ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी नबिकेपछि घाटामा उद्योगहरू : ४० हजार मेट्रिक टन चिनी स्टकमा

Feb 14, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं/सिरहा/महोत्तरी/सर्लाही । सिरहाको चन्द्रअयोध्यापुरमा २०७२ सालदेखि सञ्चालनमा आएको हिमालयन सुगर मिल्सले शुरूको वर्षमा सन्तोषजनक व्यवसाय गरेको थियो । तर, लगत्तै २०७३ सालदेखि नै घाटामा जान थाल्यो र अहिलेसम्म मिल रू. ३५ करोड घाटामा छ । मिलको गोदाममा २ वर्ष अघिदेखिको साढे ७ हजार मेट्रिक टन (मेटन) चिनी छ । महोत्तरीमा २३ वर्षदेखि सञ्चालन हुँदैआएको एभरेस्ट सुगर मिल्स चिनी विक्री हुन नसक्दा २ वर्षदेखि घाटामा सञ्चालन भइरहेको छ । उक्त उद्योगसँग अहिले १५ हजार मेटन चिनी स्टक छ । ३२ वर्ष अघिदेखि सर्लाहीको हरिऔनमा सञ्चालन हुँदै आएको इन्दुशंकर सुगर मिल्सले लामो समयसम्म राम्रै नाफा कमाए पनि अहिले सन्तोषजनक मुनाफा कमाउन सकेको छैन । उक्त उद्योगसँग अहिले ७ हजार मेटन चिनी स्टक छ । यी केही प्रतिनिधि चिनी मिल हुन् । यीसहित देशभरका गरी १४ ओटा चिनी उद्योगमा रू. २ अर्ब ५० करोड बराबरको ४० हजार मेटन चिनी स्टकमा रहेको चिनी उत्पादक संघका महासचिव राजेशकुमार केडियाले बताएका छन् । सरकारले चिनी विक्री गर्ने उचित वातावरण नबनाइदिँदा चिनी उद्योगीहरू मर्कामा परेको उनको भनाइ छ । नयाँ उत्पादन र स्टकसमेत गरेर १ वर्षलाई चिनी पर्याप्त मात्रामा पुग्ने देखिन्छ । त्यसैले यस वर्ष चिनी आयात गर्न नपर्ने नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । चिनी उद्योगहरूले पुसदेखि पुनः चिनी उत्पादन थालिसकेका छन् । किन विक्री हुँदैन चिनी ? पाकिस्तानमा आवश्यकभन्दा बढी चिनी उत्पादन हुन्छ । त्यहाँको सरकारले प्रतिकेजी रू. २० मा नै चिनी बाहिरी मुलुकमा निर्यात गरिरहेको छ । उक्त चिनी नेपालमा प्रतिकेजी रू. ३५ सम्म भित्रिएको छ । तर, नेपालमा १ किलो चिनी उत्पादन गर्न ६८ रुपैयाँ ८० पैसा खर्च हुन्छ । सोही कारणले विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी चिनीले बजार नपाएको हिमालय सुगर मिल्सका कार्यकारी निर्देशक एसके सर्राफले बताए । उनले भने, ‘साल्ट टे«डिङले टेन्डर आ≈वान गरेर चिनी किन्छु त भनेको छ । तर, उसले दिने मूल्यले हाम्रो लागत खर्च पनि उठ्दैन ।’ चिनी विक्री हुन नसक्दा किसानलाई समयमै उखुको भुक्तानी दिन पनि नसकेको उनको भनाइ छ । चिनी स्टकमा हुँदा यस्तो नोक्सानी स्टकमा भएको चिनीलाई सोझै विक्री गर्न सकिँदैन । १/२ वर्षपछि चिनी पग्लिन थाल्छ । त्यस्तो चिनी खानयोग्य भए पनि विक्री हुँदैन । व्यवसायीहरूले त्यस्तो चिनीलाई पुनः प्रशोधन गरी नयाँ चिनी बनाउँछन् । यसरी पुनः प्रशोधन गर्दा ५ प्रतिशतसम्म परिमाण घट्ने व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार प्रोशेसिङ खर्चसमेत जोड्दा १ केजीमा १० रुपैयाँसम्म नोक्सानी हुन्छ । उखुको भुक्तानी गर्न ४५ दिनको म्याद अघिल्लो वर्ष उखुको भुक्तानी हुन ढिलाइ भएपछि किसानले अहिले उखु दिन मानेका थिएनन् । तर, उद्योगी र किसानबीच विभिन्न सम्झौता भएपछि उखु पेल्न शुरू गरिएको हो । उखु पेल्न थालेको ४५ दिनभित्र किसानलाई भुक्तानी दिइसक्नुपर्ने सम्झौता छ । तर, १ महीना बितिसक्ता पनि भुक्तानी नपाएको किसानको गुनासो छ । किसानले अनुदान रकम पाएनन् सरकारले एक क्वीन्टल उखुको मूल्य ४७१ रुपैयाँ २८ पैसा तोकेको छ । त्यसअनुसार किसानले गतवर्षको भुक्तानी पाइसकेका छन् । त्यसमा सरकारले प्रति क्वीन्टल थप ६५ रुपैयाँ २८ पैसा अनुदान दिनुपर्ने व्यवस्था छ । तर, अनुदानको रकम अहिलेसम्म पाउन नसकेको किसानको गुनासो छ । साथै कम्पनीले दिनुपर्ने थप ५ रुपैयाँ ३६ पैसा पनि नपाएको उखु किसान नरेशसिंह कुशवाह बताउँछन् । यसरी कम गर्न सकिन्छ चिनीको मूल्य १ क्वीन्टल उखु पेल्दा २२ लिटर इथानोल निस्किन्छ । यसलाई पेट्रोलियम पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ । त्यसको अहिले उचित प्रयोग हुन सकेको छैन । राज्यले इथानोल किन्ने हो भने चिनीको मूल्य कम गर्न सकिने व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार राज्यले नीतिगत रूपमा नै त्यस्तो व्यवस्था गरेर इथानोल किनेमा चिनीको मूल्य प्रतिकेजी रू. २ सम्म घट्नसक्छ ।
सरकारले उचित मुनाफामा चिनी किनिदिनुपर्छ एस के सर्राफ कार्यकारी निर्देशक, हिमालयन सुगर मिल्स सरकारले चिनी आयातमा रोक लगाएको त छ तर, बजारमा अझै करीब ८० हजार मेटन आयातीत चिनी छन् । त्यसले गर्दा स्वदेशी चिनी विक्री नहुने सम्भावना कम नै छ । त्यसैले सरकारले किसान र उद्योगीको हितलाई ध्यानमा राखी उचित मुनाफामा चिनी किनी दिनुपर्छ । साथै, सरकारले उखुको मूल्य तोक्न सक्छ भने चिनीको पनि निश्चित मूल्य तोक्नु पर्छ । सहुलियत कर्जामा ऋण दिए किसानको भुक्तानी गर्छाैं राजेशकुमार केडिया महासचिव, चिनी उत्पादक संघ चिनी विक्री नभएका कारण किसानलाई भुक्तानी दिन ढिलाइ भएको हो । पहिले बैंकबाट ऋण लिएर पनि भुक्तानी गर्‍यौं । तर, चिनी विक्री नहुँदा बैंक ब्याज तिर्न गाह्रो भएको छ । अहिले बैंकबाट ऋण लिई भुक्तानी दिने अवस्था पनि छैन । सरकारले सहुलियत ब्याजमा कर्जा दिएमा र ७ प्रतिशत मुनाफामा चिनी विक्री हुने वातावरण बनाएमा भुक्तानी गर्न गाह्रो छैन । तथापि हालसम्म अधिकांश मिलले उखुको भुक्तानी दिइसकेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)