ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइडबडी विमान फागुनदेखि जापान उडान

Feb 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले फागुनभित्रै जापानको ओशाकामा उडान गर्ने भएको छ । उडानका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाइसकेको छ भने जापानबाट अपरेटिङ पर्मिटको प्रतीक्षामा छ । क्यानबाट एओसी आइसकेकाले जापानबाट अपरेटिङ पर्मिटका पाउनासाथ नयाँ वाइडबडी विमानमार्फत ओशाका उडान शुरू गरिने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आर्थिक अभियानलाई बताए । उनले भने, ‘जापानको लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै तयारी पूरा भइसकेको छ । यो हप्ताभित्रै पर्मिट पाउने आशा छ । त्यसलगत्तै निगमले काठमाडौंबाट ओसाका उडान थाल्नेछ ।’ निगमले ओशाकापछि जापानकै नारितामा पनि उडानको तयारी गरेको उनले बताए । ‘ओशाकामा हप्तामा तीनओटा उडान गर्ने योजना छ नारिता पनि तयार भएपछि ओशाका दुई र नारिता दुई गरी हप्तामा चारओटा उडान गर्ने निगमको योजना छ,’ खरेलले बताए । काठमाडौं –ओशाका उडान समय करीब ८ घण्टाको हुनेछ । ओशाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । जापानको ओशाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः सञ्चालन गर्नेबारे निगमका कार्यकारी अध्यक्ष मदन खरेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल र ओशाका विमानस्थलको एशिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउले नेतृत्वको प्रतिनिधिमण्डलबीच मङ्सिर १७ गते काठमाडौंमा छलफल भएको थियो । निगमले चैतसम्ममा चीनको क्वाङ्चाउ र शाङ्घाईमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । चीनको हकमा पनि धेरै काम सकिसकेकोले केही प्रक्रियागत काम सकिनासाथ अनुमति पाइने निगमको आशा छ । उनले भने, ‘जापान र चीनपछि दक्षिण कोरियाको सिओल र इजरायल राम्रो बजार हो । तर एकैपटक सबैतिर गर्छु भन्दा चुनौती थपिने भएकाले यात्रु चापका आधारमा नयाँ योजना बनाउने निगमको योजना छ ।’ साउदी उडानका लागि प्राविधिक समस्या नभए पनि पर्यटकीय दृष्टिकोणले अरब मुलुकभन्दा इजरायल, कोरिया उपयुक्त हुनसक्ने भएकाले साउदीलाई तत्काल योजनामा नराखेको उनले बताए । निगमले करीब ८ महीनाअघि दुईओटा वाइड बडी विमान खरीद गरेको थियो । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर र मुम्बई, मलेशियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, चीनको हङकङ, संयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहामा उडान गर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटा वाइड बडी ए–३३० विमान, दुई न्यारो बडी ए–३२० विमान र एक बोइङ ७५७ गरी पाँचओटा विमान छन् । अहिले निगमको अन्तरराष्ट्रिय बजार अंश करीब १२ प्रतिशत रहेको छ भने जापानको नयाँ गन्तव्यमा उडान शुरू भएपछि बजार अंश करीब १८ प्रतिशत पुग्ने निगमको अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)