पूँजीबजारको विकास र विस्तारका लागि गत कात्तिक २० गतेदेखि पूर्ण अनलाइन कारोबार प्रणाली भित्र्याएको नेपाल स्टक एक्सचेन्ज यसको कार्यान्वयनलाई विश्वव्यापी रूपमा विस्तार गर्न अग्रसर छ । बजार विकासका लागि मार्जिन कारोबारसँगै ब्रोकरहरूको संरचना बढाउने गृहकार्यमा जुटेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग आर्थिक अभियानकी प्रजिता बुढाथोकीले गरेको कुराकानी :कात्तिकदेखि शुरू भएको पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनको प्रगति कस्तो छ ?
कात्तिक २० गतेदेखि शुरू भएको अनलाइन कारोबार प्रणालीबाट फागुन २ गतेसम्म २० अर्बको कारोबार भएको छ । अनलाइन लागू भइसकेपछि १ दिनमा लगभग २ अर्ब रुपैयाँ बराबरको पनि कारोबार भएको अवस्था छ । युजर नेम र पासवर्ड लिएर आफैले करीब साढे ४ अर्ब रुपैयाँको कारोबार लगानीकर्ताले गरेका छन् । यो नयाँ प्रणाली भएकाले लगानीकर्ताहरू एकैचोटि जोडिन सकेका छैनन् । हामीले लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीमा आबद्ध गराउन तालीम पनि दिएका छौं । काठमाडौं उपत्यकामा ६ सय जनालाई र हालसालै विर्तामोड र इलाममा पनि तालीम सम्पन्न गरेका छौं । नयाँ कुरा, अनलाइनका लागि युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या काठमाडौंभन्दा बाहिर धेरै छ । किन यस्तो भएको भन्दा काठमाडौंमा घरबाट ओर्लिने बित्तिकै ब्रोकर कार्यालयहरू छन् । कुनै सम्झौता गर्न नपर्ने, खाली मुखको भरमा कारोबार गर्न पाइने हुनाले काठमाडौंका लगानीकर्ताहरू अनलाइनमा कम आबद्ध भएको देखिन्छ ।
हालसम्म कति लगानीकर्ता अनलाइनमा आबद्ध भएका छन् ?
हालसम्म अनलाइन प्रणालीमा सक्रिय लगानीकर्ता १ लाख ७२ हजार ४ सय १४ जना छन् । फागुन २ गतेसम्मको तथ्यांकका आधारमा २८ सय १५ जनाले युजर नेम र पासवर्ड लिएका छन् । यीमध्ये १ हजार ४ सय ५२ जनाले कारोबार गरेको अवस्था छ । यो अवधिमा १ सयपटकभन्दा बढी अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ५ सय २ रहेको छ । कात्तिक २० गतेयता अनलाइनमा ६७ हजार ३ सय १५ जना आबद्ध भएका छन् । ब्रोकर कार्यालय नजीक नभएका काठमाडौं उपत्यकाभित्र र बाहिरका नेपालगञ्ज, बुटवल, बिर्तामोड, विराटनगरका लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरेको देखिन्छ ।
अनलाइनले पूँजीबजारमा सञ्जीवनी बुटीको काम गर्ने आशा निराशामा बदलिएको भन्ने लगानीकर्ताको गुनासो छ नि ?
