ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शाखा बढाउने शेयर ब्रोकरको तयारी : दीर्घकालीन व्यावसायिक आधार बनाउने रणनीति

Feb 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । शेयरबजारमा कारोबार कम भई व्यापार घटिरहेको अवस्थामा ब्रोकर कम्पनीहरू शाखा विस्तारको तयारीमा जुटेका छन् । पहिला सञ्चालित अधिकांश शाखाहरू नै घाटामा चलिरहेको गुनासो गर्दै आएका ब्रोकरबाट नयाँ शाखा विस्तार भने रणनीतिक कदम भएकोे बुझिएको छ । वाणिज्य बैंकहरूले पनि सहायक कम्पनी मार्फत शेयर ब्रोकरिङको काम गर्ने सम्भावना बढेपछि शेयर ब्रोकर कम्पनीहरू व्यावसायिक आधार विस्तारमा जुटेका हुन् । राजधानी केन्द्रित शेयरबजार विस्तारका लागि नेपाल धितोपत्र बोर्डले पहल गरिरहेको अवस्थामा उत्पयकामै सोचे अनुसार शेयर व्यापार हुन नसकेको ब्रोकरहरूको भनाइ छ । अहिले काठमाडौंका केन्द्रीय कार्यालय सहित देशभर १३ जिल्लाका ४१ स्थानमा शेयर ब्रोकर कम्पनीको उपस्थिति छ । अधिकांश शाखामा सोचे अनुसारको व्यवसाय नभएको गुनासो गरे पनि आठ ब्रोकर कम्पनीले थप शाखा विस्तारका लागि अनुमति पाएका छन् । ती कम्पनीले केही दिनअघि मात्र बोर्डबाट शाखा स्थापनका लागि आवश्यक पूर्वाधार तयार गर्न अनुमति पाएका हुन् । उपत्यका केन्द्रित ब्रोकरको पहुँच देशव्यापी विस्तार गर्न बोर्डले ब्रोकरहरूलाई शाखा विस्तारको वातावरण बनाएको हो । यसका लागि धितोपत्र व्यवसायी नियमावलीलाई संशोधन गर्ने गृहकार्यमा बोर्ड रहेको छ । शेयरबजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा नियमावलीमा संशोधन गर्नुपर्ने बुँदाहरू ब्रोकरहरूले बोर्डलाई बुझाइसकेका छन् । उनीहरूले पूर्वाधारमा तय गरेका यसअघिका विषयमा बोर्डले परिमार्जन गरेर लैजानुपर्ने सुझाव राखेको जानकारी दिएका छन् । बोर्डले धितोपत्र दलाल व्यवसायीको सञ्चालन नीतिमा पुनरवलोकन गर्न, वाणिज्य बैंकको सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवसायीलाई गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था गर्न नियमावली संशोधनका लागि गृहकार्य अघि बढाइएको बताएको छ । नियमावलीमा थप व्यवस्था गरेपश्चात् मात्र धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय स्थापना कार्यलाई अझ व्यवस्थित बनाउने प्रक्रिया अघि बढाइने बोर्डको भनाइ छ । अहिलेको बजारको अवस्थामा कुनै पनि ब्रोकरका शाखाबाट सोचे अनुसारको व्यवसाय नभइरहँदा भविष्यको व्यावसायिक आधार तयार गर्न थप शाखा सञ्चालनमा लागेको ब्रोकरहरू बताउँछन् ।
राजकुमार तिमिल्सिना, कार्यकारी अध्यक्ष, भिजन सेक्युरिटिज प्रालि हामीले शुरूमै नाफा कमाउने उद्देश्य लिएर शाखा खोल्न लागेका होइनौं । अहिलेको बजारलाई हेर्दा कुनै पनि ब्रोकर कम्पनीले सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । बनेपामा शाखा सञ्चालन गरिसकेको अनुभवमा दीर्घकालीन व्यवसायको आधार बनाउन भैरहवामा शाखा सञ्चालनको पूर्वाधार तयार गर्ने क्रममा छौं । बरु नियामक निकायले शेयरबजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा पूर्वाधारका शर्तहरूमा केही परिमार्जन गरिदिए ब्रोकरहरूलाई सहज हुने थियो । बोर्डले नियमावली संशोधनका क्रममा यसतर्फ विचार गर्नेमा पनि हामी विश्वस्त छौं । सीताराम अधिकारी, व्यापार प्रमुख, इम्पेरियल सेक्युरिटिज प्रालि हामी पनि प्रादेशिक हिसाबमा शाखा विस्तार गर्ने योजनामा अघि बढेका हौं । तर, अहिलेको शेयरबजारमा भइरहेको कारोबारलाई हेर्दा मुख्य कारोबारको क्षेत्र मानिने उपत्यकामै नाफा कमाउन कठिन भइरहेका बेला शाखाबाट तत्काल नाफा हुने अपेक्षा भने छैन । तर, शेयरबजार पूर्ण अनलाइन कारोबार प्रणालीमा गइसकेको र लगानीकर्तामा वित्तीय साक्षरता बढाउँदै लैजाने उद्देश्यले सुर्खेतमा शाखा खोल्ने तयारी गरेका हांै । तत्कालै राम्रो व्यवसाय गर्न नसकेको पनि भविष्य राम्रो देखेका छौं । गुणनिधि भुसाल, प्रबन्ध निर्देशक, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज अहिले दाङमा शाखा सञ्चालनको तयारीमा छौं । बोर्डले पूर्वाधार तयार गर्न निर्देशन दिनुपूर्व गत जेठमै शाखा सञ्चालनका लागि हामीले पूर्वाधार तयार गरिसकेका थियौ । अहिले पूर्वाधारका लागि निर्धारित शर्तमा केही परिमार्जन गर्न बोर्डसँग माग गरेका छौं । अहिलेसम्म सञ्चालित ब्रोकरका ४१ शाखामध्ये अधिकांश शाखा घाटामै रहेको भए पनि पूँजीबजारमा अवश्य सुधार आई ब्रोकरहरूको व्यापारमा सकारात्मक प्रभाव पर्ने आशामा शाखा सञ्चालन गर्न लागेको हौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)