ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भ्रष्टाचार वरियतामा नेपालको स्थान खस्कियो

Jan 30, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । विगत एक वर्षमा नेपालमा भ्रष्टाचार घटेकै छैन । भ्रष्टाचार विरोधी अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘करप्शन पर्सेप्शन्स इन्डेक्स (सीपीआई) २०१८’ शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा सीपीआई सूचकाङ्कमा ३१ अंक सहित नेपाल भ्रष्ट देशहरुको सूचिमा विश्वको १ सय २४ औं स्थानमा रहेको छ । यो गत वर्षको तुलनामा २ स्थान कम हो । सूचकांकमा भने कुनै पनि परिवर्तन आएको छैन । गत वर्षको प्रतिवेदनमा पनि नेपालले सीपीआई सूचकांकमा ३१ अंक नै पाएको थियो । तर त्यति बेला नेपाल सूचिको १ सय २२ औं स्थानमा थियो । ४० भन्दा कम अंक ल्याउने देशलाई ट्रान्सपरेन्सी इन्टरनेशनलले उच्च भ्रष्टाचार हुने देश मान्दछ । त्यसैले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टचार सूचकाङ्क यथावत् रहेपनि स्थिति सन्तोष मान्ने खालको भने छैन । ३१÷३१ अंकसहित सूचिको १ सय २४ औं स्थानमा गत वर्ष झैं यस वर्ष पनि नेपालसँग जिबुटी र काजगिस्तान पनि छन् । तर गत वर्ष नेपालसँगै एउटै वरियतामा रहेका मोल्डोभा र लाइबेरियाको भ्रष्टाचारमा आएको कमीका कारण यी देशले नेपाललाई उछिनेका छन् । त्यसैले यस वर्षको प्रतिवेदनमा नेपालको स्थान खस्किएको हो । गत वर्षको तुलनामा यस वर्ष मोल्डोभाको सीपीआई सूचकांक २ अंकले बढेको छ भने वरियतामा ५ स्थान माथि आएको छ । लाइबेरियाको सीपीआई सूचकांक भने १ अंक बढ्दा वरियता २ स्थान बढेको छ । दक्षिण एशियाली देशमध्ये भ्रष्टाचार सबैभन्दा कम पाइएको देश भुटान हो । ६८ अङ्कसहित भुटान सूचिको २५ औं स्थानमा रहेको छ । त्यस्तैगरी, अफगानिस्तान दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्टाचारयुक्त देश बनेको छ । यद्यपि, गत वर्षको तुलनामा त्यहाँ यस वर्ष भ्रष्टाचार घटेको छ । यस पटक १६ अंकसहित सूचिको १ सय ७२ औं स्थानमा छ । सूचिमा भारत, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स, र बङ्गलादेश क्रमशः ७८, ८९, ११७, १२४ र १४९ औं स्थानमा छन् । ३९ अंकसहित गत वर्षको तुलनामा १० स्थान तल झर्दै चीन सूचिको ८७ औं स्थानमा झरेको छ । सीपीआई प्रतिवेदनअनुसार भ्रष्टाचार कम हुने देशको सूचिमा यस वर्ष न्यूजिल्याण्डलाई उछिनेर डेनमार्क सबैभन्दा माथि पुगेको छ । ८८ अंकसहित डेनमार्क शीर्ष स्थानमा रहँदा ८७ अंकसहित न्यूजिल्याण्ड भने दोस्रो स्थानमा छ । ८५/८५ अंकसहित फिनल्याण्ड, सिंगापुर, स्वीडेन र स्वीटजरल्याण्ड तेस्रो स्थानमा छन् । शीर्ष १० को बाँकी स्थानमा भने नर्वे, नेदरल्याण्ड, क्यानडा र लक्जेम्बर्ग छन् । सबैभन्दा चरम भ्रष्टाचार सोमालियामा पाइएको छ । १ सय ८० देश सूचिकृत सीपीआई सूचकाङ्कमा १० अंकसहित सोमालिया सबैभन्दा पुछारमा छ । सिरिया र दक्षिण सुडान १ सय ७८ औं स्थानमा छन् । यमन, उत्तर कोरिया, सुडान पनि भ्रष्ट देशको सूचिमा अगाडि नै छन् । भ्रष्टाचार सूचकाङ्कमा राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँचलगायत केही मापदण्डका आधारमा देशलाई शून्य देखि १ सय अंक दिइएको छ । कुनै देशले शून्य वा एक अंक पाउनुको अर्थ हुन्छ त्यहाँ भ्रष्टाचार चरम छ । १ सय वा सो नजिकको अंक पाउने देशमा भने भ्रष्टाचार सबैभन्दा कम छ भन्ने बुझिन्छ । यो वर्ष पनि दुई तिहाईभन्दा धेरै देशले ५० भन्दा कम नै अंक पाएका छन् । निरन्तर धेरैजरसो देशहरुले भ्रष्टाचार नियन्त्रणमा चुक्नाले विश्वभर प्रजातन्त्रमा संकट उत्पन्न भएको प्रतिवेदनले औल्याएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)