ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनाव छैन भारप्रेषण केन्द्रमा : भारतको बिजुलीले ढुक्क

Feb 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । हातमा ‘माउस’ लिएर कम्प्युटर स्क्रीनमा केही नियालिरहेका थिए, ३ जना प्राविधिक । अघिल्तिर राखिएका सातओटा कम्प्युटरका स्क्रीनमा इन्टरनेटमार्फत देशभरि सञ्चालनमा रहेका जलविद्युत् आयोजना, त्यहाँबाट उत्पादित विद्युत् जोडिएका प्रसारण लाइन र सबस्टेशनहरू रेखा नै रेखाले देखाइरहेका थिए । सफ्टवेयरबाटै देखिन्थे, भारतबाट बिजुली ल्याइएका अन्तरदेशीय प्रसारण विन्दुहरू पनि । काठमाडौं स्यूचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रमा रहेको केन्द्रीय नियन्त्रण कक्षको दृश्य हो, यो । बुधवार मध्या≈न उक्त केन्द्रमा पुग्दा प्राविधिकहरू तनावमुक्त देखिन्थे । ‘साँझपखचाहिँ अलिक प्रेशर हुन्छ,’ प्राविधिक सिफ्ट इन्चार्ज रामजी साहले भने । नियन्त्रण कक्षमा रहेका प्राविधिकहरू निकै चनाखो भएर कम्युटर स्क्रीनमा देखिएका तथ्यांक नियाल्दै थिए । सँगसँगै उनीहरूको ध्यान कम्प्युटरभन्दा करीब ५ फीट अगाडि राखिएको स्क्रीनमा थियो । अलगअलग कम्प्युटरमा देखिने तथ्यांक एउटै ठूलो स्क्रीनमा हेर्न सकिने व्यवस्था छ । कम्प्युटर र बोर्ड स्क्रीनमा देशभरको तत्कालीन विद्युत् माग ८८७ मेगावाट देखिन्थ्यो । सोही समयमा देशभरिका जलविद्युत् आयोजनाको उत्पादन र भारतबाट आयात गरिएको गरी कुल विद्युत् उपलब्धता ९१९ मेगावाट थियो । ‘दिउँसोको समयमा आईपीपी (निजीक्षेत्र)का जलविद्युत् आयोजनाले जम्मा १६१ र विद्युत् प्राधिकरणका आयोजनाले २२२ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन्,’ प्राविधिक साहले कम्प्युटर स्क्रीनतर्फ औंल्याउँदै भने, ‘अहिले भारतबाट जम्मा ५३६ मेगावाट विद्युत् आयात भइरहेको छ ।’ विद्युत्को उच्च माग रहने साँझपख हिजोआज निजी आयोजनाबाट १६५ मेगावाट उत्पादन हुन्छ । प्राधिकरणको उच्च क्षमता ४०१ मेगावाट छ । विद्युत् माग बढी रहेको समयमै चलाउने उद्देश्यले कुलेखानी–१ र २, कालीगण्डकी ‘ए’ तथा मध्यमस्र्याङ्दीजस्ता जलाशययुक्त आयोजनाहरूमा पानी संकलन गरेर राखिएको छ । ४०१ मेगावाट बिजुली ती सबै आयोजना सञ्चालन हुँदाको बखतको हो । माग अत्यधिक हुने समयमा ६४७ मेगावाटसम्म भारतबाट आयात गर्न सकिन्छ । र, सोही बिजुलीले अत्यधिक खपत हुने समयको माग धानिरहेको छ । ‘आन्तरिक उत्पादन राम्रो हुँदा आयात कम गर्छौं, नहुँदा बढाउँछौं,’ केन्द्रका प्रमुख सुरेश भट्टराईले भने, ‘माग धान्न अहिले हामीलाई समस्या छैन ।’ उनका अनुसार यतिबेला आन्तरिक उत्पादन र आयातको अनुपात झन्डै ४५/५५ देखि ४०/६० को बीचमा छ । उच्च खपतको समयमा विद्युत् माग पूरा गरी लोडशेडिङ हुन नदिन ११ ओटा विन्दुमार्फत भारतबाट बिजुली ल्याइने गरेको छ । तीमध्ये २ सय २० र १ सय ३२ केभी प्रसारण लाइन जोडिएका ६ ओटा विन्दुबाट विद्युत् आयात भइरहेको थियो । ३३ केभी प्रसारण लाइन रहेका ५ ओटा प्रसारण विन्दुमा शून्य देखिन्थ्यो । २०७३ को असोज अघिसम्म मुलुकभर दैनिक ८ घण्टासम्म लोडशेडिङ भइरहेको थियो । त्यसअघि दैनिक १८ घण्टासम्म लोडशेडिङ हुने गरेको थियो । ‘त्यतिबेला त जहिल्यै प्रेशर हुन्थ्यो,’ केन्द्रका तत्कालीन प्रमुख विष्णुप्रसाद श्रेष्ठ सम्झिन्छन्, ‘हामीलाई सबैभन्दा बढी चुनौती सुक्खा मौसमको अत्यधिक खपत हुने समयमा हुन्थ्यो । हरेक दिन कुलेखानीको पानी कति सेन्टिमिटर घट्यो भनेर हिसाब गरी गरी चलाउँथ्यौं ।’ आन्तरिक उत्पादन, आयात र व्यवस्थापन सबै पक्षको संयोजनबाट मात्रै त्यो समयको चुनौती पार गर्न सकिएको श्रेष्ठको निष्कर्ष छ । कमजोर सञ्चिति बुधवार मध्याह्नको तथ्यांकबाट त्यतिबेलाको मागभन्दा ३२ मेगावाट बढी बिजुली प्रणालीमा रहेको देखिन्थ्यो । तर, प्राविधिकहरूका अनुसार देशभरि विद्युत् प्रवाह गर्ने प्रणालीमा यति विद्युत् बढी हुनु भने ज्यादै कम हो । भरपर्दो विद्युत् प्रणाली रहेका देशहरूमा सयौं मेवा विद्युत् सञ्चित हुने उनीहरूको भनाइ छ । कुनै आयोजनामा समस्या आएर उत्पादन बन्द भए सोही सञ्चितिबाट पूर्ति गर्नुपर्छ । त्यो अवस्थामा बढी विद्युत् रहेको इलाकाबाट कटौती गरेर कम रहेको क्षेत्रतर्फ पठाउनुपर्छ । र, त्यसको जिम्मेवारी नियन्त्रण कक्षकै प्राविधिकको हो । केन्द्रका प्राविधिक साहका अनुसार दिउँसोको विद्युत् माग कम हुन्छ, साँझपख भने १ हजार १५० देखि १ हजार २०० मेगावाटसम्मको माग पुग्ने गर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)