ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाहमा ईसीटीएस : नेपाली आयातमा भन्सार प्रक्रिया हट्यो

Feb 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

फागुन ४, वीरगञ्ज । भारतको कोलकाता समुद्री बन्दरगाहमार्फत रेलमार्गबाट हुने नेपाली आयातमा भन्सार प्रक्रिया हटाइएको छ । शुक्रवार साँझ इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) को उद्घाटनसँगै तेस्रो मुलुकबाट नेपालका लागि आउने कण्टेनरको ढुवानीमा कोलकाता बन्दरगाहमा भन्सारको कागजी प्रक्रिया हटेको हो ।

बन्दरगाह भन्सारले रेलमार्ग हुँदै नेपालका लागि हुने कण्टेनर कार्गोमा ईसीटीएस लागू गरेको हो । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले ईसीटीएसको उद्घाटन गरे । सो अवसरमा सहभागी बन्दरगाह भन्सार, कोलकाता पोर्ट ट्रष्ट र भारतीय कण्टेनर निगम लिमिटेड (कोन्कर)का अधिकारीहरूले हरियो झण्डा देखाएर ईसीटीएस जडान गरिएको कण्टेनर बोकेको रेललाई बिदाई गरे ।

कोलकताबाट ईसीटीएस जडान गरिएका २० ओटा कण्टेनरसहितको रेल वीरगञ्जस्थित सुक्खा बन्दरगाहका लागि हिँडेको महावाणिज्यदूत अर्यालले जानकारी दिए । शुक्रबार साँझ कोलकाताबाट हिँडेको रेल ५ दिनमा वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ ।

ईसीटीएस उद्घाटनपछि अर्यालले आर्थिक अभियानसँग कुरा गर्दै कोलकाता बन्दरगाहमा भन्सारको प्रक्रिया हट्नु नेपालको समुद्रपार व्यापारका लागि निकै ठूलो उपलब्धि भएको बताए । ‘यो प्रक्रियाबाट नेपालको व्यापार लागत उल्लेख्य परिमाणमा घट्ने छ,’ उनले भने, ‘नेपालको व्यापार सहजीकरणमा यो निकै सुखद शुरुआत हो ।’ यसलाई प्रभावकारी बनाउन नेपाल र भारतका सरोकारका निकाय र व्यवसायीबीच समन्वयको आवश्यकता पनि उनले औंल्याए ।

कोलकाता पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले नयाँ प्रणालीले नेपाली आयातकर्ताले बन्दरगाहमा झेल्दै आएको कागजी प्रक्रियाको झमेला समाधान हुने विश्वास व्यक्त गरे । भन्सार प्रक्रिया र यससँग जोडिएका अन्य अवरोधका कारण नेपालको आयातको लागत बढी परेको भन्दै अब समस्याले निकास पाउने उनले बताए । बन्दरगाहमा नेपाली आयातमा देखिएको असहजताले बन्दरगाह व्यवस्थापनको छविमा समेत नराम्रो असर परेकोमा ईसीटीएसले सुधारमा सघाउ पुग्ने तर्क गरे ।

बन्दरगाह भन्सारका कमिशनर मनिष चन्द्रले नेपालको समुद्रपार व्यापारमा ईसीटीएसले उल्लेख्य सहजता हुने दाबी गरे । यसअघि कोलकातामा हुँदै आएको भन्सार प्रक्रियाका कारण हुने ढिलाई, सिपिङ कम्पनी र आयातकर्ताका प्रतिनिधिको मिलेमतोमा नेपाली आयातमा अनपेक्षित खर्चको भार परेको आयाकर्ताको गुनासो रहँदै आएको थियो ।

कण्टेनर ढुवानीकर्ता कोन्करका महाप्रबन्धक एसके रहमान र कोलकाता पोर्ट ट्रष्टका डेपुटी अध्यक्ष बालाजी अरुणकुमारलगायतले भन्सारको कागजी प्रक्रिया हटाइएपछि नेपालको समुद्रपार व्यापारमा ढुवानी सस्तो र सरलीकरण हुने बताए । अहिले कोलकाताबाट वीरगञ्जसम्म प्रतिकण्टेनर ढुवानी खर्च ६५ हजार भारतीय रुपयाँ लाग्नेमा यो प्रक्रियाबाट आधामा झर्ने महावाणिज्यदूत अर्यालको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले कोलकाता बन्दरगाहमा ईसीटीएस लागू भएर भन्सार प्रक्रिया हट्नु नेपालको व्यापारमा महत्वपूर्ण उपलब्धि भएको बताए । यो प्रणालीमा सिपिङ कम्पनीले नै नेपाली गन्तब्यसम्म ढुवानीको जिम्मा लिने भएकाले कोलकातामा एजेण्टको भूमिका हट्ने सहसचिव सैंजुले बताए । ‘यसबाट कण्टेनर ढुवानीमा जरीवाना र अन्य दृष्य/अदृष्य खर्चको अनिश्चितता समाधान भएर जान्छ,’ उनले भने ।

कोलकाता बन्दरगाहमा भन्सारले कण्टेनरमा लगाइदिएको विद्युतीय शील सीमावर्ती भारतीय भन्सारले परीक्षण गरी खोलेपछि कण्टेनर नेपालतर्फ प्रवेश गर्ने बताइएको छ । यसबाट आयातकर्ताले कोलकाता बन्दरगाहमा पूरा गुर्नपर्ने प्रक्रिया सीमावर्ती भारतीय भन्सारमा गर्ने प्रावधान छ । पहिलो चरणमा कोलकाताबाट रेलमार्ग हुँदै वीरगञ्ज र पूर्वी नाका विराटनगरनिकट भातरको बथनाहसम्म आउने कण्टेनरमा यो प्रणाली लागू गरिएको छ । प्रभावकारिता अध्ययन गरी यो प्रणालीलाई सडकमार्गमा पनि कार्यान्वयनमा ल्याइने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

बन्दरगाहमा शुक्रवार साँझसम्म ईसीटीएस लागू हुनुअघि नेपालका लागि आएका ६ सय कण्टेनर रहेको महावाणिज्यदूत अर्यालले बताए । ती कण्टेनर भने पुरानै प्रक्रियाबाट आउने उनले बताए । भन्सार प्रक्रियामा गइसकेको ती कण्टेनर १ हप्ताभित्रै ढुवानी गरिसक्ने प्रतिबद्धता कोन्करले गरेको अर्यालले आर्थिक अभियानलाई बताए । नेपाली आयातकर्ताका लागि कोलकाता बन्दरगाहमा आइपर्ने अन्य प्रक्रियामा सहजीकरणको जिम्मा कोलकातास्थित नेपाल गोदाम तथा पारवहन कम्पनी लिमिटेडलाई दिइएको छ ।

नेपालका लागि तेस्रो मुलुकबाट वर्षमा १ लाख कण्टेनर आउँछन् । तीमध्ये १५ देखि २० प्रतिशतको ढुवानी विशाखापत्तनम् बन्दरगाहमार्फत हुन्छ । अन्य कण्टेनरको ढुवानी कोलकाताको भरमा चलेकाले पनि कोलकातामा भएको प्रक्रियागत सुधारले पारवहन खर्चमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)