उमेर ढल्किँदै जाँदा महिलाको तुलनामा पुरुषको मस्तिष्क चाँडै खुम्चिन्छ भन्ने कुरा यसअघि भएका अध्ययनहरूले नै देखाइसकेका छन् । तर पुरुषको तुलनामा महिलाको दिमाग बढी जवान हुने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकाको वाशिंग्टन युनिभर्सिटीमा स्कूल अफ मेडिसिनका अनुसन्धाताको एक टोलीले गरेको अध्ययनले यस्तो देखाएको हो ।
अध्ययन अनुसार औसतमा पुरुषको तुलनामा महिलाको दिमाग करीब ४ वर्ष जवान हुन्छ । यस अनुसन्धानमा अनुसन्धाताले २० वर्ष देखि ८२ वर्ष उमेर बीचका २ सय ५ महिला र पुरुषको दिमागको पीईटी स्क्यान गरेका थिए । यसरी स्क्यान गरे प्राप्त तथ्यांक अध्ययन गरिएको थियो । अध्ययनमा पुरुषको तुलनामा महिलाको दिमाग ३ दशमलव ८ वर्ष कान्छो हुने देखिएको छ । ग्लुकोजको प्रयोग, यो कसरी ऊर्जामा परिणत हुन्छ र यसले दिमागको प्रदर्शनलाई कसरी प्रभावित पार्छ भन्ने आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।
पछिल्लो अध्ययनले पुरुष र महिलाको दिमागको मेटाबोलिज्म पनि फरक हुने देखाएको छ । यसले वृद्ध पुरुषको स्मरण शक्ति र भाषा महिलाको तुलनामा किन चाँडै कमजोर हुँदै जान्छ भन्ने प्रश्नको व्याख्या गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
लिंगसँग सम्बन्धित विविध तत्त्वले दिमागको उमेरलाई कसरी प्रभावित पार्दो रहेछ भन्ने लगायत विषय बुझ्न सहज हुने अध्ययन टोलीको प्रमुख डा. मनु गोयलले बताएकी छिन् ।
के हो मेटाबोलिज्म ?
मेटाबोलिज्मको अर्थ शरीरमा हुने रासायनिक प्रक्रिया हो । दिमागको मेटाबोलिज्ममा भने दिगमाले कति अक्सिजन वा ग्लुकोजको प्रयोग गरिरहेको छ भन्ने हेरिन्छ । हामीले दिनहुँ खाने खानेकुरा र पेय पदार्थबाट शरीरमा ग्लुकोज निर्माण हुन्छ । यो अक्सिजनसँग मिलेर रगतको माध्यमबाट शरीरका अन्य भागमा जान्छ । यसमध्ये २५ प्रतिशत ग्लुकोज दिमागमा जान्छ । यसरी दिमागमा जाने अक्सिजन र ग्लुकोजको सहायताले हाम्रो दिमागले काम गर्छ । यसबाट दिमाग सक्रिय हुन्छ र स्वस्थ पनि रहिरहन्छ । तर उमेर बढ्दै गएसँगै दिमागमा अक्सिजन र ग्लुकोज प्रयोग पनि कम कम हुँदै जान्छ । यसले गर्दा हाम्रो स्मरण शक्ति पनि क्षीण हुँदै जान्छ । यस अध्ययनमा डा. मनु र उनको टोलीले उमेर बढ्दै जाँदा मेटाबोलिज्मको प्रक्रिया कसरी फेरिन्छ वा प्रभावित हुन्छ भन्ने कुराको अध्ययन गरेका थिए । मेटाबोलिज्मको आधारमा दिमागको उमेर अन्तर मापन गर्ने यो पहिलो अध्ययन भएको बताइएको छ ।
यस्तो किन हुन्छ ?
एउटै उमेर भएका पुरुषको तुलनामा महिलाको दिमाग कसरी जवान हुन सक्छ ? यसबारे डा. मनु भन्छिन्, ‘अध्ययनको निष्कर्षमा यो कुरा छैन । तर जो मानिस कम सुत्छन्, राम्ररी खाना खाँदैनन्, व्यायाम पनि गर्दैनन्, बढी धूमपान गर्छन्, रक्सी धेरै पिउँछन् वा लागूऔषधको सेवन गर्छन्, उनीहरूको दिमाग ‘ड्यामेज’ हुँदै जान्छ र बढी उमेरको देखिन थाल्छ ।’ कोही कोहीमा भने वंशाणुगत कारणले पनि यस्तो हुन सक्छ । यस्तो किन हुन्छ भन्ने पत्ता लगाउन भने अर्को अध्ययन गर्नु आवश्यक भएको उनको भनाइ छ ।
(एजेन्सीको सहयोगमा)