भदौ २५, रोम (इटली) । इटलीले सन् २०१३ को दोस्रो त्रैमासको आर्थिक वृद्धिदर कटौती गरेको छ । त्यहाँको तथ्याङ्क कार्यालय आइष्ट्याटद्वारा जारी विज्ञप्तिअनुसार अप्रिल–जुन अवधिमा अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशत खुम्चिएको छ । यसअघिको प्रारम्भिक गणनामा यो दर शून्य दशमलव ३ प्रतिशत रहेको हुन सक्ने बताइएको थियो । त्यस्तै, गत १२ महीनाको तुलनामा त्यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)समेत २ दशमलव १ प्रतिशतले खुम्चिएको छ । यो अर्थविद्हरूको पूर्वानुमानको तुलनामा बढी हो । अर्थविद्हरूले सो अवधिमा जीडीपी २ प्रतिशतले मात्र खुम्चिने बताएका थिए ।
इटलीको अर्थतन्त्र लगातार २ वर्षदेखि मन्दीग्रस्त छ । सन् २०१३ मा अर्थतन्त्र १ दशमलव ४ प्रतिशतले खुम्चिने प्रक्षेपणकै बीच यो वर्षको अन्त्यतिर अर्थतन्त्रमा झिनो सुधार देखिने त्यहाँका अधिकारीहरूले जिकीर गरेका थिए । यसैबीच, पछिल्लो समय प्रकाशित विभिन्न सूचकले इटलीको अर्थतन्त्रमा क्रमिक सुधार देखाएको त्यहाँको केन्द्रीय बैङ्क ‘बैङ्क अफ इटली’का गभर्नर इग्नाजियो भिस्कोले मङ्गलवार भाषणकै क्रममा बताएका छन् । इटलीको उत्पादन क्षेत्रमा आएको कमी आगामी केही महीनामा हटे पनि सम्भावित राजनीतिक अस्थिरताप्रति लगानीकर्ताहरूको बढ्दो चिन्ता आर्थिक पुनर्बहालीको बाटोमा बाधक बन्न सक्ने उनको चेतावनी छ । एजेन्सी