ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो बजार घटेको असर प्राथमिकमा : आईपीओ विक्री हुन हम्मेहम्मे

Feb 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । दोस्रो बजारको कारोबार घटिरहेको प्रभाव प्राथमिक बजारमा पनि देखिएको छ । प्राथमिक बजारमा पछिल्लो समय आईपीओ विक्री हुन हम्मेहम्मे परिरहेको छ । केही समय अघिसम्म आईपीओमा कैयौं गुणा बढी आवेदन पर्ने गरेको थियो । पछिल्लो समय त्यसमा कमी आएको छ । खासगरी, जलविद्युत् क्षेत्रका कम्पनीको आईपीओमा यो समस्या बढी छ । दोस्रो बजारमा जलविद्युत् कम्पनीहरूको शेयरमूल्यमा कमी आएकाले प्राथमिक बजारमा यस क्षेत्रका कम्पनीमा लगानी गर्न नचाहेको लगानीकर्ताहरूको भनाइ छ । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले प्राथमिक बजारका शेयरमा पछिल्लो समय कम आवेदन पर्नुको प्रमुख कारणका रूपमा दोस्रो बजार खस्कँदो क्रममा रहनुलाई उल्लेख गरे । बजार सुधारिएको अवस्थामा सामान्य वित्त कम्पनीको शेयरमा पनि तोकेभन्दा कैयौं गुणा बढी आवेदन परेको उनले स्मरण गरे । अहिले बजारप्रति लगानीकर्ताको विश्वसनीयता घटेको उनको भनाइ छ । शेयर निष्कासन भएका नियामक निकायविहीन कम्पनीहरूले कम प्रतिफल दिइरहेका कारण पनि लगानीकर्ता आकर्षित हुन नसकेको आकलन उनले गरे । राज्यले विकासको गति लिन नसकेको अवस्थामा उत्पादनमूलक क्षेत्रका कम्पनीहरूमा भएको लगानी भविष्यमा सुरक्षित होला÷नहोला भन्ने अन्योलमा लगानीकर्ता रहेको फुल्लेलको बुझाइ छ । हाल प्राथमिक बजारमा युनिभर्सल पावर कम्पनी र शिवम् सिमेन्टकोे आईपीओ विक्रीमा छ । शिवम् सिमेन्टको आईपीओमा तोकिए बमोजिम आवेदन पर्न सकेन । शिवम्ले प्रिमियम मूल्यमा स्थानीय बासिन्दाका लागि प्रतिकित्ता रू.२०० र सर्वसाधारणका लागि प्रतिकित्ता रू. ३०० मा शेयर जारी गरेको छ । यसअघि वितरण हुन नसकेको स्थानीय बासिन्दाको आईपीओ शिवम्ले पुनः विक्रीमा ल्याएको हो । विक्री प्रबन्धक सिद्वार्थ क्यापिटलले बिहीवारसम्म ६ सय जना स्थानीय बासिन्दाले १ लाख ९७ हजार १ सय ४० कित्ता शेयर माग गर्दै आवेदन दिएको जानकारी दिए । कम्पनीले स्थानीय बासिन्दाका लागि अवितरित ५ लाख ८९ हजार ६४० कित्ता शेयर जारी गरेको हो । त्यसमा ३३ प्रतिशत आवेदन परेको छ । स्थानीय बासिन्दाबाट पूर्ण आवेदन नपरे सर्वसाधारणमा वितरण गरिने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । यस्तै, सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर जारी भएकामा बिहीवारसम्म ३७ हजार २ सय ६७ जनाबाट ३६ लाख ५० हजार ३४० कित्ता शेयर माग भएको छ । सर्वसाधारणका लागि करीब ८९ प्रतिशत शेयर खरीदका लागि आवेदन परेको हो । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुवप्रसाद तिमल्सिनाले विगतको तुलनामा प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण कम रहेको स्वीकारे । यसको मुख्य कारण देशको अर्थतन्त्र र दोस्रो बजारको हालको अवस्था रहेको उनको बुझाइ छ । हाल निष्कासनकै क्रममा रहेको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमा स्थानीय बासिन्दाले न्यून आवेदन दिएका छन् । आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दालाई माघ २२ देखि १८ लाख कित्ता शेयर जारी भएकामा हालसम्म २ प्रतिशत मात्र अर्थात् ५०३ जनाबाट ४३ हजार ५१० कित्तामा आवेदन परेको छ । जलविद्युत् कम्पनीको शेयरमा स्थानीय बासिन्दाले ३ वर्षसम्म विक्री गर्न नपाउने व्यवस्थाले पनि कम आवेदन पर्ने गरेको आकलन काठमाडौं क्यापिटलका मर्चेन्ट विभाग प्रमुख सुवास बस्नेतको छ । उनका अनुसार आईपीओमा घाटा हुँदैन भन्ने लगानीकर्ता दोस्रो बजारमा जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल गएसँगै आत्तिएका छन् । उनले भने, ‘दोस्रो बजारमा १ सय रुपैयाँभन्दा कममै जलविद्युत् कम्पनीहरूको शेयर किन्न पाइरहेकाले पनि प्राथमिक बजारमा यस क्षेत्रका कम्पनीको शेयर विक्रीमा समस्या देखिएको छ ।’ ग्रीन लाइफको आईपीओ विक्री प्रबन्धकको जिम्मा काठमाडौं क्यापिटलले लिएको छ । प्राथमिक बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीकै शेयर विक्रीमा आउने क्रम बढ्दो छ । दोस्रो बजारमा जलविद्युत् कम्पनीहरूको शेयर मूल्यमा सुधार नआए प्राथमिक बजारमा त्यस क्षेत्रका कम्पनीको शेयर विक्री गराउन समस्या हुने देखिएको छ । फागुन १३ देखि पाँचथर पावर कम्पनीले शेयर जारी गर्ने घोषणा गरेको छ । यस्तै, हिमालयन ऊर्जा, युनियन हाइड्रो र माउन्टेन हाइड्रोले आईपीओ विक्रीको स्वीकृति पाइसकेका छन् । अन्य आधा दर्जनभन्दा बढी जलविद्युत् कम्पनी आईपीओ विक्रीका लागि स्वीकृतिको पर्खाइमा छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)