ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान, गहुँ, मकै छोडेर पूरै गाउँमा केराखेती, वार्षिक ५० लाख आम्दानी

Feb 11, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
माघ २८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्य अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकहरुले बताएका छन् । यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरेको पाइएको छ । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बाली लगाइने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए । ‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ ।’ सापकोटाले भने, ‘खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।’ सापकोटाका अनुसार विगत ३ वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन् । करीब डेढ सय घरधुरीको बसोवास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् । खबराकी कृषक महिला तारा कुँबरको जीवनस्तर पनि केरा खेतीबाटै फेरिएको छ । वार्षिक ३ लाख रुपैयाँको केरा विक्री गर्दै आएकी उनले केरासँगै तरकारी खेती पनि गरेकी छिन् । ‘वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो, कँुबरले भनिन् । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कँुबरले बताए । खबराको केरा बेनीमा खपत हुन्छ । केरा विक्रीबाट मासिक रू. ५० देखि ६० हजार आम्दानी हुने कुँबरले बताए । दैनिक पाँच भारीको अनुपातमा खबराबाट बेनीमा केरा विक्रीका लागि ल्याउने गरिएको छ । बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । खबरामा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारीहरुले बताएका छन् । बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष हीराबहादुर थापाले बताए । केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष रू.तीन लाख विनियोजन भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)