ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वाधार विकास बैंक सञ्चालन अनुमति दिने राष्ट्र बैंकको निर्णय, आइतवार हस्ताक्षर हुँदै

Feb 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

माघ २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक सञ्चालन अनुमति दिने भएको छ । यसबारे बिहीवार नै निर्णय भए पनि माइन्युट नभएकाले आइतवार बस्ने सञ्चालक समितिको बैठकले माइन्युटमा हस्ताक्षर गरी निर्देशन जारी गर्ने तयारी भएको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले बताए । ‘सो बैठक सकिए लगत्तै अनुमति दिएको निर्णय सहित सञ्चालनको लागि निर्देशन दिनेछौं,’ सहप्रवक्ता नागिलाले भने ।

पूर्वाधार आयोजना लक्षित पूँजी परिचालन तथा लगानी गर्ने उद्देश्यले यो बैंक सञ्चालन गर्न लागिएको बताइएको छ । राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापनाका लागि ‘पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीतिगत व्यवस्था, २०७४’ ल्याएर बाटो खोलिदिएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को प्रावधानका आधारमा पूर्वाधार विकास बैंक स्थापनाका लागि उक्त नीतिगत व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ । गत आवको बजेट तथा मौद्रिक नीतिमा पनि पूर्वाधार विकास बैंक स्थापना गर्ने अवधारणा ल्याइएको थियो । त्यसलाई कार्यान्वयन गर्न बाफियामा संशोधन गरिएको थियो ।

नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले पूर्वाधार विकास बैंकको न्यूनतम चुक्तापूँजी २० अर्ब रुपैयाँ तोकेको छ । उक्त व्यवस्थाअनुसार विदेशी लगानीबिना खुल्ने पूर्वाधार विकास बैंकमा संस्थापकको ५१ प्रतिशत शेयर अनिवार्य छ भने सर्वसाधारणलाई ३० प्रतिशत शेयर दिनुपर्ने छ । यसैगरी कर्मचारीका लागि शून्य दशमलव २ प्रतिशत शेयर अनिवार्य गरिएको छ ।

पूर्वाधार विकास बैंकका लागि एकाघर परिवारमा चुक्तापूँजीको १० प्रतिशतसम्म मात्र शेयर राख्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसमा नयाँ संस्था स्थापना गर्दा चुक्तापूँजीको शून्य दशमलव २ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । उक्त खर्चमध्ये ४५ प्रतिशत ब्याज आम्दानीबाट गर्नुपर्ने छ ।

पूर्वाधार विकास बैंक सञ्चालनपछिको फाईदा पूर्वाधार विकास बैंक लगानीका लागि वित्तीय साधन जुटाउने निकाय हो । हाल भएका वाणिज्य बैंकहरूले विशेष गरेर व्यापार क्षेत्रलाई हेर्दै आएको छ र कन्जुमर फाइनान्सिङका लागि वित्तीय संस्था छन् । विकास बैंकको अवधारणा विशेष गरी पूर्वाधारका लागि भएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल बताउँछन् । ‘शुरूमा उद्योगलाई हेर्न भनेर नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) स्थापना भएको थियो, पछि कृषिक्षेत्रका लागि कृषि विकास बैंक खुल्यो,’ उनले भने, ‘ठूलो लगानीको आवश्यकता भएको ठाउँमा लगानी गर्ने उद्देश्यले पूर्वाधार विकास बैंकको भूमिका रहन्छ ।’ यस्तो बैंकमार्फत जलविद्युत्, सडक, यातायात, सञ्चार, राष्ट्रिय महत्व राख्ने उद्योग कलकारखाना जस्ता ठूला परियोजनाको स्थापनाका लागि व्यवसायीलाई लगानी गर्न सहज हुने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले पूर्वाधार विकास बैंक सञ्चालनमा आएपछि विकास निर्माणको कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताइन् । यसअघि विभिन्न पूर्वाधारमा ५० हजार रुपैयाँभन्दा बढी रकम लिनु परेमा कन्सुडियम गरेर लिनुपर्ने बाध्यतालाई यसले समाधान गर्ने उनको भनाइ छ । ‘पूर्वाधारमा लगानी गर्दा माग गरेअनुसारको ठूलो कर्जा लिँदा एउटै बैंकबाट मात्र पर्याप्त हुने थिएन, अब यसले सहज बनाउँछ,’ उनले भनिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)