लोकका गीत गाइरहने पशुपति शर्माले एउटा नयाँ गीत के गाएका थे, सरकारी मान्छेहरूलाई हुनसम्म असह्य भएछ र धम्क्याएरै युट्युबबाट सो गीत हटाउन लाएछन् । शायद ‘लुट’ भन्ने चलचित्र हिट भएको देखेर होला, उनले पनि गाउँका कान्छाहरूलाई लुट्न भनेका थिए । तर त्यसले सरकारी मान्छेहरूलाई पो छोएछ । यो त चोरको खुट्टा काट् भन्दा आफ्नो खुट्टा हटाको जस्तो भएन र भन्या ? तर एक त कम्युनिस्ट, त्यसमा पनि २ तिहाइवाला सरकारले नै अप्रत्यक्ष रूपमा त्यस्ता गीत नलेख्नू, नगाउनू र नसुन्नू भनेपछि मान्नै प¥यो । त्यस्तो भए कस्ता गीत लेख्ने त ?
आमाको, बाको गीत लेख्दे त भइगो वा भगवान्का भजनसजन लेखे पनि भो । नत्र कपाल, गाजल, आँखालगायत माया प्रीतिका गीत लेखे पनि भो । कमिला, मौरी, अरिंगालका गोलाका गीत पनि हुन सक्छ । अथवा कोमल ओलीको ‘पोइला जान पाम्’ जस्तो लेखे भो ।
खासमा गीत लेख्न एकदम सजिलो छ । आमाको, बाको गीत लेख्दे त भइगो वा भगवान्का भजनसजन लेखे पनि भो । नत्र कपाल, गाजल, आँखालगायत माया प्रीतिका गीत लेखे पनि भो । कमिला, मौरी, अरिंगालका गोलाका गीत पनि हुन सक्छ । अथवा कोमल ओलीको ‘पोइला जान पाम्’ जस्तो लेखे भो । नभए हिमाल, पहाड, खोला, नाला, चरा र प्रकृतिका गीत लेख्दे पनि भयो । कि त पञ्चायतकालमा जस्तो सरकारबाट पुरस्कार पाउने मार्काकोे राष्ट्रिय गीत लेखिहिँडे भो । जस्तो कि– ‘चौतारीमा विकास भेटियो वा पोल–पोलमा समृद्धि भेटियो’ । त्यसमा पनि पानीजहाज, रेल, तेल, समृद्धि, विकासका नारासरी गीत सुझाए पनि, गाए पनि भो । गीतै लेख्न त के गाह्रो छ र हो ? कि सरकारलाई वा सरकारी मान्छे र सरकारकै भान्छेहरूलाई संकेत गरेजसरी गीत लेखी, गाइहिँड्न पर्यो र भन्या ?
पञ्चायत ढाल्न भनेर रामेशहरूले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ भनेर गाउँ ठाउँहरूमा गीत गाउँदै हिँडेका थिए । अब त्यस्तै गीत फेरि लेख्न नमिल्ला । त्यसमा फेरि कसैले प्यारोडी बनाएर ‘गाउँ गाउँबाट लुट, बस्ती बस्तीबाट लुट’ भनेर लेख्देला अनि समस्या पर्छ । बरु गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ खालको गीत पो हुन्छ कि ? तर जंगी निशान त अहिले देशको निशानी छापमा छैन क्यारे ! फेरि जंगी निशान भन्दा ‘जंगी शासन’ भन्यो भनेर सरकार फेरि कुर्लन बेर छैन । त्यसैले यस्तो गीत पनि मिल्दैन होला । गोपाल योञ्जनको ‘देशले रगत मागे, मलाई बली चढाऊ’ जस्तो गीत पो हुन्छ कि ? तर यो गीतमा पनि राज्यले षड्यन्त्र देखेर डराउन सक्छ । देशमा यति धेरै शहीद उत्पादन भैसक्या छन्, फेरि थप मान्छेहरू शहीद हुन तयार हुने भए भनेर । यो पनि मिलेन ।
अँ ! सबैभन्दा राम्रो त नारायण गोपाल र तारादेवीले गाएको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ गीत जस्तै बनाउन सकिन्छ होला । तर फेरि प्रधानमन्त्रीलाई सबैले ‘ठट्टा मास्टर’ भनेर भनिरा बेला यस्तो गीत लेख्दा प्रमलाई नै उडाएर लेखेको भनेर किटानी जाहेर गरेर मुद्दै पर्न बेर छैन । त्यसैले यस्तो गीत पनि लेख्न जोखिमयुक्त छ ।
