ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इन्दुशंकर चिनी मिलले पायो विद्युत् बेच्ने अनुमति

Feb 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
३ वर्षमा ८० मेवा विद्युत् विक्री गर्ने उद्योगीको दाबी काठमाडौं । सर्लाहीस्थित इन्दुशंकर चिनी मिल (उद्योग) ले ३ मेगावाट बराबर विद्युत् विक्री गर्ने बाटो खुलेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमतिपत्र पाएपछि उद्योगलाई विद्युत् विक्री गर्ने बाटो खुलेको हो । विभागबाट यस्तो अनुमतिपत्र पाउने इन्दुशंकर पहिलो चिनी उद्योग हो । हाल उक्त उद्योगमा ९ मेगावाट बराबर विद्युत् उत्पादन भइरहेको छ । यसमा ६ मेगावाट विद्युत् उद्योग सञ्चालनमा खपत हुन्छ । बाँकी ३ मेगावाट विद्युत् विक्री गर्ने अनुमति उद्योगले पाएको हो । त्यसका लागि उद्योगले गत असोज १० गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गरिसकेको छ । उद्योगले प्राधिकरणसँग हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत् विक्री गर्ने सम्झौता गरेको बताइएको छ । साथै, उद्योगी त्यसको ५ प्रतिशत रकम उखु किसानलाई दिनुपर्ने प्रावधान रहेको छ । विभागबाट अनुमति पाएसँगै उद्योगले विद्युत् विक्री गर्ने तयारीलाई तीव्रता दिएको छ । प्राधिकरणसँगको सम्झौताअनुसार उद्योगले सर्लाहीको हरिपुर सबस्टेशनमा विद्युत् उपलब्ध गराउनुपर्ने छ । उद्योगका अध्यक्ष राजेशकुमार केडियाले उक्त सबस्टेशनमा विद्युत् प्रसारण लाइन जोड्ने तयारी भइरहेको बताए । सम्भवतः अर्काे वर्षदेखि विद्युत् विक्री गर्न शुरू गरिने उनको भनाइ छ । २०७२ जेठ २ गते तत्कालीन सरकारले चिनी उद्योगबाट विद्युत्को सहउत्पादन गर्ने निर्णय गरेको थियो । सरकारले हिउँदको लोडशेडिङलाई कम गर्ने उद्देश्यले यस्तो निर्णय गरेको थियो । सोही निर्णय अनुसार बनेको कार्यविधिअन्तर्गत रहेर चिनी उद्योगबाट विद्युत्को सहउत्पादन गर्ने कार्यलाई अगाडि बढाइरहेको छ । इन्दुशंकर चिनी मिलको प्रभावलाई हेरेर अन्य उद्योगलाई पनि अनुमति दिने विभागकी प्रवक्ता निशा रिजालले बताइन् । हाल नेपालमा १४ ओटा चिनी मिल सञ्चालनमा छन् । ती मिलमा ५ देखि ९ मेवासम्म विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये उद्योगमा खपत हुनेबाहेक अन्य विद्युत् खेर गइरहेको छ । सरकारी निकायबाट त्यस्तो विद्युत् खरीद विक्री गर्ने प्रक्रिया अगाडि बढाइए पनि प्रभावकारी भएको छैन । सरकारले यसलाई प्रभावकारी बनाउन सके ३ वर्षमा ८० मेगावाटसम्म विद्युत् विक्री गर्ने चिनी उत्पादक संघका महासचिव राजेशकुमार केडिया बताउँछन् ।
लोडशेडिङ कम गर्ने उपयुक्त विकल्प राजेशकुमार केडिया अध्यक्ष, इन्दुशंकर चिनी मिल ऊखुको सिजनअनुसार चिनी मिल पुसदेखि वैशाखसम्म सञ्चालन हुन्छन् । उक्त समयमा पानीको अभावले गर्दा विद्युत् उत्पादन पनि कम हुन्छ । त्यसैले त्यस्तो बेला चिनी मिलबाट उत्पादन हुने विद्युत्ले लोडशेडिङ कम गर्न महत्त्वपूर्ण सहयोग गर्न सक्छ । तर यसलाई अझ प्रभावकारी बनाउन सरकारले सम्बद्ध नीतिनियमलाई भने थप खुकुलो बनाउन आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)