्ट सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । तर यो एकदम सत्य हो । केही मानिसका मलमा राम्रा ब्याक्टेरियाहरु यति धेरै हुन्छन् कि यसलाई पेटसम्बन्धी गम्भीर समस्या भएका मानिसको उपचारमा समेत प्रयोग गर्न सकिन्छ । यसलाई स्टूल ट्रान्सप्लान्ट अथवा फिकल माइक्रोबायोटा ट्रान्सप्लान्ट (एफएमटी) पनि भनिन्छ ।
३१ वर्षिय क्लाउडिया क्याम्पनेला बेलायतको एक विश्वविद्यालयमा ‘स्टुडेन्ट सर्पोर्ट एड्मिन्ष्ट्रेटर’का रुपमा काम गर्छिन् । तर उनी पार्ट टाइम मल दाता पनि हुन् । बेलायती अनुसन्धाताहरुले ग्यास्ट्रोइन्टेरोलोजीसम्बन्धी एक अनुसन्धानमा मानव मलको प्रयोगबारे अध्ययन गरिरहेका छन् । क्लाउडिया यो अध्ययनमा संलग्न छिन् ।
केही मानिसको मलमा आन्द्रा सुन्निने रोग (इन्फ्लेमेटरी बाउल डिजिज)लगायत आन्द्रामा लाग्ने विभिन्न खाले रोगको उपचार गर्न सक्ने ब्याक्टेरियाहरुको उत्तम मिश्रण हुन्छ भन्ने वैज्ञानिकहरु विश्वास गर्छन् । यस्ता दातालाई ‘सुपर पु डोनर’ भनिन्छ । शाकाहारी भोजन गर्नेहरुमा ‘सुपर पु डोनर’ हुने उत्तम गुण हुन्छ भन्ने क्लाउडियाले कतै पढेकी थिइन् । उनी आफैं पनि शाकाहारी थिइन् । त्यसैले उनले पनि मल दाता बन्ने निर्णय गरेकी हुन् ।
‘मेरा केही साथीहरु यो अलि अनौठो र घृणित काम हो भन्ने सोच्छन्, तर मलाई यसको चिन्ता छैन, यो अति सजिलो छ र म मेडिकल अनुसन्धानलाई सघाउन मात्रै चाहन्छु,’ क्लाउडिया भन्छिन् । तर अन्य आहार खाने मानिसको तुलनामा शाकाहारी मानिसको दिशाको गुणस्तर राम्रो हुन्छ भन्ने प्रमाण भने भेटिएको छैन ।
मानिसको दिशामा जति धेरै विविधतापूर्ण सूक्ष्म किटाणुहरू पाइन्छ त्यति नै मात्रामा त्यस्तो दिसा बिरामीका लागि फाइदाजनक हुन्छ । दिशालाई ‘सुपर पु’ को स्तरमा कसरी ल्याउन सकिन्छ र यो कसरी निर्धारित हुन्छ भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । यो कुरा पत्ता लाग्यो भने स्टुल ट्रान्सप्लान्टको सफलता धेरै हदसम्म सुधार्न सकिने युनिभर्सिटी अफ अकल्याण्डका मोलिक्युलर बायोलोजी विज्ञ डा. जष्टिन ओ‘सुलिभान बताउँछन् । यसलाई अल्जाइमर्स, दमलगायत रोगका बिरामीमा पनि परीक्षण गर्न सकिने उनको भनाइ छ ।
यस्तो उपचार प्रणालीको सफलताले मानिसहरूमा दिशा वा मानवमल र मानवमल दानको विषयमा विद्यमान घिन वा वितृष्णाको भावनालाई हटाउन मद्दत मिल्ने विज्ञहरु बताउँछन् । हरेक व्यक्तिको आन्द्रामा फरक फरक खालका लाखौं ब्याक्टेरिया (बग) हुन्छन् । आन्द्रामा यि ब्याक्टेरियाहरु समूह जस्तै गरेर बस्छन् । एउटा व्यक्ति र अर्कोे व्यक्तिको आन्द्रामा हुने यस्ता ब्याक्टेरियाहरुको समूह विल्कुल फरक हुन्छ, कसैसँग पनि मिल्दैन ।
कसरी गरिन्छ स्टुल ट्रान्सप्लान्ट ?
यसमा एक व्यक्तिको शरीरबाट निस्किएको मललाई दोस्रो व्यक्तिको कोलोनमा राखिन्छ । (कोलोन भनेको हामीले खाएर बाँकी रहेको ठोस पदार्थ शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने पाचन प्रणालीका अन्तिम हिस्सा हो ।) बिरामीको पेटमा पाइने ब्याक्टेरियाको सन्तुलन बिग्रिएपछि यस्तो गरिन्छ ।
यसरी गरिएको स्टुल ट्रान्सप्लान्टले बिरामीको पेटमा ब्याक्टेरियालाई सन्तुलित बनाउने काम गर्छ । यस्तो ट्रान्सप्लान्टले कति लामो समयसम्म काम गर्छ भनेर चाँहि निश्चित छैन । स्टुल ट्रान्सप्लान्ट मेडिशनको क्षेत्रमा अलि नयाँ प्रयोग हो । सामान्य अंग दाता जस्तै गरी उपयुक्त मल दाता भेटिन भने निकै कठिन छ । एजेन्सी