अनलाइन एउटा माध्यम हो । नेप्सेले प्लेटफर्म उपलब्ध गराउने हो । अनलाइन आएको कारण बजार बढ्ने घट्ने भन्ने होइन । बजार तल आउने माथि जाने भनेको बजारको सुन्दरता हो । माग र आपूर्तिको आधारमा बजारको दररेट निर्धारण हुने हो । यसका अलवा तरलताको अवस्था होला, अन्य लगानीका अवसर होलान्, बैंक तथा वित्तीय कम्पनीको ब्याजदर लगायत धेरै कारणले बजारको मूल्यलाई असर गर्छ । हामीले भनेको आधारमा कुनै प्रविधि भित्र्याएका आधारमा बजार तलमाथि हुन्छ भन्ने होइन । यो स्वतन्त्र बजार हो । त्यसैले अनलाइन आउँदैमा बजार बढ्छ, नहँुदैमा बजार घट्छ भन्ने होइन । मेरो व्यक्तिगत विचारमा बजार स्वतन्त्र छ । अहिले बैंकहरूले १३/१४ प्रतिशत ब्याज मुद्दती निक्षेपमा दिने गरेका छन् । पूँजीबजारको औसत प्रतिफल भनेको ८/१० प्रतिशत हो । कारोबारीको हिसाबमा कतिले कमाए कतिले गुमाए, त्यो आफ्नो ठाउँमा छ । दीर्घकालसम्म लगानी गर्ने लगानीकर्ताले त ब्याजको दरलाई पनि ध्यान दिन्छन् । जोखिम विनाको ब्याज बैंकहरूमा पाइएको छ, त्यो एउटा कारण हो । अर्को कारण भनेको आपूर्ति बढी भयो माग कम भयो । आम नेपालीको पहुँचमा पूँजीबजार पुर्याउन हामीले अनलाइन ल्याएका हौं । आजको भोलि नै हुन्छ भन्ने छैन कतिपय ठाउँमा प्रविधिको असुविधाले चाहेर पनि लगानीकर्ताहरूले अनलाइन प्रयोग गर्न सकेका छैनन् । काठमाडौं उपत्यकाभन्दा बाहिरका लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्न थालेका छन् । बिस्तारै पूँजीबजारको पहुँच विस्तार हुँदै छ । यसलाई क्रमशः बढाउँदै लाने हो । पक्कै पनि माग बढ्दै गएपछि आपूर्ति र मागबीच तालमेल मिल्छ । बाँकी कुरा बजारले आफै निर्धारण गर्ने हो ।
अनलाइनलाई विश्वव्यापी रूपमा विस्तार गर्न नेप्सेको तर्फबाट के भइरहेको छ ? विदेशमा बसेका नेपालीले हाल अनलाइन प्रयोग गर्ने वातावरण छ त ?
विदेशीले नेपालको पूँजीबजारमा लगानी गर्न पाउने हामीकहाँ नियम छैन । विदेशमा बस्ने नेपाली जसको बैंक खाता र हितग्राही खाता (डिम्याट) खोलेको छ । ती व्यक्तिले रियल टाइममै लगानी गर्न पाउँछन् । तर, समस्या के छ भने नेपालमा दिउँसो हुँदा उता राति हुन्छ । त्यो कुरालाई लगानीकर्ताले कसरी मिलाउँछन्, त्यो आफ्नो ठाउँमा छ । अहिलेको अवस्थामा धेरै ठूलो संख्यामा त होइन, तर केही मात्रामा विदेशमा बस्ने नेपालीले अनलाइन लागू भइसकेपछि चासो राख्ने र श्रीमान् विदेशमा छन् भने श्रीमतीको नाममा बैंक खाता र डिम्याट खाता खोलाएर विदेशबाट पैसा पठाएर केही कारोबार गरेको पाइन्छ । पक्कै पनि हाम्रो अनलाइन प्रणाली नेपालको लागि मात्र होइन विश्वभरका नेपालीले कारोबार गर्न सक्ने गरी विकास गरिएको प्रणाली हो ।
नेपाली पूँजीबजारमा अनलाइन प्रणाली लागू भएको र विदेशमा बस्ने नेपालीले पनि यसमा सहभागी हुन पाउने सूचना विश्वव्यापी रूपमा फैलाउन नेप्सेले कुनै पहल गरेको छ ?
अहिलेसम्म विदेशमा बस्ने नेपालीले नेप्सेको वेबसाइटलाई धेरै अवलोकन गरेको पाएका छौं । नेपालमा बस्नेभन्दा विदेशमा बस्नेले पूँजीबजारप्रति विशेष चासो राखेको देख्छु । हामीले पनि विश्वव्यापी रूपमा पूँजीबजारको प्रचारप्रसारका लागि वेबसाइटमै आवश्यक विवरण अपडेट गरेका छौं । हरेक हप्ता हामीले वेबसाइटमा लगानीकर्ताहरूका लागि केही न केही नयाँ जानकारी दिने खालका थप सुचना राखेकै हुन्छौं । नेप्सेको अनलाइनमा अहिले हामीले एजुकेशन भन्ने पोर्टल थपेका छौं । यसमा नेपालको पूँजीबजारसम्बन्धी नियम कानूनदेखि लिएर हालसम्म भएका पूँजीबजारसम्बन्धी सम्पूर्ण गतिविधि राखेका छौं, जसलाई हेरेर विदेशमा बस्ने नेपालीले सुझाव पनि दिएका छन् ।
अनलाइनमार्फत भएको कारोबार विद्युतीय प्रणालीमार्फत राफसाफका लागि हाल कति बैंक आबद्ध छन् ? सबै बैंक तथा वित्तीय संस्थालाई राफसाफमा संलग्न गर्न कुनै पहल भएको छ त ?
