ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक स्तरीय होटल : ३ वर्षमा ५ सय थप

Feb 11, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं र पोखरालाई पछ्याउँदै वीरगन्ज र नेपालगन्ज काठमाडौं । तीन वर्षभित्र देशका आठ मुख्य शहरमा पर्यटक स्तरका ४९३ नयाँ होटल तथा लज थपिएका छन् । बेड (शय्या) संख्या १० हजार ६४१ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन–वार्षिक प्रतिवेदन २०७४/७५’ अनुसार उक्त होटलहरू काठमाडौं लगायत पोखरा, सिद्धार्थनगर (भैरहवा), विराटनगर, जनकपुर, नेपालगन्ज, वीरगन्ज र धनगढीमा खुलेका हुन् । आव २०७२/७३ मा यी ठाउँमा २ हजार ३६७ होटल रहेकोमा अब यो संख्या २ हजार ८६० पुगेको छ । यो १२ प्रतिशत वृद्धि हो । यस अवधिमा पोखरामा ८२ र काठमाडौंमा ६८ पर्यटक स्तरीय होटल र लज थपिए । यी ठाउँमा तिनको संख्या अब क्रमशः ९१० र ७८२ पुगेको छ । यस्ता होटल सबैभन्दा बढी पोखरामा (३१ दशमलव ८ प्रतिशत) र सबैभन्दा कम धनगढीमा (१ दशमलव ४ प्रतिशत) रहेका छन् । पोखरा र काठमाडौंपछि पर्यटकीय स्तरका होटल तथा लज खोल्ने क्रम वीरगन्ज र नेपालगन्जमा बढेको छ । विगत ३ वर्षमा वीरगन्जमा ११६ र नेपालगन्जमा १३७ नयाँ होटल खुलेका छन् । अब यी ठाउँमा होटल तथा लजको संख्या क्रमशः ५२६ र २८५ पुगेको छ । सिद्धार्थनगर, धनगढी, जनकपुर र विराटनगरमा भने यस्ता होटल खासै थपिएनन् । होटल तथा लजसँगै पर्यटक स्तरका शय्याको संख्या पनि ६५ हजार १५१ बाट बढेर ७५ हजार ७९२ पुगेको छ । यो ८ दशमलव ७ प्रतिशत वृद्धि होे । केन्द्रीय बैंकले पर्यटकीय क्षेत्रका रूपमा स्थापित चितवनलाई वीरगन्ज क्षेत्रमै समावेश गरेर अध्ययन गरेको थियो । वीरगञ्ज क्षेत्रमा चितवनसहित बारा, पर्सा, मकवानपुर, रौतहत जिल्ला छन् । यस्तै नेपालगन्जमा बाँके, बर्दिया, दाङ, सुर्खेत, सल्यान र जुम्ला जिल्ला छन् । नेपालगन्जको सोल्टी होटल पनि पाँचतारे नेपालगन्ज (अस) । बाँकेको नेपालगन्जमा रहेको सोल्टी वेस्टेन्ड प्रिमियर होटलले पाँचतारेको मान्यता पाएको छ । सोल्टी होटल लिमिटेडका प्रबन्धक चूडामणि पराजुलीका अनुसार गत शुक्रवार पर्यटन विभागले उक्त होटललाई पाँचतारेको मान्यता दिएको हो । उक्त होटल कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल भएकाले पर्यटन विभागबाट पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो । सरकारले काठमाडौं बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारे स्तरको सेवा सञ्चालनका लागि विभागमा निवेदन दिएको थियो । विभागले पूर्वाधारको अनुगमनपछि पाँचतारेको मान्यता दिएको होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिए । ‘बीएमएफ (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रूपमा ट्वाइलेट, बगैंचा र चिलर प्लान्ट कुलिङ गर्न प्रयोग गरिनुका साथै ठोस वस्तु प्रांगारिक मलको रूपमा प्रयोग गर्नु होटलको विशेषता हो,’ उनले भने । काठमाडौंको होटल सोल्टी क्राउन प्लाजा लिमिटेडकै शाखा संस्थाका रूपमा १ वर्षअघि नेपालगन्जमा सोल्टी वेस्टेन्ड सञ्चालनमा आएको हो ।
होटलसँगै पर्यटक आगमन बढ्न जरुरीअमरमान शाक्य, अध्यक्ष, होटल एशोसिएशन नेपाल (हान) पर्यटक होटल तथा लजहरू सञ्चालनको क्षेत्र विस्तार र लगानी बढ्नु सकरात्मक हो । अहिले पर्यटक स्तरका होटल तथा अन्य होटल/लज/रिसोर्ट खोल्ने क्रम पनि विस्तार भएको छ । यो नेपालको पर्यटन क्षेत्रलाई आवश्यक कदम हो । तर, होटलको संख्या र क्षेत्र विस्तार भएर मात्रै पुग्दैन, पर्यटक आगमन वृद्धि हुन पनि उत्तिकै जरुरी छ । अहिलेको होटल क्षमताले नै २५ लाख पर्यटक धान्न सक्छ । होटलमा लगानी र सञ्चालनमा तीव्र प्रतिस्पर्धा छ । हामीले पर्यटक आगमनलाई उल्लेख्य रूपमा वृद्धि गर्न नसक्ने हो भने यो क्षेत्रमा लगानी जोखिम उत्तिकै देखिन्छ । एयर कनेक्टीभिटी र गुणस्तरीय सडक विस्तारमा जोड दिनुपर्छ । होटलमा लगानी गर्दा अध्ययन गरौं योगेन्द्र शाक्य, हान पूर्वअध्यक्ष होटल क्षेत्रमा लगानी गर्न निकै उत्साहित वातावरण बनेको छ । यसले देशलाई र रोजगारीका अवसरहरू सृजना गर्छ । यसमा वैदेशिक लगानी पनि भित्रिएको छ । होटल सञ्चालनमा आएको प्रतिस्पर्धाले मूल्यमा प्रतिस्पर्धा हुने भएकाले पर्यटकलाई फाइदा हुन्छ । तर, यति हुँदाहुँदै पनि होटलका लगानीकर्ताले पाउने प्रतिफल भने निकै न्यून छ । होटल क्षेत्रलाई नबुझी लगानी नगरौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पनि होटलहरू खुल्ने अवस्थामा विस्तार भएको हुन सक्छ । यो क्षेत्रलाई बुझेर र अध्ययन गरेर लगानी गर्न आवश्यक छ । होटलका साथसाथै पर्यटन पूर्वाधार सुधारमा पनि ध्यान दिनुपर्छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)