ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना नौओटा जीवन बीमा कम्पनी : बीमालेख धितोमा साढे २२ अर्ब कर्जा प्रवाह

Feb 18, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक ६ महीनामा पुराना नौओटा जीवन बीमा कम्पनीले २२ अर्ब ५४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उनीहरूले बीमितहरूको बीमालेख धितो राखेर उक्त कर्जा प्रदान गरेका हुन् । यो रकम गतवर्षको सोही अवधिभन्दा ६ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बढी हो । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले यस अवधिमा सबैभन्दा बढी ७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २ अर्ब ६५ करोड २९ लाख रुपैयाँ (५१ प्रतिशत) बढी हो । गतवर्ष ५ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । प्रतिशतको हिसाबमा भने यस वर्ष सबैभन्दा बढी कर्जा प्रवाह गर्ने कम्पनी एशियन लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले गतवर्षभन्दा ८१ प्रतिशत बढी अर्थात् १ अर्ब ६ करोड ४६ लाख ३९ हजार रुपैयाँ कर्जा प्रदान गरेको छ । नौओटामध्ये मेट लाइफ एलिकोको कर्जा प्रवाह भने गतवर्षभन्दा घटेको छ । उक्त कम्पनीले गतवर्ष ८८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस वर्ष भने १ दशमलव ५४ प्रतिशत कम अर्थात् ८७ करोड १९ लाख १४ हजार रुपैयाँ दिएको छ । बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा कम ब्याजदरमा बीमालेख धितो राखेर कर्जा प्रवाह गर्दै आएका छन् । यस्तो कर्जा बीमितले गरेको बीमाशुल्क भुक्तानीका आधारमा दिइने गर्छ । एकल बीमाशुल्कको ८० प्रतिशत रकममा आर्जित बोनसपछि कायम कुल रकमको ९० प्रतिशतसम्म यो कर्जा प्रवाह गर्ने गरिन्छ । एकल बीमाशुल्कको हकमा १ महीनापछि उक्त कर्जा लिन सकिन्छ । यस्तै, किस्ताबन्दी रूपमा बीमाशुल्क भुक्तानी गर्नेको हकमा २ वर्षको भुक्तानीपछि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरूले यो कर्जा ९ देखि ११ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराइरहेका छन् । कम ब्याजदर र कम झन्झटका कारण बीमालेख धितोमा कर्जा लिनेहरूको आकर्षण बढिरहेको सूर्या लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको भनाइ छ ।
‘बीमितमा सकारात्मक प्रभाव’ शिवनाथ पाण्डे प्रमुख कार्यकारी अधिकृत सूर्या लाइफ इन्स्यारेन्स हाम्रो कम्पनीले वार्षिक १० प्रतिशत ब्याजदरमा यो कर्जा बीमितहरूलाई उपलब्ध गराउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको तुलनामा कम ब्याजदर र विनाझन्झट यस्तो कर्जा पाउने हुनाले गतवर्षभन्दा ५८ प्रतिशत बढी कर्जा प्रवाह गरेका छौं । बीमाको सुविधासहित बीमालेख धितोमा राखेर कर्जा पाउने सुविधाले बीमितहरूमा यसबाट सकारात्मक प्रभाव परेको छ । ‘९ देखि ११ प्रतिशतसम्म ब्याजदर’ कविप्रसाद पाठक प्रशासक राष्ट्रिय बीमा संस्थान राष्ट्रिय बीमा संस्थानले बीमितहरूलाई प्रदान गर्ने सुविधामध्ये महŒवपूर्ण बीमालेख धितोकर्जा पनि हो । एकल बीमा गर्नेका लागि ११ र सामूहिकका लागि ९ प्रतिशत ब्याजदरमा यो कर्जा प्रवाह गर्दै आएका छौं । कम्पनीको धितोकर्जा प्रवाहको अवस्था हेर्दा यसप्रति बीमितहरूको आकर्षण बढ्दो देखिएको छ । हाम्रो संस्थानले गत वर्षभन्दा ९ प्रतिशत बढी यो कर्जा प्रवाह गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)