ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गुरु योजनाविनै चुचुराहरूको प्रोफाइल गर्न ४० लाख खर्च

Feb 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपाल पर्वतारोहण संघले गुरु योजनाविनै ४१४ ओटा शिखरको प्रोफाइल तयार पार्न आर्थिक वर्ष (आव) २०७३/७४ र २०७४/७५ मा ४० लाख रुपैयाँ खर्च गरिसकेको छ । हालसम्म ७० प्रतिशत काम सकिएको दाबी संघले गरे पनि प्रगति विवरण पर्यटन विभागमा बुझाएको छैन सोही कारण संघको कार्यप्रगति सन्तोषजनक नभएको बताउँदै विभागले चालू आव २०७५/७६ का लागि विनियोजित ५० लाख रुपैयाँ रोक्का गरेको छ । ‘पिक प्रोफाइल’ तयार पार्न विभागले आव २०७३/७४ देखि संघलाई बजेट उपलब्ध गराउँदै आएको छ । गत चैतमा सार्वजनिक भएको ‘महालेखापरीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४’ ले पनि उक्त काममा भएको खर्चको विश्वसनीयता यकिन गर्न नसकिएको उल्लेख गरेको छ । प्रतिवेदनले आव २०७३/७४ मा २० लाख रुपैयाँ बेरुजू देखाएपछि अहिले विभागले चालू आवको बजेट निकासा दिएको छैन । विभागका महानिर्देशक डण्डुराज घिमिरेले ‘पिक प्रोफाइल’को काम प्रभावकारी नबनाएसम्म चालू आवको बजेट नदिइने बताए । उनले भने, ‘प्रोफाइलको काम सन्तोषजनक भएको छैन, त्यसैले तत्काल बजेट निकासा गर्दैनौं ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘सो कार्यको कार्यादेश, लागत अनुमान, प्रस्तावना, सहकार्यमा काम गर्न भएको सम्झौता बेगर विभागले संघलाई रू. २० लाख भुक्तानी गरेको देखियो ।’ महालेखाको प्रतिवेदन अनुसार उक्त कामका लागि गुरु योजना तयार नगरी सहकार्यमा काम गर्दा लागत अनुमान, कार्यादेश, कुल लागतमध्ये कुन पक्षले कति र कसरी लागत बेहोर्ने भन्ने स्पष्ट आधार पनि देखिएको छैन । संघका अध्यक्ष सन्तवीर लामाले भने चालू आवको अन्त्यसम्ममा ‘पिक प्रोफाइल’ तयार हुने जानकारी दिए । हालसम्म ७० प्रतिशत काम भइसकेको उनको दाबी छ । अहिले ती शिखरहरूको अध्ययन तथा पहिचान, फोटोग्राफी, प्रिन्ट लगायत काम सम्पन्न भएको उनको भनाइ छ । ‘यो निकै कठिन काम हो,’ उनले भने, ‘भौगोलिक कठिनाइ, नापी, रुट, उचाइ, अवस्थित जिल्ला लगायत विषयमा प्रोफाइलमा विस्तृत जानकारी गराउनुपर्ने भएकाले समय लागेको हो ।’ आरोहणका लागि उपयुक्त मानिएका ४१४ ओटा चुचुरोबारे व्यवस्थित जानकारी उपलब्ध गराउने उद्देश्यले पहिलोपटक ‘पिक प्रोफाइल’ तयार पार्न लागिएको हो । पर्यटन विभागको स्वीकृत वार्षिक कार्यक्रम अनुसार संघले २०७१ सालदेखि ती शिखरको प्रोफाइल तयार गर्ने गृहकार्य अघि बढाएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)