बरु बच्चु कैलाशले गाएको ‘कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन’ को ठाउँमा ‘मुस्कुराउने अन्जान बनन’ भनेर नयाँ गीत बनाएर गाउँदा हुन्छ कि ? तर, यो गीतमा पनि प्रमले चित्त दुखाउन बेर छैन । किनकि अन्जान त प्रमकै सिफारिशमा इजरायलका लागि राजदूत बनाइएकी र उनकै के हो पर्ने हुन् क्यारे ⁄ त्यसैले यस्तो गीत त झन् लेख्नै मिलेन ।
त्यसैले झलकमान गन्धर्वको ‘बाबैले सोध्लान् नि खोइ छोरा भन्लान्’ भन्ने हरफपछि ‘कतार गा छ भन्दिनू’ र ‘आमैले सोध्लिन् नि खोइ छोरी भन्लिन्’ पछि ‘बम्बई गाछे भन्दिनू’ भनेर प्यारोडी गीत बनाए त बन्छ जस्तो छ । तर गीत बने पनि यो गाउन त सारंगी चाहिन्छ । हिजोआज सारंगी बजाउने मान्छे पाउनै मुश्किल छ । अनि कसले गाउने यो गीत ? त्यसैले यो गीत पनि हुँदैन ।
त्यसो भए अरुणा लामाले गाएको ‘पोहोर साल खुशी फाट्यो’ भन्ने गीतलाई
‘पोहोर साल झरी पर्यो, खर हाली घर टालेँ, उही साल बाढी पस्यो, माटो हाली बाटो पुरेँ, यसपालि त पुलै भत्क्यो के ले बाँध्ने, केले टाल्ने हो’
भनेर गीत बनाउँदा पो गजब हुन्छ कि त ? तर यसमा पनि सरकारले आफैलाई भन्यो भन्न बेर छैन । अर्को विकल्प– ‘ओराली लागेको हरिणको ताल भो’ भन्ने रामकृष्ण ढकालले गाएको गीत पनि हुन सक्छ । तर यो फेरि सरकारलाई नै भन्या हो भन्ने पर्न सक्छ । किनकि सरकारले काम गर्न सकेन, काम गर्न नसकेरै मन्त्रिमण्डल फेर्ने चर्चा पनि चलिराछ । सरकारप्रति जनताको विश्वास घट्दै गएका कारण सरकार ओरालो लागिरहेको छ भन्ने आरोप लागिरा बेला यस्तो गीत पनि सरकारलाई लक्षित गरेर गाइएको, बजाइएको भन्ने पर्न सक्छ । त्यसकारण यस्तो गीत पनि बनाउन भएन ।
देविका वन्दनाले गाएको ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने गीत पो उपयुुक्त हुन्छ कि त । तर, यो त झन् पशुपति शर्माकै त्यै ‘लुट्न सके लुट, नेपालमै हो छुट’ लाई अर्कै तरीकाले गाएको गीत रहेछ भनेर सेन्सर लाग्न सक्छ । यो त झन् मिलेन ।
यी राष्ट्रिय गीत वा आधुनिक गीतहरू भन्दा बरु लोकगीत गाउँदा सुरक्षित होइन्छ जस्तो छ । जस्तै– उदित नारायण झाको ‘माया बैगुनी, नभै नहुनी ।’ तर यो गीतले नेकपाका दुई अध्यक्षलाई लक्षित गरेर गाइएको भन्ने अर्थ निकाल्न सक्छन् । त्यसैले यो पनि हुँदैन ।
त्यसो भए कुमार बस्नेतले गाएको ‘तिम्रो बाउलाई सलाम छ, आमालाई नमस्ते’ भन्ने गीत हुन्छ होला कि ? यसमा पनि अहिले सरकार चलाउने दलका नेतलाई रिस उठेको बेलामा माओ, लेनिन, स्टालिनलाई आफ्ना बाउभन्दा माथि फोटो राखेर सम्मान गरेको र लाल सलामलाई सलाम मात्र भनेर व्यंग्य कसेको अर्थ निकाल्न सक्ने सम्भावना सधैं रहिरहने भो । त्यसैले यो गीत त झन् हुँदै भएन ।
यसरी हेर्दै जाँदा पुराना गीतहरू त प्रायः प्रतिबन्धै लाउनुपर्ने जस्तो पो देखियो त हो । लौ न पाठकवृन्द ! एउटा यस्तो गीत लेखौं कि, सरकारी गिद्धेनजर हामीमा नपरोस्, तर गीत चैं सुपरहिट होस् । नभए तपाईंसँग कुनै त्यस्ता गीत छन् कि, जहाँ जसले जहिले पनि गाउन मिल्ने ? लौन ! त्यस्ता गीत भए पाम्, हामी सबै मिलेर गाम् ।