ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लिखु कोरिडोरमा एउटै प्रसारणलाइन निर्माणको प्रयास तुहिँदै

Feb 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । लिखु कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजनाहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय ग्रीडमा जोड्न एउटै प्रसारण लाइनको प्रयोग गर्ने प्रयास तुहिँदै गएको छ । उक्त कोरिडोरबाट उत्पादन हुने करीब ३२५ मेगावाट (मेवा) विद्युत्का लागि एउटै प्रसारणलाइन निर्माणमा सहमति जुट्न नसक्दा यो अवस्था आएको हो । लिखु–१ (७७ मेवा), लिखु–२ (५५ मेवा), लिखु खोला ए (५१ मेवा) ४, लिखु सी (३१.५ मेवा), लिखु खोला (३० मेवा), लिखु–४ (५२.४ मेवा) र लोअर लिखु (२८ मेवा) मिलेर एउटै प्रसारण लाइन बनाउने प्रयास भएको थियो । ती सबै आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको न्यू खिम्ती सब–स्टेशनमा जोडिने हो । आयोजनाहरू र सब–स्टेशनबीचको दूरी १८ देखि ३० किलोमिटरसम्म छ । त्यसैले हरेक आयोजनाले अलग–अलग प्रसारण लाइन निर्माण गरी सब–स्टेशनमा जोड्नुको साटो एउटै लाइनमा लागत बाँडफाँट गरी निर्माण गर्ने प्रयास थियो । आयोजनाहरूबीच सहमति जुटाउन प्राधिकरणको संयोजनमा ३ पटक छलफल पनि भइसकेको छ । अझै पनि थप छलफल गरी सहमति बनाउने प्रयास भइरहेको लोअर लिखुको प्रबर्द्धक श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शनका निर्देशक डा. सुवर्णदास श्रेष्ठ बताउँछन् । केही प्राविधिक विषयका कारण सहमति नभए पनि छलफल गरेर टुंग्याउन आफूहरू लागिपरेको प्राधिकरणका उपमहानिर्देशक तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका सदस्य व्रजभूषण चौधरी बताउँछन् । श्वेतगंगाका निर्देशक श्रेष्ठका अनुसार जम्मा ४ ओटा विषय टुंग्याउन सके आयोजनाहरूबीच एउटै प्रसारण लाइन प्रयोग सम्भव छ । विद्युत् एकीकृत गर्ने स्थान (कनेक्शन हब) कहाँ राख्ने, प्रसारण लाइन कसले बनाउने, कुन बाटो भएर सब–स्टेशनमा लैजाने र कति क्षमताको आयोजनाले कति लागत बेहोर्ने भन्ने विषय टुंगिन सकेका छैनन् । साझा प्रसारण लाइनको यो अवधारणा आफूहरूले ल्याएको लिखु–४ जलविद्युत् आयोजनाका एक अधिकारीले बताए । ‘सब–स्टेशनबाट सबैभन्दा नजीक रहेको हामीलाई प्रसारण लाइनमा मिलेर नजाँदा पनि धेरै फरक पर्दैनथ्यो तर पनि हामीले प्रयास गर्‍यौं,’ उनले भने, ‘तर, कनेक्शन हबका सम्बन्धमा सहमति हुन नसकेपछि हामीले ४ महीनाअघि नै सिंगल प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोट गरिसक्यौं ।’ सबै आयोजनाको कनेक्शन हबमा जोडी एउटै प्रसारण लाइनबाट सब–स्टेशनमा पुर्‍याउने योजना थियो । यसो गर्दा प्रत्येक आयोजनाले प्रसारण लाइनका लागि आवश्यक जग्गा अधिग्रहण तथा प्रसारण लाइन निर्माणमा लाग्ने प्रक्रिया, समय र खर्चमा सहजता आउने थियो । वनको रूख कटान, व्यक्तिका जग्गा प्राप्ति गरी प्रसारण लाइनको निर्माण विद्युत् विकासकै सबैभन्दा जटिल विषय बन्दै गएको छ । त्यसमाथि एउटै खोलामा बन्ने अलगअलग आयोजनाका लागि अलगअलग प्रसारण लाइन निर्माण गर्ने विषय चुनौतीपूर्ण रहेका कारण सिंगल प्रसारण लाइनको अवधारणा आएको हो । तर, आयोजनाका प्रवर्द्धकहरूबीच यस विषयमा छलफलै नहुने भएकाले हालसम्म यस प्रकृतिको एउटै पनि प्रसारण लाइन बन्न सकेको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)