काठमाडौं । नेपालमा कुल ३ हजार मेगावाट (मेवा) वायु ऊर्जा उत्पादन गर्न सकिने प्रारम्भिक तथ्यांक देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले वायु ऊर्जा उत्पादनका लागि देशका २१ स्थानमा गरेको मापनबाट उक्त परिमाणमा विद्युत् निकाल्न सकिने निष्कर्ष आएको हो । त्यसमध्ये कैलाली, जुम्ला र मुस्ताङबाट १/१ मेवा वायु ऊर्जा उत्पादन गर्न सकिने एईपीसीले जानकारी दिएको छ ।
एईपीसीले सन् २००८ मा सञ्चालन गरेको ‘सोलार एन्ड विन्ड इनर्जी रिसोर्स एसेस्मेन्ट’ (स्वेरा) र सन् २०१६ मा सञ्चालन गरेको इनर्जी सेक्टर म्यानेजमेन्ट असिस्टेन्ट प्रोग्राम’ (एसम्याप) परियोजनाबाट वायु ऊर्जाको तथ्यांक संकलन गरेको हो । नेपालमा रहेको वायुको बहावलाई ऊर्जामा परिणत गर्ने हो भने वायु ऊर्जाको अंश यहाँ उत्पादन हुने कुल विद्युत्को उल्लेख्य अंश हुने एईपीसीको दाबी छ । एशियाली विकास बैंक तथा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा एईपीसीले सन् २०१५ देखि वायु ऊर्जाको तथ्यांक संकलन गर्दै आएको छ । यसबाट ठूलो परिमाणमा वायु ऊर्जा उत्पादनको सम्भाव्यता खोजी भइरहेको एईपीसीले बताएको छ ।
वायु ऊर्जाको तथ्यांक संकलन गर्ने एईपीसी एकमात्र निकाय हो । तथापि निजीक्षेत्रका केही कम्पनी र केही अनुसन्धानकर्ताले पनि विभिन्न स्थानमा उपकरण जडान गरी वायु ऊर्जाको तथ्यांक निकाल्ने प्रयास गरिरहेका छन् । निजीक्षेत्रकै ‘विन्ड पावर नेपाल’ संस्थाले केही महीनादेखि मुस्ताङको छुसाङमा वायु ऊर्जा उत्पादनको तथ्यांकका लागि उपकरण जडान गरेको छ ।
तथ्यांक अभावका कारण वायु ऊर्जा परियोजनामा लगानी जुट्न नसकेको सो कम्पनीका सिनियर रिन्यूएबल इनर्जी अफिसर हार्दिक पोखरेल बताउँछन् ।
वायु ऊर्जाबाट ५ सय २५ घर लाभान्वित एईपीसीले ससाना एकाइमा उत्पादन हुने गरी जडान गरेका वायु ऊर्जा प्रविधिबाट हालसम्म कुल ३० किलोवाट (किवा) भन्दा बढी विद्युत् उत्पादन भइरहेको छ ।
देशका विभिन्न स्थानमा जडित ती प्रविधिबाट ५ सय २५ घर परिवारले विद्युत् प्राप्त गरिरहेको एईपीसीले जानकारी दिएको छ ।
वायु सौर्य हाइब्रिड प्रणाली
एईपीसीले वायु सौर्य हाइब्रिड प्रणालीको प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । देशका विभिन्न १० स्थानमा जडान भएका यस्ता हाइब्रिडको कुल विद्युत् उत्पादन क्षमता ३ सय ३४ किवा छ भने यसमा १ सय ५८ किवा वायु ऊर्जाको अंश रहेको छ । यसैगरी कुल विद्युत् उत्पादन क्षमता ५ सय ९० किवाको हाइब्रिड प्रणाली जडानको क्रममा रहेको छ ।
वायुको बहाव एकनाश नहुने तथा सूर्यको किरण पनि एकनास नरहने हुँदा विद्युत् उत्पादनमा हुने तलमाथिलाई घटाउन दुई प्रविधिको संयोजनबाट वायु सौर्य हाइब्रिड प्रणालीको अवधारणा विकास भएको हो ।
अरविन्दकुमार मिश्र, ऊर्जाविज्ञ
ऊर्जाका लागि धेरै लामो खुला ठाउँ हुँदै आएको वायु उपयुक्त हुने हुँदा त्यस्तो ठाउँ कहाँकहाँ छन् विस्तृत तथ्यांक आउन बाँकी नै छ । वायुको बहाव ५ मिटर प्रति सेकेन्डदेखि १० मिटर प्रति सेकेन्डसम्म रहेको स्थानमा वायु ऊर्जा उत्पादन गर्दा उपयुक्त हुन्छ । त्योभन्दा कममा ऊर्जा निकाल्न खोजियो भने लागत बढ्न जान्छ र प्रभावकारी पनि हुँदैन । त्यसैगरी १२ मिटर प्रति सेकेन्डभन्दा बढी गति रहेको वायुबाट विद्युत् निकाल्न पनि जटिल हुन्छ । तर, त्यसको समाधानका लागि भने प्रविधि आइ पनि सकेको छ । तथ्यांक जति छिटो आउन सक्यो त्यति नै छिटो यो प्रविधिबाट ऊर्जा उत्पादनले गति लिन्छ ।