विद्युत् चुहावट १०.३३ प्रतिशत विन्दुले घट्यो : ७५ प्रतिशत प्रगति हासिल
Feb 7, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएर आएयता विद्युत् चुहावट १० दशमलव ३३ प्रतिशत विन्दुले घटेको छ । चुहावट नियन्त्रणका हिसावले यो करीब ७५ प्रतिशतको प्रगति हो । सो अवधिमा व्यवस्थापकीय सुधार र चुहावट नियन्त्रण मार्पmत प्राधिकरणले वार्षिक करीब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्न सफल भएको छ ।
घिसिङ २०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा विद्युत् चुहावट औसतमा २५ दशमलव ७८ प्रतिशत थियो । जुन चालू आवको ५ महीनामा आइपुग्दा १५ दशमलव ४५ प्रतिशतमा सीमित भएको घिसिङले जानकारी दिए । यसरी यस बीचमा १० दशमलव ३३ प्रतिशत विन्दुले फरक आएको हो ।
विद्युत् चुहावटमा प्राविधिक र गैरप्राविधिक गरी दुई प्रकारका चुहावट हुन्छन् । सामान्यतया विद्युत् उत्पादन स्थलबाट उपभोक्तासम्म पुग्दा हुने नोक्सान (प्राविधिक चुहावट) १२ प्रतिशतको हाराहारीमा हुने मान्यता छ । त्यस्तो प्राविधिक चुवावट सहजै नियन्त्रण गर्न कठिन हुने विज्ञहरू बताउँछन् । २ वर्षअघिको कुल २५ दशमलव ७८ प्रतिशतमा पनि प्राविधिक चुहावट समावेश नै थियो । त्यसैले प्राविधिक चुहावटको अंश छुट्ट्याउँदा नियन्त्रण गर्न सकिने चुहावट १३ दशमलव ७८ प्रतिशत मात्र हो । सोको १० दशमलव ३३ प्रतिशत भनेको करीब ७५ प्रतिशत प्रगति हो, जसलाई उल्लेख्य नै मान्नुपर्ने विज्ञको भनाइ छ ।
आगामी दिनमा चुवाहट अझै कम गर्ने गरी काम भइरहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । चालू आवमा विद्युत् चुहावट १८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कम चुहावट नियन्त्रणको लक्ष्य दिएको छ । ‘चुहावट नियन्त्रण कार्यमा विशेषगरी वितरण तथा ग्राहक सेवा अन्तर्गतका दिनरात नभनी खटिएका कर्मचारी साथीहरूको भूमिका महत्त्वपूर्ण छ,’ कामको सराहना गर्दै घिसिङले भने, ‘नियन्त्रणका लागि खटिँदा हाम्रा कर्मचारीले पिटाइ समेत खाएका छन् ।’ प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसूल बक्यौता असुलीमा कडाइ जस्ता कार्यक्रम अभियानकै रूपमा चलाइरहेको छ ।
त्यसैगरी, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको सुदृढीकरण गर्ने र नयाँ बनाउने लगायत काम भइरहेको छ । प्राधिकरणले २ वर्षमा ५ हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी १ वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखी काम गरिरहेको घिसिङले जानकारी दिए । यस बीचमा प्राधिकरणले करीब १ हजार २ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेशनको क्षमता थप गरेको छ । त्यसैगरी, प्रसारण लाइनतर्फ ६ सय सर्किट किलोमिटर र वितरणतर्फ करीब ८ हजार किलोमिटर थप गरिएको छ ।
यसैगरी, सुकुमवासीलाई पनि सहज रूपमा मिटर दिने, स्थानीय तहको सिफारिश विना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण समेत भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।