ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्थ समितिको बैठक : सेबोन र ब्रोकरबीच आरोप प्रत्यारोप

Feb 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । संसद्को अर्थसमितिको बैठकमा मंगलवार नेपाल धितोपत्र बोर्ड (सेबोन) र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) बीच काम गर्ने वातावरणलाई लिएर आरोप प्रत्यारोप भएको छ । पूँजीबजारका बारेमा छलफल गर्न समितिको बैठक बसेको थियो । बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीभन्दा अगाडि बोल्ने समय पाएका स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अन्तरराष्ट्रिय स्तरबाट स्नातकोत्तर उत्तीर्ण ब्रोकरलाई बोर्डले ८ कक्षामा पढ्नेलाई जस्तो काम दिएको आरोप लगाएपछि विवाद भएको हो । अन्तरराष्ट्रिय क्षमता भएका व्यक्तिहरूबाट सञ्चालित ब्रोकर कम्पनीहरूलाई सोही बमोजिमको जिम्मेवारी दिनुपर्ने उनको माग थियो । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएर पूँजीबजारको पहुँच विस्तारमा सहयोग पु¥याउने कुरा बोर्डले बताइरहँदा ब्रोकर एशोसिएशनका अध्यक्ष रानाभाटले भने त्यसबाट ‘इन्साइडर ट्रेडिङ’को समस्या आउने बताए । हाल सञ्चालित ५० ओटा ब्रोकर कम्पनीले सोचेअनुसारको व्यवसाय गर्न नसकेको अवस्थामा बैंकहरूलाई पनि ब्रोकर सुविधा दिनुको औचित्य नभएको उनको भनाइ थियो । बैंकले लाइसेन्स पाउँदैमा सबै शाखाबाट ब्रोकर सुविधा पाउने भ्रम हटाउन समेत उनले आग्रह गरे । हाल ब्रोकरहरूले मुलुकभरका २ सय ५० स्थानमा सेवा विस्तार गर्ने योजना पेश गरेकाले बोर्डले वातावरण मिलाउनुपर्ने माग उनको थियो । त्यसको जवाफमा बोर्डका अध्यक्ष कार्कीले ब्रोकरहरूलाई तोकिएको दायरामा बसेर काम गर्न चेतावनी दिए । ‘ब्रोकरले भने अनुसार होइन, नीतिनियममा रहेर बोर्डले काम गर्छ,’ उनले भने, ‘नीतिनियम विपरीत ब्रोकरहरूको माग बमोजिम काम गरेर मलाई राम्रो हुनु छैन ।’ बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने कुरामा ब्रोकरहरूले विरोध गर्नुको औचित्य नरहेको उनको भनाइ थियो । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा प्रतिस्पर्धाको वातावरण सृजना भई स्वच्छ र पारदर्शी रूपमा काम गर्न प्रोत्साहन मिल्ने अध्यक्ष कार्कीको भनाइ छ । ‘विगतको झोले प्रवृत्ति अन्त्य गर्दै प्राथमिक बजारमा सबैलाई १० कित्ता शेयर वितरणको व्यवस्था सबैभन्दा ठूलो उपलब्धि हो,’ कार्कीले भने, ‘पूँजीबजारमा मात्र होइन, तरकारी बजारमा पनि मूल्यमा उतारचढाव आउँछ । पूँजीबजारमा तेस्रो बजारका रूपमा ‘डेरिभेटिभ मार्केट’को पनि विकास गर्न बोर्ड निरन्तर लागिपरेको छ ।’ आम लगानीकर्ताबाट पूँजीबजार सुधारका लागि नेप्सेले ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको गुनासो आइरहँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले माघ मसान्तसम्म ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको दाबी गरे । कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुव तिमल्सिनाले देशको अर्थतन्त्र बलियो नभई पूँजीबजारको मात्र विकास सम्भव नभएको बताए । उनले भने, ‘अहिलेको आवश्यकतालाई ध्यानमा राखी कतिपय कानून र नीतिनियम संशोधन गर्न आवश्यक छ ।’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बैंकहरूको ब्याजदर घटाउन र बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनेतर्फ ध्यान दिन सुझाव दिए । ‘लामो समयदेखि लगातार घटेको बजारबाट लगानीकर्ता त्रस्त भएको अवस्थामा प्यान लगायत विषयले झनै आतंकित बनाउँछ,’ उनले भने । यस्तै, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले अर्थ मन्त्रालयले गठन गरेको सुझाव समितिले दिएको ५८ बुँदे प्रतिवेदन कार्यान्वयन भए पूँजीबजार सुधार हुने बताए । तर, हालसम्म समितिको सुझाव कार्यान्वयनमा कुनै पहल भएको नदेखिएको उनको भनाइ थियो । अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले पूँजीबजारको विकासका लागि सरकार सधैं प्रतिबद्ध रहेको बताए । पूँजीबजार लगानीको सबैभन्दा उत्तम क्षेत्र भएको स्वीकार्दै उनले लगानीकर्तामा शैक्षिक स्तर बढाउनुपर्ने आवश्यकता औंल्याए । पूँजीबजार सम्बद्ध निकायबीच आरोपप्रत्यारोप चलिरहँदा नेपाल कम्युनिस्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले ती निकायबीच मनोविज्ञानको समस्या रहेको औंल्याइन् । सरकारले पूँजीबजारलाई लगाम नलगाउने बताउँदै उनले सबैलाई नआत्तिन अनुरोध गरिन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)