ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ ओटा आयोजनामा वैदेशिक लगानी भित्र्याउने तयारी

Feb 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
नीतिगत सुधार र परियोजना छनोट अन्तिम चरणमा काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनमार्फत २५ ओटा आयोजनामा प्रत्यक्ष रूपमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले गृहकार्य तीव्र पारेको छ । चैतमा हुने लगानी सम्मेलनको गृहकार्यमा रहेको बोर्डले नीतिगत सुधार र परियोजना छनोटलाई प्राथमिकता दिएको हो । निजीक्षेत्रको साझेदारीमा परियोजना छनोट टुंग्याउने तयारी भइरहेको छ । परियोजना छनोट गर्दा मूलतः पूर्वाधार, पर्यटन, जलविद्युत्, कृषि, उद्योग लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले जानकारी दिए । ‘नीतिगत सुधारका लागि आवश्यक कानूनहरूलाई परिमार्जन गर्न सरोकारवाला मन्त्रालयलाई पत्राचार गरिसकेका छौं । परियोजना छनोटको काम पनि तीव्ररूपमा भइरहेको छ,’ उनले भने । उनका अनुसार लगानी सम्बन्धी नीतिलाई सुधार्न अहिले लगानी बोर्ड ऐन, वैदेशिक सहायता ऐन र लगानीसँग जोडिएका अन्य ऐनलाई तत्कालै संशोधन र तत्काल सम्भव नभए संशोधनको प्रक्रियामा अघि बढाइएको छ । यसले लगानीकर्तालाई आकर्षित गर्ने बोर्डको अपेक्षा छ । हाल विदेशी विनिमय ऐन २०२०, खानी तथा खनिज पदार्थ ऐन २०४२ संशोधनको प्रक्रियामै छन् । त्यस्तै, सार्वजनिक खरीद ऐन २०६३, औद्योगिक व्यवसाय ऐन २०७३, कम्पनी ऐन २०६३ पनि संशोधनको प्रक्रियामा लगिँदै छ । श्रम नियमावली–२०७५ मा विदेशी श्रमिकलाई दिने श्रमस्वीकृतिको प्रावधानमा गरिएको कडाइलाई समेत सच्याउन बोर्डले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सम्मेलनमा ३५० भन्दा बढी लगानीकर्ता सहभागी गराउने गरी तयारी समेत भएको छ । मुख्य गरी चीन, बंगलादेश, जापान, भारत लगायत लगानीकर्तालाई आकर्षण गरिनेछ । चैत १५ र १६ मा राजधानीमा हुन लागेको लगानी सम्मेलनलाई सफल गराउन र धेरैभन्दा धेरै लगानीकर्ता भित्र्याउन सम्बद्ध देशका राजदूतसँगको छलफललाई समेत तीव्र पारिएको छ । नेपालले यसअघि सन् २०१७ मा पनि लगानी सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा सात मुलुकका १७ व्यक्तिगत लगानीकर्ता तथा कम्पनीहरूले १४ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भए पनि सरकारले विदेशी रकम भिœयाउन सकेको थिएन । बोर्डका अनुसार प्रतिबद्धताको २५ प्रतिशतमात्रै वैदेशिक लगानी भित्रिएको थियो । उक्त सम्मेलन उपलब्धिमूलक नहुनुमा जानकारहरूले सरकारकै दोष देखाएका छन् । सरकारले लगानीकर्ताको मन जित्ने गरी काम गर्न नसक्दा लगानी सम्मेलन उपलब्धिमूलक हुन नसकेको अर्थविद् डा. डिल्लीराज खनालले आर्थिक अभियानसँग बताए । उनका अनुसार सरकारले विदेशी लगानीकर्तालाई आकर्षण गर्न नीतिगत रूपमा सहज बनाइदिनुपर्छ । उनले भने, ‘विदेशी लगानीकर्ताले उद्योगमा लगानी गरेपछि नाफा भए सहजै आफ्नो देशमा नाफा लैजान सक्ने वातावरणको सृजना सरकारले गर्नुपर्छ ।’ विदेशी लगानीकर्ताले आफूलाई चाहिने श्रमिक सहजै भित्र्याउन सक्ने वातावरण समेत सरकारले गर्नुपर्ने उनी बताउँछन् । खनालका अनुसार लगानीयोग्य वातावरणका लागि सरकारले लगानीसँग जोडिएका दर्जनौं ऐन सरल बाटोबाटै तत्काल टुंग्याई लगानी सम्मेलनमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)