सबै मानिस आफूले गरेको कामको बोनस अथवा तलब पाएर खुशी रहने गरेको त हामी सबैलाई थाहा भएकै कुरा हो । तलब र बोनसले कर्मचारीलाई काम गर्न थप ऊर्जा प्रदान गर्छ । तर, हालै गरिएको एक अध्ययनले भने कर्मचारीलाई अरुका लागि खर्च गर्न बोनस दिँदा बढी सन्तुष्ट र खुशी हुने देखाएको छ । अमेरिकास्थित ड्युक विश्वविद्यालयमा रहेको फुकुवा स्कूल अफ बिजनेशका ल्यालिन एनिक तथा उनका केही सहकर्मीले गरेको अनुसन्धानले यस्तो देखाएको हो । कुनै संस्थामा दान दिन अथवा आफ्ना सहकर्मी कर्मचारीलाई दिनका लागि भनेर बोनस दिँदा कर्मचारीको काम गर्ने क्षमता र कामप्रतिको सन्तुष्टि उल्लेख्य रुपमा बढ्ने प्लस वान जर्नलको पछिल्लो अङ्कमा प्रकाशित सो अध्ययन प्रतिवेदनले देखाएको छ ।
यससम्बन्धी गरिएको तीनमध्ये पहिलो अध्ययनमा अष्ट्रेलियाली बैङ्कका केही कर्मचारीलाई कम्पनीको तर्फबाट आफूले चाहेको संस्थामा दान दिनका लागि २५ देखि ५० डलर रकम दिइएको थियो । थोरै रकम दान दिने र केही पनि रकम दान नदिने कर्मचारीको तुलनामा धेरै दान दिने कर्मचारी बढी खुशी र कामप्रति बढी सन्तुष्ट भएको अध्ययनमा पाइएको छ । त्यस्तै, अर्को एक अध्ययनमा अनुसन्धानकर्ताले क्यानाडाका ११ ओटा स्पोर्ट्स टीम र बेल्जियमका १४ ओटा फर्मास्युटिकल्स विक्री टीमको बोनस पाइसकेको अवस्थाको अध्ययन गरेका थिए ।
हरेक टीमको एक तिहाई व्यक्तिलाई आफ्नालागि वा आफ्ना टीमका सदस्यमाथि खर्च गर्नका लागि २० डलर दिइएको थियो । आफ्नालागि भन्दा पनि साथीहरुका लागि बोनस रकम खर्च गर्दा त्यो पूरै टीमले खेलमा उत्कृष्ट प्रदर्शन गरेको दुवै अध्ययनमा पाइएको छ । त्यस्तै, टीमले उत्कृष्ट खेल प्रदर्शन गर्दा आम्दानी पनि बढ्ने अध्ययनको क्रममा पाइएको छ । उता, फर्मास्युटिकल्सको अध्ययनमा पनि टीमको एक जना सदस्यलाई आफ्ना समकक्षीका लागि खर्च गर्न भनेर १० डलर दिइएको थियो । ‘कर्मचारीलाई दिइएको बोनस उनीहरुले आफ्नालागि भन्दा पनि अरुका लागि खर्च गर्दा कार्यस्थलमा बढी परोपकारी, सन्तुष्टि र खुशीको वातावरण सृजना हुने हामीले गरेको तीनवटै अध्ययनको परिणामले देखाएको छ,’ एनिकले भने ।