हालसम्म चारओटा बैंक क्लियरिङ बैंकको रूपमा दर्ता थिए । तिनै बैंकलाई छनोट गरेर कारोबार गरेका हौं । निकट भविष्यमै नेपाल क्लियरिङ हाउससँग जेजति कम्पनी आबद्ध छन् । ती कम्पनीमार्फत राफसाफको काम अघि बढाउने गृहकार्य भइरहेको छ ।
वैशाखदेखि दोस्रो बजारमा खरीदकर्ताका लागि प्यान (स्थायी लेखा नम्बर) अनिवार्य भनिएको छ यसले बजारलाई नकारात्मक असर पार्ला कि सकारात्मक ?
हामीले आजसम्मको तथ्यांक हेर्दा जतिपनि सक्रिय लगानीकर्ता हुनुहुन्छ, अधिकांशले प्यान नम्बर लिइसक्नुभएको छ । प्यान नम्बर भनेको आफ्नो पहिचान हो नि । वर्षभरि भएको आम्दानी खर्च एकै ठाउँमा उल्लेख हुन्छ । यस्तो सुविधा राज्यले र सम्बन्धित निकायले अनिवार्य गर्नुभन्दा लगानीकर्ता आफै सशक्त भएर म प्यान नम्बर लिन्छु भनेर आउनुपर्ने अवस्था हो । प्यान नम्बर चाहिँदैन हुनुहुँदैन भनेको किन हो ? त्यो कुरा बुझ्न गाह्रो भएको छ । यद्यपि, नियामक निकाय धितोपत्र बोर्डबाट वैशाखदेखि खरीदकर्ताका लागि प्यान अनिवार्य गर्न निर्देशन दिए बमोजिम हामी अघि बढ्दै छौं । मेरो बुझाइमा प्यान दीर्घकालमा लगानीकर्ताको हितमै रहन्छ ।
पूँजीगत लाभकर गणनाको विषय अझसम्म टुंगिन सकेन नि ? उक्त विषयको विवाद सुल्झाउन गठित समितिमा नेप्से पनि छ । तपाईंहरूको तर्फबाट कुनै पहल भएको छैन ?
लाभकर गणनाको विषयमा सुझाव समितिले प्रतिवेदन तयार गरिसकेको छ । त्यस विषयमा ऐनमै परिमार्जन गर्नुपर्ने भएकाले मात्र प्रतिवेदन सार्वजनिक हुन ढिला भएको हो । तोकिएकै मितिमा प्रतिवेदन सार्वजनिक गर्ने सुझाव समितिको तयारी थियो । ऐन संशोधन भएपछि मात्र लगानीकर्ताले कार्यान्वयन गर्नुपर्ने हो ।
बोर्डले ब्याजदर आपसी समझदारीमा कायम गर्न निर्देशन दिइसकेको अवस्थामा मार्जिन कारोबार गर्ने तयारी के छ ?
मार्जिन कारोबारका लागि नेपाल धितोपत्र बोर्डबाट भर्खरै नेपाल राष्ट्र बैंकलाई जानकारी गराई नेप्सेलाई कारोबारका लागि गृहकार्य गर्न निर्देशन प्राप्त भएको छ । सम्भवतः १ हप्ताभित्र ब्रोकरलाई मार्जिन कारोबारका लागि आवेदन कल गर्दै छौं । ब्याजदर निर्धारणको विषय ब्रोकर र लगानीकर्ताबीचको समझदारीमा हुने कुरा हो ।
बोर्डले संघीय संरचना अनुसार ब्रोकर सेवा सञ्चालन अनुमति दिन समेत नेप्सेलाई निर्देशन दिएको छ । नेप्सेले उक्त निर्देशनलाई कार्यान्वयन गरेको अवस्था छ ?
