पछिल्लो समय स्वीडेनमा स्टार्ट-अप कम्पनीहरु निकै फस्टाइरहेका छन् । हालैका वर्षहरुमा यसले आफूलाई यूरोपको सबैभन्दा नवप्रवर्तनमुखी देशको रुपमा समेत उभ्याएको छ । त्यहाँको मजबुत डिजिटल पूर्वाधार, सहयोग गर्ने संस्कृति र अन्य देशको तुलनामा लामो समयसम्म सामाजिक सुरक्षा उपलब्ध गराउने निजी बेरोजगारी बीमा आदीका कारण पनि त्यहाँ स्टार्ट-अप कम्पनीहरु फष्टाइरहेका छन् । तर यसको वृद्धि विकासमा अर्को तत्वको पनि भूमिका छ । त्यो हो स्टार्ट–अफ वा कुनै व्यवसाय खोल्न लामो समयसम्म बेतलबी बिदा दिने नीति ।
विगत २ दशक देखि स्वीडेनले स्थायी पदमा रहेर काम गरिरहेका फूल–टाइम कामदारहरुलाई कम्पनी वा व्यवसाय खोल्न ६ महीनाको बिदा दिँदै आएको छ । यो नीतिले स्टार्ट-अपको विकासमा साँच्चै कतिको योगदान दिइरहेको छ भन्ने मापन गर्न अलि कठिन छ । व्यवसाय खोल्नकै लागि कति मानिसहरुले बेतलबी बिदा लिए भन्ने देखाउने राष्ट्रव्यापी तथ्याङ्क पनि छैन । तर यसले स्टार्ट-अप कम्पनीको विकासमा निकै ठूलो योगदान दिएको छ भन्छन् शिक्षाविद्, श्रमिक संगठन र व्यवसायीहरु । अहिले स्वीडेनमा लामो बेतलबी बिदा लिने प्रवृत्ति निकै बढेको छ । यसमा भइरहेको वृद्धिसँगै त्यहाँ आफ्नै कम्पनी स्थापना गर्ने कर्मचारीहरुको संख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ ।
सन् २००७ मा २५ वर्षदेखि ५४ वर्षबीचका १ लाख ६३ हजारले लामो बेतलबी बिदा लिएका थिए । त्यो वर्ष कुल २७ हजार ९ सय ९४ ओटा कम्पनी दर्ता भएको त्यहाँको कम्पनी रजिष्ट्रारको कार्यालय बोलाग्स्भेर्केटको तथ्याङ्कले देखाएको छ । सन् २०१७ मा १ लाख ७५ हजारले यस्तो बिदा लिएको र उक्त वर्ष ४८ हजार ५ सय ४२ कम्पनी दर्ता भएको तथ्याङ्कले देखाएको छ ।
नोर्डिक (उत्तरी यूरोप र उत्तर अट्लान्टिक) देशहरु डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड, नर्वे र स्वीडेनमा श्रम कानून निकै कडा छ । यसले गर्दा यी देशहरुमा कर्मचारीलाई कामबाट निकाल्न हाकिमहरुका लागि निकै गाह्रो छ । लामो बिदा लिएर व्यापार व्यवसाय खोलेपछि पनि व्यापार व्यवसाय असफल भयो भने त्यो कर्मचारीले पुनः पुरानै कम्पनीमा काम गर्न पाउँछ । यसले पनि कर्मचारीहरुले आफ्नै व्यवसाय खोल्न जोखिम मोल्न प्रेरित गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।
मानिसहरुले एक पटक स्थायी काम पाएपछि हत्तपत्त यसलाई छोड्दैनन् भन्छिन् स्टकहोम स्कुल अफ इकोनोमिक्समा पोष्ट डक्टरल अनुसन्धाता क्लेयर इन्ग्राम बोगस्ज । तर पाइने यसरी बेतलबी बिदाका लाभ र चुनौतीहरु भने दुबै छन् । यो सुविधाबाट स्थायी काम गरिरहेकाले मात्रै लाभ लिन पाउँछन् । तर पछिल्लो समय स्वीडेनमा युवा पुस्तामा अस्थायी रोजगारीप्रतिको आकर्षण बढिरहेको छ ।
सन् २००९ मा २५ वर्ष देखि ३४ वर्ष उमेर समूहका १४ प्रतिशत मात्रै अस्थायी खालको काममा आबद्ध रहेकोमा सन् २०१७ मा यो बढेर १८ प्रतिशतमा पुगेको छ ।
फ्रिल्यान्सिङ र अस्थायी कामप्रति मोह भएकाहरुलाई लामो बेतलबी बिदा ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ सरह हो । अस्थायी काम गर्नेको संख्या वर्षेनी बढ्न थालेपछि यस्ता कामदारहरुलाई थप सुरक्षा उपलब्ध गराउने उपाय खोज्न स्वीडिश सरकारले अनुसन्धान समिति गठन गरेको छ । (एजेन्सीको सहयोगमा)