ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लौ न के गरौं ?

Feb 1, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
भ्रष्टाचारमा देशले प्रत्येक वर्ष प्रगति गर्दै गैरहेको कुरा अब सामान्य ज्ञान भैसक्यो । त्यसकारण छेउ टुप्पो समाउन नसकिने यो भ्रष्टाचारको कुरा गर्नुको कुनै अर्थ छैन । त्यै भएर होला, अहिले सरकारले भ्रष्टाचारको कुरा गर्न छाडेर समृद्ध नेपाल र सुखी नेपालीको नारा जोडतोडले लगाउने गरेको छ । तर यसको मतलब सबै नेपाली सुखी र समृद्ध हुन्छन् भनेर सरकारले भनेको चाहिँ होइन है । अब कसरी हुने त सुखी र समृद्ध ? सबै नेपाली सुखी र स्वस्थ हुने हो भने सबैले ध्यान, योग गर्नुपर्छ । त्यसरी सुखी र स्वस्थ भएपछि समृद्धि त आफै आइहाल्छ । अझ साँच्चै राम्रैैसँग समृद्ध हुने हो भने चाहिँ पहिलेमा डनगिरी गर्ने अनि पछि सांसद बन्नुपर्छ । अनि त्यसपछि आउँछ भनेजस्तो समृद्धि । नत्र त्यसै समृद्धि आउँदैन । त्यसैले सरकारले भनेको कुरा पहिले राम्ररी सुन्नुस्, मनमा गुन्नुस् । अनि सोही अनुसार ‘एक्शन’मा कुद्नुस्, त्यसपछि तपैंकहाँ समृद्धि आफै हाम्फाल्दै आइपुगिहाल्छ ।
मन्त्री, राजदूत पनि कस्ता कस्ता ? कोही बेमौसमी बादलजसरी समय कुसमय गर्जने, डेरी उद्योगहरूमा रात बिरात आफै छापा मार्दै हिँड्ने । कोही राजदूत बनेर लक्की बनेको छोटो समयमै फेरि अनलक्की हुने काम गर्ने । किनकि हिजोआजका मानिसमा अभाव छ बुद्धि र विवेकको ।
अहिलेको सरकार देश विकासको एजेन्डा लिएरै सत्तामा आएको हो । तर यस्तो भइदियो कि सत्तामा पुग्ने बित्तिकै एजेन्डाहरूको विकासमा पो लाग्नुपर्ने बाध्यतामा सरकार पुग्यो । कहिले स्वास्थ्य विधेयक, कहिले शिक्षा, कहिले के । अनि के गर्ने ? तर विकासै नभएको त होइन । जस्तै– खेलकुदमा । खासगरी क्रिकेटमा खेलाडीहरूले एक से एक अन्तरराष्ट्रिय प्रतियोगिता जितिरहेकै छन् । त्यस्तै संसदमा पनि कुस्ती, मुक्केबाजीमा दिन प्रतिदिन प्रगति हुँदै गइरहेको छ । त्यसैले अहिले बहस हुनुपर्ने चाहिँ अभाव र गरीबीको रेखामुनिका विषयमा थियो । तर समय नै यस्तो आयो कि, रेखाको गरीबीमा पो बहस केन्द्रित हुन थालेको छ । बहस हुनुपर्थ्यो देशमा कहाँ कहाँ कसरी लगानी गर्ने भन्ने विषयमा । तर बहस अहिले बैंकहरूमा लगानीयोग्य पूँजीको अभावको विषयमा भइरहेको छ । बैंकहरू १ रुपैयाँमा पनि खाता खोल्दिने गर्छन् । अनि बैंकमा पैसा जम्मा हुन्छ कसरी ? अनि तरलता आउँछ कसरी ? यता डा. केसीको समर्थनमा जुलुसहरूको पनि अभाव खट्कन थाल्यो रे । किनकि ट्विटेहरूले जुलुस पनि कम्प्युटर र मोबाइलमै गर्न थालेछन् । हुन पनि दर्शनको विषय प्रदर्शन भयो भने हुन्छ के ? तर यहाँ यस्तै भैरहेछ । प्रदर्शन गर्न देश सुन्दर त छ । तर भित्र भ्रष्टाचार, अव्यवस्थारूपी फोहोर छन् । त्यस्तै देश राम्रो भए पनि शहर र गाउँ भने विभिन्न फोहोरले प्रदूषित छन् । ‘अनुहार हेरिँदैन, भ्रष्टाचार गर्नेलाई छाडिन्न’ भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो । तर के गर्नु ? नेताहरूले ऐना हेर्दैनन् जस्तो छ । स्थिति यस्तो छ कि शारीरिक र मानसिक दुवै रूपमा अस्वस्थ व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री, राजदूत बनाउनु पर्ने परिस्थिति छ । चाणक्य बन्नुपर्नेहरू चाण्डाल बनिदिएपछि के गर्ने ? मन्त्री, राजदूत पनि कस्ता कस्ता ? कोही बेमौसमी बादलजसरी समय कुसमय गर्जने, केही उद्योगहरूमा रात बिरात आफै छापा मार्दै हिँड्ने । कोही राजदूत बनेर लक्की बनेको छोटो समयमै फेरि अनलक्की हुने काम गर्ने । किनकि हिजोआजका मानिसमा अभाव छ बुद्धि र विवेकको । विवेक त जताततै बन्धकमा छ । तर अलिअलि बुद्धि भएका टाउकोजीवीहरू अर्थात् बुद्धिजीवीहरू अमेरिका, यूरोप लागे । हातखुट्टाजीवी अर्थात् मजदूरी गर्नेहरू खाडी मलेशियातिर लागे । देशभित्र बचेखुचेका प्रायः कुनै न कुनै दलको झन्डामुनि छन् । हुन पनि दिल्ली जानभन्दा दैलेख पुग्न महँगो र टाढा हुने स्थिति सृजना भएपछि हुन्छ के ? देशमा इमानबाहेक सबै कुराको भाउ बढेको छ । डिग्रीभन्दा अनुभव ठूलो हुन्छ भन्छन् । तर नेपालीले विदेशमा सिकेको शीप र अनुभव देशले लिन सकेको छैन । गाउँमा हाटबजार चलाएजसरी लगानी मेला गर्दैमा विदेशीहरू नेपालमा लगानी गर्न लाइन लागेर आउँदैनन् । त्यसका लागि कानून, पूर्वाधार प्रक्रियामा सुधारका साथै नेता र कर्मचारीमा लगानीमैत्री व्यवहार चाहिन्छ । यी आधारभूत कुरा नभएपछि देशमा लगानी कसरी आउँछ ? लगानी नभएपछि विकासले गति कसरी समात्न सक्छ र ? रेलको लिक पछि लगाउँदै गरौंला, अहिले रेल चैं ल्याएर देशलाई गति दिनुपर्छ भन्ने खालका सुझाव दिने सल्लाहकारहरू र विदेशी एजेन्टको बिगबिगी भएपछि यस्तै बिजोग हुँदो रैछ । यस्ता कुरामा केही लेखौं, केही बोलौं त सरकारविरोधी कित्ताको ठहरिने, नबोलौं मन मान्दैन । लौ न के गरौं ? ‘राइट टु रिकल’ नभएपछि ५ वर्षसम्म त झेल्नै पर्ला जस्तो पो देखियो त !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)