ब्रोकरहरूको सेवा सञ्चालन अनुमतिका लागि नेप्सेले कमिटी गठन गरी उक्त कमिटीले प्रतिवेदन तयार गर्ने क्रम करीब अन्तिम चरणमा पुर्याएको छ । त्यसलाई चाँडै निकास दिन्छौं । यस विषयमा काम हुँदै छ । ब्रोकर थप गर्ने कुरामा एकैचोटि दिन पनि मिलेन । यसका लागि निश्चित खाका तयार गर्नुपर्छ । कुन ठाउँमा कति ब्रोकर चाहिन्छ । यसको बनावट के हुने ? कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अवस्था कस्तो छ ? लगानीकर्ताको संख्या कति छ ? ती सबै कुरालाई हेरेर दिनुपर्ने हुन्छ । किनभने नयाँ ब्रोकरलाई अनुमति दिनु भनेको भविष्यमा ती ब्रोकर पनि टिकाउ हुने अवस्थालाई ध्यान दिन जरुरी छ । अहिले सञ्चालनमै रहेका ५० ओटा ब्रोकर कम्पनीले पनि हामीले शाखा र उपशाखाका रूपमा काम गर्न पाऊँ भनेर निवेदन दिइराखेको अवस्था छ । भइरहेका ब्रोकरलाई पनि उनीहरूको प्रोप्राइटरशिपको आधारमा डिलरको काम गर्न दिने उनीहरूको कार्यक्षेत्र पनि विस्तार गर्दै नयाँ ब्रोकरलाई सञ्चालन अनुमति दिने खाका तयार हुँदै छ ।
बजार निर्माताको रूपमा नागरिक लगानी कोष भित्रिने कुरा छ । नेप्सेको पूँजीकरणलाई हेर्दा नागरिक लगानी कोषले मात्र बजार निर्माताको काम गर्न सक्ला ?
मलाई जानकारीमा आएअनुसार नागरिक लगानी कोषले आफ्नो किसिमले तयारी गर्दै छ । नागरिक लगानी कोषलाई मात्र नभई डिलरको रूपमा हामीले ब्रोकरलाई पनि प्रोप्राइटरशिपको काम गर्ने अवसर दिन्छौं । भोलि कर्मचारी सञ्चय कोष आएमा उसलाई पनि यो अवसर दिन्छौं । हामीले एउटै संस्थालाई मात्र भनेर हुँदैन । नेपालमा हामीसँग भएको टेक्नोलोजी, दक्ष जनशक्तिले गर्दा बजार निर्माताभन्दा डिलरकै रूपमा काम गर्ने अवसर दिनुपर्छ । त्यसकै आधारमा हामी खाका तयार गर्र्दै छौं ।
मुद्रा तथा पूँजीबजारसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनमा नेप्से कसरी अघि बढेको छ ?
सुझाव समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार प्रादेशिक रूपमा ब्रोकरको संख्या थप्ने, डिलरको रूपमा काम गराउने, नेप्से सूचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउने जिम्मेवारी दिइएको छ । डिलरका लागि र ब्रोकर थप्ने कामका लागि हामी खाका बनाउने तयारीमा जुटेका छौं । सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन हामीले पहिला ३ देखि ५ प्रतिशतसम्म तलमाथि हुँदा सर्किट ब्रेक लगाउने चलन थियो । अब हामीले दुईओटा सिलिङमा राख्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर यस विषय पनि टुंगो लगाउनेछौं ।
नेप्सेको तर्फबाट पूँजीबजारको विकास र विस्तारमा यति धेरै पहल भइरहँदा पूँजीबजार माथि उठ्न नसक्नुको कारण के होला ?
यसमा मुख्य कारण बैंकको ब्याजदर हो । अहिले बैंकको ब्याजदर बढेको अवस्थामा शेयर विक्री गरी मुद्दती निक्षेपमा लगानी गर्ने लगानीकर्ताको संख्या बढेको छ । बैंक तथा वित्तीय संस्थाले अहिले ऋणपत्रहरू पनि जारी गरिरहेका छन् । ७ वर्ष १० वर्षसम्म अवधिका यी ऋणपत्रमा एक किसिमको राम्रो प्रतिफल पाउने अवसर भएकाले त्यसतर्फ पनि केही रकम लगानी भएको छ ।
त्यसपछि अर्को के भने नेपालमा स्थिर सरकार बनिसकेपछि लगानीका अन्य अवसर पनि छन् । कृषि फार्मिङतर्फ पनि मानिसहरू आकर्षित भए । त्यस्तै, सानासाना उद्योगहरू जस्तै, सिमेन्ट उद्योग, जलविद्युत् कम्पनी, फलाम उद्योगतर्फ पनि धेरै पूँजी लगानी भएको छ । त्यो रकम भनेको नेपालकै पूँजीबजारको रकम हो । त्यो सँगसँगै बैंक वित्तीय संस्था बीमा कम्पनीहरूको पूँजी चारपटकसम्म बढ्यो । लगानीकर्ताहरूले त्यतातिर लगानी गरे । प्रतिफलको रूपमा पनि धेरै कम्पनीले नगदको सट्टा बोनस नै दिएको देखिन्छ । यसले गर्दा पनि लगानीकर्ताहरूमा लगानी गर्ने रकमको अभाव भयो । अबको बजार भने पहिलाको जस्तो हुँदैन । नेपाली पूँजीबजार अब धेरै पारदर्शी भइसक्यो । यसको उदाहरण अनलाइन पनि हो । कुनै व्यक्ति वा संस्थाले पूँजीबजारलाई घटाउँछु वा बढाउँछु भनेर हुँदैन । हाम्रो पूँजीबजार अब बिस्तारै परिपक्व हुन थालेको जस्तो लाग्छ । बैंक तथा वित्तीय संस्थाले पूँजी बढाइसके । अब बोनसलाई भन्दा नगद लाभांशलाई जोड दिन्छन् । त्यसबाट पनि लगानीकर्ताको हातमा नगद आउँछ । अब बिस्तारै पूँजीबजार सुधारोन्मुख हुँदै जान्छ जस्तो लाग्छ ।
विश्वव्यापी रूपमा नेपालको पूँजीबजार विस्तारका लागि अनलाइन भित्र्याएको नेप्सेले आगामी दिनमा नयाँ प्रणालीको विकास गर्ने योजना बनाएको छ कि ?
