ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बहस : निजगढ अन्तरराष्ट्रिय विमानस्थल बनाउने कि नबनाउने ?, कोही नआए सरकार आफैंले बनाउँछ : मन्त्री अधिकारी

Feb 9, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
माघ २६, काठमाडौं । सरकारले तीन महीना भित्रै निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको मोडालिटि तय गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैंले आयोजना अघि बढाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले बताए । नेपाल इन्जिनियर्स एशोसियशनले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘निजगढ विमानस्थलको वर्तमान अवस्था आवश्यकता र औचित्य’ विषयक पूर्वाधार विकास बहसमा मन्त्री अधिकारीले निजगढ विमानस्थल काठमाडौं, भैरहवा वा पोखराको विकल्प हुन नसक्ने बताए । उनले भने, ‘हामीले फूलफ्लेज्ड विमानस्थलको परिकल्पना गरेका छौं । निजगढलाई गेम चेन्जर विमानस्थलको रुपमा विकास गर्ने हो ।’ विमानस्थल निर्माणको लागि विभिन्न ४५ ओेटा देशहरुले रुची देखाएको जानकारी दिँदै उनले उपयुक्त विकल्प छनोट हुने र कोही नआए सरकार आफैंले विमानस्थल बनाउने बताए । निगजढको विकल्प खोज्न वातावरण अधिकारकर्मीहरूले माग गरेको बेला मन्त्री अधिकारीले वातावरणको नाममा विकास अवरुद्ध गर्न नसकिने बताए । ‘वातावरण प्रति सबैको चासो छ । दीगो विकास सरकारको पनि प्राथमिकताको विषय हो । तर, जसरी वातावरणका नाममा विमानस्थल बनाउनै हुँदैन भनेर भनिएको छ, यो व्यक्तिगत रुपमा प्रहार गरिएको छ । ती सबै षड्यन्त्र निश्तेज भएर जानेछन्,’ मन्त्री अधिकारीले भने । विमानस्थल निर्माणका लागि चारकोसे झाडीको करीब ८ हजार ४६ हेक्टर जंगल फँडानी गर्दा वातावरण विनाश हुने भन्दै वातावरण अधिकारकर्मीहरूले बुधवार प्रधानमन्त्री कार्यालय, पर्यटन र वन तथा वातावरण मन्त्रालयमा अपील पठाउँदै उक्त विमानस्थलको विकल्प खोज्न माग गरेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले प्रस्तावित निजगढ विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको र मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अति व्यस्त रहँदा ठूला विमानको उडान र अवतरणमा कठिनाइ परेको अवस्थामा निजगढ नेपालको लागि अनिवार्य आवश्यकता भएको बताए । नेपाल सरकारका पूर्व सचिव विरेन्द्र बहादुर देउजाले अन्तरराष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्प नै नभएको बताएका छन् । सरकारले लामो अध्ययन गरी उक्त स्थान छनोट भएको र धेरै प्रक्रिया अघि बढिसकेकाले यसका बाँकी काम छिटो गर्नु पर्नेमा उनले जोड दिए । पूर्वाधारविद् डा. सूर्यराज आचार्यले दीर्घकालीन महत्वको आयोजना हतारमा निजी क्षेत्रलाई दिन नहुने भन्दै आयोजना निर्माणका विषयमा सरकार अलि स्पष्ट र पारदर्शी भएर अगाडि आउनु पर्ने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर प्रदिप अधिकारीले देशभरका विभिन्न आठओटा स्थानमा अध्ययन गरी निजगढलाई छनोट गरिएकोले अरु विकल्प खोज्ने भन्ने कुरा विमानस्थल नबनाउने चलखेल भएको भन्दै नेपाल आफंैले शुरु नगरे विमानस्थल नबन्ने बताए । वातावरणविद इन्जिनियर विकास अधिकारीले पूर्वाधार विकास गर्दा आर्थिक पक्ष मात्र नहेरी वातावरणीय पक्षलाई पनि ध्यान दिन आवश्यक भएको बताए । निजगढ विमानस्थल पर्सा राष्ट्रिय निकुञ्ज नजिक रहेकाले त्यसबाट निकुञ्जमा पर्ने असरबारे पनि छलफल आवश्यक भएको बताए । निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि २०७१ फागुन २९ गते मन्त्रिपरिषद्ले चार किल्ला छुट्ट्याएको थियो । २३ वर्षअघि सन् १९९५ मा नेपिको नामक कम्पनीले ८ ठाउँमा अन्तरराष्ट्रिय विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपछि निजगढ नै सबैभन्दा उपयुक्त हुने ठहर गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)