ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसरी लिन सकिन्छ हायर पर्चेज कर्जा

Feb 5, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । तपाईं कुनै पेशा वा व्यवसायमा आबद्ध हुनुहुन्छ, तर सवारीसाधन, मेशिन, औजार लगायत जुटाउन पूँजीको अभाव छ भने अब हायर पर्चेज कर्जा दिने संस्थाबाट किस्तामा यस्तो आवश्यकता पूरा गर्न सक्नुहुन्छ । यसअघि कृषि, औद्योगिक र व्यावसायिक प्रयोजनका लागि मात्र कम्पनी वा संस्थाले सवारीसाधन, मेशिनरी औजार, उपकरण खरीदमा यस्तो कर्जा उपयोग गर्न पाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेपछि निजी प्रयोजनका लागि समेत आयस्रोत हुनेले हायर पर्चेज कर्जा लिन पाउने भएका हुन् । कुनै पनि व्यक्तिले निजी प्रयोजनका तोकिएको मापदण्ड पूरा गरी यस्तो कर्जा लिन पाउने जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट कम्पनीका व्यवसाय प्रमुख दिनेशराज पाण्डेले बताए । नेपालमा औपचारिक रूपमा बैंक तथा वित्तीय संस्थाबाहेक निजी कम्पनीले समेत हायर पर्चेज कर्जा दिँदै आएको ४ वर्ष भइसकेको नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक नरेन्द्र विष्टले बताए । यसअघि यस्तो कारोबार भएको केन्द्रीय बैंकको जानकारीमा नआएको उनको भनाइ छ । हायर पर्चेज कर्जा प्रवाहका लागि पहिलोपटक ओम्नी प्रालिले केन्द्रीय बैंकबाट २०७१ वैशाख २४ गते स्वीकृति पाएको थियो । यसपछि हुलास इन्भेस्टमेन्ट, सिप्रदी, एमएडब्ल्यू इन्भेस्टमेन्ट, बतास हायर पर्चेज, स्याकार इन्भेस्टमेन्ट र जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालि सञ्चालनमा आएका छन् । पछिल्लोपटक हायर पर्चेज कर्जा प्रवाहको स्वीकृति पाएको जगदम्बा क्रेडिटले २ वर्षको अवधिमा करीब ५ हजार जनालाई १ अर्ब ५० करोड रुपैयाँ बराबर यस्तो प्रवाह गरेको पाण्डेले जानकारी दिए । उनका अनुसार यो कर्जा भने यसअघिको व्यवस्था अनुसार व्यावसायिक प्रयोजनका लागि मात्र दिइएको हो । ‘अब भने किस्ता तिर्ने आयस्रोत भए निजी प्रयोजनका लागि समेत यस्तो कर्जा दिन्छौं,’ उनले भने, ‘तिर्न सक्ने क्षमता हेरेर मोटरसाइकलदेखि कृषि औजार र औद्योगिक उपकरण खरीद गर्न चाहने सबैले पाउँछन् ।’ जगदम्बाले अहिले पनि दुईपांग्रे सवारीदेखि ठूला सवारीसाधन खरीदका लागि कर्जा प्रवाह गरिरहेको छ । संस्थाले अहिले निर्माण व्यवसायका लागि ‘केस’ ब्रान्डको ब्याकहो लोडर उपकरण यस्तो कर्जामार्फत विक्री गरिरहेको पाण्डेले बताए । यसैगरी गोल्छा अर्गनाइजेशनको संस्थागत लगानी भएको कम्पनी हुलास इन्भेस्टमेन्ट प्रालिले पनि यो सुविधा दिन थालेको छ । गोल्छा अर्गनाइजेशनका विभिन्न विभागबाट उत्पादित सामग्री किन्न इच्छुक ग्राहकलाई कम्पनीले हायर पर्चेज कर्जाको सुविधा दिँदै आएको छ । किस्ता बुझाउन सक्षम र आयस्रोत भएका जुनसुकै व्यवसायमा आबद्ध सर्वसाधारणले हायर पर्चेज कर्जा लिन पाउँछन् । नेपाल राष्ट्र बैंकमा दर्ता भएका हायर पर्चेज कर्जा प्रवाह गर्ने सातओटा कम्पनीमार्फत यो सुविधा लिन सकिनेछ । पाण्डेका अनुसार यस्तो कर्जा दिनुअघि संस्थाले ऋणीको व्यवसाय तथा आम्दानीको अवस्था, भविष्यमा गर्दै जाने व्यवसायको थप जानकारी दिँदै जानुपर्ने, आवश्यक कागजात पेश गर्नुपर्र्ने लगायत शर्त पूरा गरेपछि संस्थालाई उपयुक्त लागेमा कर्जा प्रवाह गरिन्छ । यस्ता संस्थाले बैंकबाट कर्जा लिएर पुनर्कर्जा प्रवाह गर्छन् । उनीहरूले कर्जा सुविधामार्फत मेशिनरी उपकरण, सवारीसाधन लगायत आफ्ना उत्पादन तथा विभिन्न ब्रान्डका उत्पादन डिलरको रूपमा रहेर ऋणीलाई विक्री गर्ने गर्दछन् । बैंक र यस्तो संस्थाबीच कर्जा लेनदेनको करार हुन्छ । बैंकबाट ल्याएको कर्जाको ब्याजदरमा यस्तो संस्थाले अब ३ प्रतिशतमात्र ब्याजदर अन्तर (स्प्रेडदर) राखेर कर्जा प्रवाह गर्नुपर्नेछ । यसअघि यस्ता संस्थाले ३ दशमलव ५ प्रतिशत ब्याजदर अन्तर राखी कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’मा दोस्रो संशोधन गर्दै यस्तो ब्याजदर शून्य दशमलव ५ प्रतिशत घटाएको हो । के हो हायर पर्चेज कर्जा ? कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सवारीसाधन, मेशिनरी औजार, उपकरण खरीद गर्न यस्तो कर्जा पाउँछन् । यसरी किनिएको वस्तु कर्जादाताको नाममा हुन्छ र ऋणीले प्रयोग गर्छन् । त्यसको मूल्य किस्ताबन्दीमा तिर्दै गएर तोकिएको अवधि पूरा भएपछि ऋणीकै नाममा नामसारी हुन्छ । कम्पनीमार्फत हायर पर्चेज कर्जा लिँदा निवेदक र ग्यारेन्टी बस्ने व्यक्तिको तर्फबाट जुटाउनुपर्ने मुख्य कागजपत्र
  • नागरिकताको फोटोकपी
  • पासपोर्ट आकारको दुईओटा तस्वीर
  • आम्दानीको स्रोतको विवरण (आफ्नै वा आफ्नो परिवारको कुनै सदस्यसँग ग्यारेन्टी दिने व्यक्ति)
  • घरायसी प्रमाणका कागजात (उपयोगिता बिल, लालपुर्जाको प्रतिलिपि, अन्य)
  • लालपुर्जाको प्रतिलिपि (आफ्नै नाममा दर्ता गरिएको)
  • मिति ननाघेको ड्राइभिङ लाइसेन्स (आफ्नै वा कुनै व्यक्ति ग्यारेन्टी बसेर घरको कुनै सदस्यको ड्राइभिङ लाइसेन्स)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)