हामीले अहिले पूँजीबजारमा कारोबारका वित्तीय नयाँ औजारहरूको पनि खोजी गरिरहेका छौं । यसका लागि पनि एउटा कमिटी गठन भएको छ । हाम्रो इन्डेक्सलाई नै केही संशोधन गर्ने कि भन्ने पनि सोचेका छौं । अर्को कुरा हामीले हकप्रदको हक खरीदविक्रीको व्यवस्थाका लागि खाका बनाएर बोर्डमा स्वीकृतिका लागि पेश गरेका छौं । त्यसपछि अक्सन मार्केटलाई पनि खुलाउनुपर्छ कि भन्ने सोच लिएर गृहकार्यमा लागेका छौं । नेप्सेमा सूचीकृत नभएका र सूचीकरणबाट हटेका कम्पनीहरूको कारोबार गराउन ओभर दि काउन्टर (ओटीसी) बजारलाई पनि विकास गर्ने सोचमा छौं । पहिला त हामी अनलाइनलाई नै नेपालका ७७ ओटै जिल्लामा पुर्याउँछौं । अझ हाम्रो लक्ष्य त नेपाल क्लियरिङ हाउससँगको सहकार्यपछि नेपालको सबै स्थानीय तहमा नेपालको दोस्रो पूँजीबजार पनि पुर्याउने रहेको छ । यससँगै अन्य योजनालाई पनि हामी सँगसँगै अघि बढाउने छौं ।
अन्त्यमा आम लगानीकर्तालाई केही भन्न चाहनुहुन्छ ?
सबै लगानीकर्तालाई अनलाइन कारोबार प्रणालीमा सहभागी हुन युजर नेम र पासवर्ड लिऔं । कारोबार गर्दै जाँदा कुनै समस्या आए त्यसबारे जानकारी गराऔं । हल्लाको पछि नलागौं । तपाईंले युजर नेम र पासवर्ड लिनुभयो भनी कतिपय लगानीकर्तालाई मैले सोधेको थिएँ । उनीहरूको जवाफ मैले त लिएको छैन, तर अनलाइन कारोबारमा समस्या छ रे भन्ने सुन्छु । यस्ता किसिमका कुरा आएका छन् । अनलाइन भनेको त लगानीकर्ताको आफ्नो हो । आफ्नो सम्पत्तिलाई प्रयोग गर्नुपर्यो नि । प्रयोग गरेर कुनै समस्या भए समाधानका लागि हामी तयार छौं । हामीले हटलाइनको सुविधा उपलब्ध गराएका छौं । नेप्सेमा चारजना लगानीकर्ताको गुनासो सुन्नका लागि मात्र व्यवस्था गरेका छौं । अनलाइन कारोबार गर्न न्यूनतम रकम जम्मा गर्नुपर्ने पनि नगर्ने, फोनको आधारमा खरीदविक्री गर्ने जस्ता कार्य अनलाइनबाट हुँदैन । धितोपत्र ऐनले कम्तीमा पनि २५ प्रतिशत रकम लिएर मात्र शेयर कारोबार गर्न स्पष्ट व्यवस्था गरेको छ । त्यसैले अनलाइन कारोबार प्रणालीमा भएको व्यवस्थाअनुसार आम लगानीकर्तालाई शेयर कारोबार गरिदिन मेरो अनुरोध छ ।